भैंसीपालन व्यवसाय संकटमा «

भैंसीपालन व्यवसाय संकटमा

दैलेख- युवाहरू वैदेशिक रोजगारीमा आकर्षित हुँदै बाहिरिन थालेपछि दैलेखमा पछिल्लो समय परम्परागत भैंसीपालन व्यवसाय संकटमा परेको छ । युवाहरू विदेश पलायन भएसँगै भैंसीपालक कृषकको संख्या घट्दै गएर व्यवसाय नै संकटमा पर्न लागेको हो ।
केही वर्ष अघिसम्म व्यावसायीक रूपमा भैंसीपालन गरिँदै आए पनि बढ्दो वैदेशिक रोजगारको प्रभावले व्यवसाय संकटमा परेको स्थानीय बताउँछन् । केही वर्षअघिसम्म कृषकको आम्दानीको स्रोतको रूपमा रहेको भैंसीपालन व्यवसाय वैदेशिक रोजगारीका कारण लोप हुन थालेको बताउँछन्– नौमूले गाउँपालिका–३ द्वारीका किसान जयबहादुर रोका । “पहिला घर खर्च चलाउन प्रत्येक किसानले घरघरमा भैंसी पाल्दै आएका थिए,” उनले भने, “पछिल्लो समय विदेश जानेले सजिलै घरमा पैसा पठाउने गरेकाले यो व्यवसाय संकटमा पर्दै गएको हो ।”
जिल्लामा बढ्ढै गएको बन अतिक्रमणले पनि भैंसीपालन व्यवसायमा समस्या पारेको छ । दिन प्रतिदिन बन जंगल मासिँदै गएपछि भैंसीलाई खुवाउने घाँसको अभाव, सडक निर्माणका कारण चरिचरण क्षेत्र मासिँदै जाँदा भैंसीपालन व्यवसाय घट्दो क्रममा छ । जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिकामा भैंसीपालन व्यवसाय पछिल्लो समयमा हराउँदै गएको छ । भैंसीका लागि चरण क्षेत्रको अभाव भएको ठाँटिकाँध गाउँपालिका–४ का भैंसीपालक कृषक तुला वडुवालको भनाइ छ । “१०÷१५ वर्ष अगाडीसम्म भैंसीपालनको सम्भावना राम्रो थियो,” कृषक वडुवालले भने, “एकजना कृषकका घरमा १०÷१२ वटाभन्दा बढी भैंसी हुन्थे, तर आजभोलि १÷२ वटा मात्र भैंसी पालेको देखिन्छ ।”
भैंसीपालन व्यवसाय ढिला गरी फस्टाउँदै जाने गरेका कारण भैंसीप्रतिको कृषकको आकर्षण घटेको बताउँछन् नौमूले गाउँपालिका–४ कालिकाका दानबहादुर हमाल । अन्य व्यवसायभन्दा भैंसीलाई धेरै मेहेनत गर्नुपर्ने र आम्दानी कमै हुने सोही ठाउँका अर्का कृषक लोकबहादुर कठायतको भनाइ छ । भैंसीपालनका लागि पकेट क्षेत्र मानिएको नौमूले गाउँपालिकाको द्वारी, वालुवाटार, कालीका, ठाँटिकाँध गाउँपालिकाको वडा नं. ३ र ४, नारायण नगरपालिकाको वडा नं. १० र ११, भगवतीमाई गाउँपालिका, डुङ्गेश्वर गाउँपालिकाको वडा नं. २, गुराँस गाउँपालिकाको लालीकाँडा, पिलाडी र गोगनपानी, आठविस नगरपालिकाको पिपलकोट, सिंहासैन र भैरवी गाउँपालिकाको कुसापानीमा भैंसीको संख्या घट्दै गएको छ ।
युवाहरूको विदेश पलायन तथा अन्य पेशा व्यवसाय जस्ता कारणले दैलेखमा भैंसीपालन व्यवसाय लोप हुने अवस्थामा पुगेको नौमुले गाउँपालिका–३ का अर्का कृषक गंगाराम सापकोटाको भनाइ छ । भैंसीपालक कृषकका लागि जिल्लामा कुनै थप आकर्षक कार्यक्रम सञ्चालन नहुँदा पनि व्यवसाय संकटमा परेको उनको बुझाइ छ ।
जिल्ला पशु सेवा कार्यालयबाट दुर्गमका वास्तविक भैंसीपालक कृषकसम्म सेवा पुग्न नसक्नु पनि व्यवसाय लोप हुन थालेको हो । पशुपालक कृषकका लागि पशु आहारा, पशु स्वास्थ्य, तालिम तथा प्रसार, व्यावसायिक फार्म सुदृढीकरण र बजारीकरण कार्यक्रममा लगानी नगरेका कारण यो पेशा लोप हुँदै गएको नारायण नगरपालिका २ जाहरकोटका टोपेन्द्रकुमार थापा बताउँछन् ।
भैंसीपालन व्यवसाय लोप हुँदा जिल्लामा दूध, दही तथा घ्यूको अभाव खट्किँदै गएको सदरमुकामका विनोदकुमार श्रेष्ठले वताए । कुनै वेला दही र घ्यूले चिनिने दैलेख अहिले भने तिनै वस्तुको अभाव देखिन थालेको श्रेष्ठको भनाइ छ ।

महेन्द्र सापकोटा

प्रतिक्रिया दिनुहोस्