नेपालमै पहिलो पटक बुलेट साइकलको बिक्री नेपालगन्जबाट सुरु

हरेक महिना करिब दुई हजार बढीको हाराहारीमा साइकलको बिक्री हुँदै आएको नेपालगन्जमा हाल आएर नेपालमै पहिलो पटक आधुनिक किसिमको ‘बुलेट साइकल’ को बिक्री पनि यहाँबाट सुरु गरिएको छ । नेपालगन्जमा साइकलका लागि अग्रणी मानिएको बीबी साइकलले आफ्नै ब्रान्डको बुलेट साइकल यहाँ भित्र्याएर बिक्री सुरु गरेको हो ।
साइकलमा ३ सय ६५ भेराइटीको सेवा दिइरहेको दाबी गर्दै आएको बीबी साइकलका प्रबन्ध निर्देशक मोहम्मद सरिफ बागवानले भने, “बुलेट साइकल नेपालगन्जका लागि मात्र नभई नेपालकै लागि नयाँ भेराइटी हो ।”
बागवान साइकलका नाममा ब्रान्ड स्थापित गरेको बुलेट साइकलबारे पत्रकारसँग कुरा गर्दै बागवानले सो साइकलको बिक्री सुरु गरेर बजारमा पठाइएको बताए ।
“औपचारिक रूपले लन्च गरेर बिक्रीका लागि सबैतिर पठाइएको छ,” बीबी साइकल शोरुम बाहिर आफैं साइकल चलाएर बुलेट साइकल लन्च गरेका मो. सरिफले भने, “यो साइकल सबैको राजाका रूपमा स्थापित हुनेछ ।” उनका अनुसार, बीबी साइकलले बागवान मोडल नाम दिए पनि टाटा कम्पनीका पार्टसहरूबाट बुलेट साइकल तयार भएको हो ।
“साइकललाई स्थापित गर्न लागत मूल्य मात्र जोडेर बिक्री खुल्ला गरिएको छ,” बागवानले ५ हजारदेखि ५० हजारसम्म मूल्यका साइकल बेचिरहेको जानकारी दिँदै भने, “बागवान मोडलको बुलेट साइकलको मूल्य ३५ हजार मात्र राखिएको छ ।”
१८ किलोमिटर प्रतिघण्टाको स्पिडको माउन्टेन बाइक उपकरण जोडिएको जानकारी दिँदै बुलेट टायर भएकाले साइकिलिङका पारखीहरूका लागि यसले मन जित्ने विश्वास उनको छ ।
नेपालगन्जमा नयाँ–नयाँ भेराइटीका साइकल भित्र्याउँदै आएका बागवानले नेपालगन्जमा साइकल लेनको विकास गर्न सकिए प्रदूषण नियन्त्रणमा योगदान हुने बताए ।
नेपालगन्ज पश्चिम नेपालकै प्रमुख साइकल बिक्रीको केन्द्र भएकाले कर्णाली र भेरी तथा राप्तीका समेत अधिकांश जिल्लामा यहीबाटै साइकल जाने गरेको बागवानले जनाएका छन् ।
उनले नाकाबन्दीको समयमा सबैभन्दा बढी साइकल बिक्री गरेको स्मरण गराउँदै अहिले पनि पश्चिम नेपालका ग्रामिण र सहरी क्षेत्रमा समेत साधारण जनताले साइकलनै मन पराउने गरेको दावी गरे ।
साइकलको आयातमा भन्सार शुल्क अली बढी राखिएकोले ग्राहकलाई महँगो पर्दा समस्या परेको जनाउँदै उनले सरकारसँग धेरै पटक सो बारेमा माग गरिए पनि सुनुवाइ नभएको बताए ।