परिणाममुखी काम नगरे जनाधार खस्किन्छ : प्रचण्ड «

परिणाममुखी काम नगरे जनाधार खस्किन्छ : प्रचण्ड

चितवन-पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला समन्वय समितिलाई बलियो समन्वय गर्ने निकायका रुपमा विकास गर्न सुझावको आवश्यकता रहेको बताएका छन् । संविधानले स्थानीय, प्रदेश र संघीय तहको मान्यता दिएपनि विकासलाई गति दिन र तीनै तहका सरकारलाई समूचित सन्तुलनमा राख्न जिल्लाको भूमिका कायमै राखिएको उनको भनाइ छ ।
“बलिया प्रदेश र स्थानीय तह हुँदा अधिकार, स्रोत साधनविहिन जस्तो, थोरै कर्मचारी, थोरै बजेटका दिएर प्रभावकारी समन्वय कसरी गर्ने ?”, उनले भने, “जिल्लामा प्रभावकारी समन्वय गर्न आवश्यक सुझावबारे जिल्ला सभामा छलफल होस्, शव्दावलीको मात्र समन्वय नहोस् ।” जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन कार्यक्रममा उनले भने, “समन्वय गर्ने बलियो हुनुपर्छ, स्रोध साधन र अधिकार क्षेत्रमा आवश्यक परिमार्जनबारे छलफल चलोस् ।” उनले जिल्ला सभाको कार्यक्षेत्रबारे अहिलेसम्म कन्फ्युजन रहेको बताए । उनले प्रदेश र स्थानीय सरकारलाई समन्वय गर्न सक्ने समितिका रुपमा विकास गरिनुपर्ने बताए ।
अध्यक्ष दाहालले परिणाममुखी काम गर्न नसके कम्युनिष्ट पार्टीको जनआधार खस्किने बताए । “अत्यधिक बहुमत छ, सक्षम नेता कार्यकर्ता जनता सबै हुँदा पनि कामलाई परिणाममा व्यक्त गर्न सकेनौँ भने हामीलाई जनताले पत्याइरहनु पर्ने आवश्यकता रहँदैन”, उनले भने, “अर्को पार्टीलाई पत्याउलान्, त्यो अलग कुरा हो, यो त कम्युनिष्ट पार्टीका लागि ठूलो दुःखको कुरा हुन्छ ।”
अध्यक्ष दाहालले ‘भिजन पेपर’ बनाएर प्राथमिकता क्रम छुट्टाएर विकासलाई गति दिनुपर्ने बताए । “सबैतिर हात हालेर विकासलाई गति दिन सकिँदैन”, उनले भने, “५ वर्षको निम्ति म्यापनै तयार गरौँ, हरेक स्थानीय तहका कार्यालयमा सहज रुपमा जनताले हेर्न पाउन्, स्रोत साधनको सदुपयोग गरेर विकास गरौँ ।” उनले चितवन देशकै नमूना विकसित जिल्ला बनाउन सकिने प्रशस्तै आधार रहेको बताए ।
जिल्ला सभामा बोल्दै पूर्वअर्थमन्त्री एवं सांसद सुरेन्द्रप्रसाद पाण्डेले जिल्लाको विकासको माडेलबारे व्यापक छलफलको खाँचो रहेको बताए । सांसद कृष्णभक्त पोखरेलले चितवनको समृद्धिका आधारबारे छलफल गरिनुपर्ने बताए । कार्यक्रममा राष्ट्रियसभा सरोकार एंव समन्वय समितिका सभापति दिलकुमारी रावल ‘पार्वती’, प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, नेकपाका नेता देवी ज्ञवाली, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीलगायतले मन्तव्य राखेका थिए ।
जिल्ला सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले चितवनलाई प्रदेश ३ को राजधानी बनाउन माग गरे । उनले भौगोलिक, आर्थिक, सामाजिक तथा पूर्वाधारका हिसाबले चितवनले उपयुक्त भएकाले राजधानी बनाउन नेपाल सरकार तथा प्रदेश सरकारसँग माग गरेका हुन् । यसअघि संघीय तथा प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने सांसदले पहल गरेपनि राजधानी अझै टुगो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्