टिकट बुकिङ आजबाट «

टिकट बुकिङ आजबाट

♦ नयाँ बसपार्कसहित ११ स्थानबाट बुकिङ
♦१४ वटा हेल्प डेस्क छन्, अनुगमनलाई तीब्र पार्छौंः विभाग
सरकारले सार्वजनिक सवारीको भाडा बढाएसँगै दसैंका लागि घर जानेले टिकट बुकिङ गर्न पाउने भएका छन् । मंगलबार (आज)देखि नयाँ बसपार्कसहित विभिन्न ११ स्थानबाट टिकट बुकिङ खुलेको छ । सोमबार नेपाल यातायात व्यवसायी महासंघले मंगलबारदेखि टिकट बुकिङ गर्ने निर्णय गरेको हो । भदौ ३१ गते नै असोज ५ देखि टिकट बुकिङ खोल्ने निर्णय भएपनि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायीले मूल्य वृद्धि फिर्ता नगरेसम्म बुकिङ खोल्न नसकिने निर्णय गरेको थियो ।
तर, सरकारले शनिबार सार्वजनिक सवारीको भाडा १० प्रतिशतले बढाएसँगै व्यवसायी टिकट बुकिङ खोल्न राजी भएका हुन् । सरकारी निर्णयसँगै भोलि (मंगलबार)देखि टिकट बुकिङ खुलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए । “मंगलबारदेखि नयाँ बसपार्कबाट मध्यम तथा लामो दूरीका सवारीको टिकट बुकिङ खोलिने छ,” उनले भने, “यात्रुको सुविधाका लागि महासंघले भरपुर सहयोग गर्छ ।” यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी तथा नागरिक समाजबीच ३१ भदौमा व्यवस्थापनको व्यवस्था संयुक्त रूपमा गर्ने सहमति भएको थियो । व्यवसायीसँग अघिल्लो साता भएको सहमतिपछि नै आफूहरू तयारी अवस्थामै रहेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । “व्यवसायीहरू पनि दसैंका लागि टिकट खोल्ने पक्षमै हुनुहुन्थ्यो,” उनले भने, “तर इन्धनको मूल्यवृद्धि पछि उहाँहरू रोकिनु भयो । मंगलबारदेखि फेरि टिकट बुकिङ खोल्न तयार हुनुभएको छ ।” विभागले व्यवस्थापनको विभिन्न पाटोहरूको तयारी पूरा गरिसकेको उनको भनाइ छ । 
भदौ ३१ गते भएको सहमतिमा व्यवसायीका रोकिएका बैंक खाता खोल्ने भनिसकिएको छ । सिन्डिकेट खारेज गर्दै सरकारले यातायात संघ-समिति गएको साउन १ गतेदेखि नवीकरणमा रोक लगाएको थियो । नवीकरण नभएका यातायात समितिहरूको बैंक खाता सरकारले रोक लगाएको थियो । व्यवसायीहरूले त्यसैलाई मुद्दा बनाएर बुकिङ खोल्न नसकिने बताएकोमा पछि इन्धनको मूल्यवृद्धिको मुद्दा थप पेचिलो बनेको थियो । विभागले विभिन्न स्थानमा १४ हेल्प डेक्स राख्ने जनाएको छ । टिकट बुकिङ गर्नेको सहजताका लागि उक्त हेल्पडेस्क राखिएको विभागको भनाइ छ ।
टिकट बुकिङमा हुनसक्ने अनियमितता, यात्रुको असहजता लगायतलाई सहज बनाउन विभागले अनुगमनलाई तिब्रता दिने उपाध्यायले बताए । “व्यवसायीहरूले बसको संख्या याुत्रको चापका आधारमा व्यवस्थापन गर्ने भनेकाले त्यति असहज नहुने हामीले विश्वास लिएका छौं,” उनले भने, “केही त्यस्तो अप्ठेरो आइपरेमा विभागले सबै सरोकारवाला राखेर समाधान निकाल्छ ।” 

प्रतिक्रिया दिनुहोस्