सामूहिक स्वामित्वको उद्योगलाई मात्र अनुमति «

सामूहिक स्वामित्वको उद्योगलाई मात्र अनुमति

हेटौंडा-मकवानपुरको कैलाश गाउँपालिकाले प्राकृति स्रोतमा आधारित उद्योगहरू अब एकल स्वामित्वको हुन नहुने नीति बनाएको छ । प्राकृतिक स्रोत साधनसँग सम्बन्धित उद्योगहरू एकल स्वामित्व दिँदा पहुँच र पैसा हुनेको मात्र हाली मुहाली भएको भन्दै त्यसलाई रोक्नका लागि सामूहिक स्वामित्व भएको उद्योगहरू मात्र दर्ता गर्ने नीति ल्याइएको जनाइएको छ ।
गाउँपालिकाले गत असारमा ल्याएको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको र चालू आर्थिक वर्षदेखि कार्यान्वयन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिए । सामूहिक स्वामित्व भएका उद्योगहरूले मात्रै खानीजन्य उद्योगहरू सञ्चालन गर्न दिने व्यवस्था आफूहरूको नौलो प्रयोग भएको पनि गाउँपालिकाको दाबी छ । गाउँपालिकाभित्र प्राकृतिक स्रोत साधनसँग सम्बन्धित व्यवसाय गर्न चाहनेले अब २५ जना मिलेर समूह, संस्था तथा कम्पनी दर्ता गर्नुपर्ने छ । प्राकृतिक स्रोतमा आश्रित एकल स्वामित्वको उद्योगहरू अब पूर्णरूपमा प्रतिबन्ध लगाइन सुरु गरिएको गाउँपालिका अध्यक्ष मोक्तानले बताए ।
“हामीले आन्तरिक राजस्व, नदीजन्य पदार्थको संकलन तथा बिक्री वितरणसम्बन्धी कार्यविधि–२०७५ गाउँसभाबाट पारित गरी लागू गर्न सुरु गरेका छौं ।” अध्यक्ष मोक्तानले भने, “अब गाउँपालिकाभित्र प्राकृतिक स्रोत साधनमा आश्रित एक स्वामित्वका उद्योगहरू छैनन् ।”
कार्यविधिको दफा १ को उपदफा ‘ज’ मा क्रसर उद्योगको व्यवस्था सम्बन्धी बुँदामा क्रसर उद्योगहरूसँगै प्राकृतिक स्रोतमा आश्रित काठ मिलहरू सञ्चालन गर्न पनि एकल स्वामित्वमा नदिइने उल्लेख गरिएको छ । त्यस्तै काठमा सामग्रीहरू निर्माण गर्ने फर्निचर उद्योगहरू, बालुवा र ढुंगा उद्योग, चुनढुंगा उद्योग, सिमेन्ट उद्योग सञ्चालनको लागि सामूहिक स्वामित्व अनिवार्य गरिएको छ ।
सामूहिक स्वामित्वका उद्योगहरू स्थापना हुँदा त्यसले दिने मुनाफा पनि सामूहिक रूपमा वितरण हुने र लगानीमा पनि कम पुँजी भएकाको पनि पहुँच हुने गाउँपालिकाको तर्क छ । प्राकृतिक स्रोत साधनको कानुनी रूपले उपयोग गरी त्यसबाट सबै वर्गकाले मुनाफा लिन सकियोस् भन्ने उद्देश्यले यस्तो प्रावधान ल्याइएको अध्यक्ष मोक्तानको भनाइ छ ।
“प्रशस्त पैसा खर्च गर्न सक्नेले मात्र हाम्रा क्षेत्रका खानीहरूमा शासन गरेको नमीठो अनुभवबाट पाठ सिकेर हामीले सामुहिकताको प्रावधान ल्याएका छौं ।” अध्यक्ष मोक्तानले भने, “प्राकृतिक सम्पत्ति सबैको साझा सम्पत्ति हो यसको उपभोग र परिचालन आम सर्बसाधरणले गर्न पाउनुपर्छ ।” अहिले गाउँपालिकाभित्र २ वटा क्रसर उद्योग छन् । ती उद्योगहरूलाई पनि कार्यविधिले तोके बमोजिम १५ दिनभित्र सामूहिक स्वामित्वमा जान गाउँपालिकाले चिठी काटिसकेको छ । गाउँपालिकाको कार्यविधिमा नजाने उद्योगहरू खारेज गरिने पनि गाउँपलिकाले जनाएको छ । कैलाश गाउँपालिकामा वनमा ढुंगा गिट्टी बालुवा, काठ, चुनढुंगालगायतको प्रशस्त भण्डारण छ ।

प्रतिक्रिया दिनुहोस्