हवल्दारपुरमा वाटरपार्क बन्ने «

हवल्दारपुरमा वाटरपार्क बन्ने

नेपालगन्ज-बाँकेको कोहलपुर–१४ हवल्दारपुरमा ३५ करोड रुपैयाँको लागतमा मानसरोवर वाटरपार्क निर्माण कार्य सुरु गरिएको छ । नेपालगन्जलाई महानगरपालिकाका बनाउने प्रस्ताव उपमहानगरले गरिरहँदा त्यसलाई मध्यनजर गर्दै हवल्दारपुरमा ठूलो लगानीको वाटरपार्क निर्माण कार्य सुरु गरिएको हो ।
मानसरोबर होलिडे इन प्रालिद्वारा निर्माण सुरु गरिएको सो वाटरपार्क निर्माणका लागि भूमि पुजन गरेर औपचारिक रूपमै निर्माण सुरु गरिएको प्रालिले जनाएको छ ।
तीन महिनाभित्रै एम्युजमेन्ट पार्क सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्र रूपमा बढाइएको प्रालिका सञ्चालक विजय भण्डारीले जानकारी दिएका छन् । “भूमि पुजन लगत्तै निर्माण कार्य अगाडि बढेको छ,” भण्डारीले भने, “तीन महिनाभित्र एम्युजमेन्ट पार्क सञ्चालनमा आइसक्ने छ ।”
सुरुवाती लगानी करिब ३५ करोड टार्गेट राखेको मानसरोबर होलिडे इन प्रालिले हवल्दारपुरमा १ सय २० कठ्ठा क्षेत्रफलको जग्गामा वाटर पार्कको योजना अगाडि बढाएको हो ।
धनगढीका प्रतिष्ठित व्यवसायी दिनेशराज भण्डारीको अध्यक्षतामा रहेको मान सरोवर होलिडे इन प्रालिले भारतीय साझेदार भिœयाउन सफल भएको जानकारी दिँदै सञ्चालक निरज गौतमले भने, “तीन महिनामा एम्युजमेन्ट पार्क सञ्चालनमा ल्याए लगत्तै थप लगानीसहित अर्को तीन महिनामा वाटरपार्क सञ्चालन गरिनेछ ।”
गौतमका अनुसार, होलिडे इन प्रालिले ‘ह्याप्पी वर्ड वाटर एन्ड फनपार्क’ परियोजनाका रूपमा हवल्दारपुरमा ठूलो लगानी गरिरहेको हो ।
नेपालगन्जलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्यका रूपमा विकास गर्न हस्पिटालिटी क्षेत्रमा भैरहेको ठूलो लगानीबीच वाटर तथा फन पार्कका लागि निजी क्षेत्रले धमाधम लगानी गरिरहेको छ ।
नेपालगन्जका प्रतिष्ठित व्यवसायीहरूका लगानीमा स्थापना भएको मानसरोवर होलिडे इन प्रालिले सञ्चालनमा ल्याउने ह्याप्पी वल्र्ड वाटर फन एन्ड एम्युजमेन्ट पार्कलाई पश्चिम क्षेत्रकै नमुनाका रूपमा विकास गर्ने गरी तयारी भइरहेको सञ्चालक गौतमको भनाइ छ ।
“यसले नेपालगन्जको गरिमालाई नै उचो पार्ने गरी आफ्नो परियोजनालाई स्तरीय बनाउने छ,” सञ्चालक गौतमले भने, “त्यसका लागि दिनेश भण्डारीको नेतृत्वमा रहेको कम्पनीले सकारात्मक अभिप्रायका साथ भारतीय लगानीकर्ता भिœयाउँदै छ ।”
नेपालगन्ज र कोहलपुरका दुवै सहरवासीले उपयोग गर्न सक्ने तथा ठूलो संख्यामा भारतीय पर्यटकसमेत तान्ने उदेश्यले निर्माण भैरहेको ह्याप्पी वल्र्ड वाटर फन एन्ड एम्युजमेन्ट पार्कले ग्रामीण क्षेत्रका बासिन्दालाई पनि उत्तिकै तान्न सफल हुने सञ्चालकहरूको विश्वास छ ।
उनीहरूले महानगरका लागि आवश्यक पर्ने महत्वपूर्ण पूर्वाधारका रूपमा वाटरपार्कलाई विकास गर्ने बताएका छन् । पछिल्लो समयमा आएर बाँकेको नेपालगन्ज र कोहलपुरमा होटल, व्यावसायिक प्रतिष्ठान, मल, ठूला उद्योग र वाटरपार्क तथा फनपार्कमा अर्बौंको लगानी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्