गोलभेंडा खेतीतर्फ किसान आकर्षित «

गोलभेंडा खेतीतर्फ किसान आकर्षित

प्यूठान-माण्डवी गाउँपालिका,२ मर्कावाङका मानबहादुर राउतले यो वर्ष झण्डै डेढ रोपनी जग्गामा गोलभेंडाखेती गरेका छन् । एक हजार सात सय बिरुवा रोपेका उनको गोलभेंडाले अहिले उत्पादन दिन थालेको छ । पहिले २÷३ सय बिरुवा लगाएर खेती गर्दै आएका उनले यस वर्ष व्यावसायिक गोलभेंडाखेती गरेका हुन् ।
“गोलभेंडाको बिरुवाले फल दिन थालेको छ,” राउतले भने, “बिरुवा निकै सप्रिएको छ । आम्दानी राम्रै आउने आशामा छु ।” गोलभेंडा बिक्री गर्न सुरु गरेको बताउँदै उनले यो सिजनमा डेढ/दुई लाख आम्दानी हुने आशा रहेको बताए । राउतमात्रै होइन यहाँका अन्य किसानको आम्दानीको मुख्य स्रोत गोलभेंडाखेती बन्न पुगेको छ । गाउँमा झण्डै एक सय किसान गोलभेंडाको व्यावसायिक उत्पादनमा जोडिएका छन् । गोलभेंडा खेतीबाट राम्रै आम्दानी पाएपछि किसान व्यावसायिक खेतीमा आकर्षित भएका हुन् ।
झण्डै एक दर्जन किसानले वर्षमा एक लाखदेखि चार लाखसम्म गोलभेंडा बिक्रीबाट आम्दानी गर्दै आएको स्थानीय किसान हेमराज अधिकारी बताउँछन् । “कृषकका लागि गोलभेंडा खेती राम्रो पेसा बनेको छ,” उनले भने, “सिजनअनुसार १५ देखि ६० रुपैयाँ प्रतिकिलोसम्म गोलभेंडाले मूल्य पाउँछ ।” कृषि संकलन केन्द्र नहुँदा किसानलाई समस्या पर्दै आएको उनको भनाइ छ ।
उत्पादित गोलभेंडा प्यूठानको मुख्य बजार केन्द्र बिजुवार, जुम्री, देविस्थान, चकचके र छिमेकी जिल्ला दाङमा बिक्री हुँदै आएको छ । दाङको बगंगाचुली गाउँपालिका अन्तर्गत मुर्कुटी बजार यस क्षेत्रसँगै जोडिएकाले त्यहाँबाट घोराहीसम्म बजार पहुँच सहज हँुदा गोलभेंडा बिक्री गर्न थप सहज भएको अधिकारी बताउँछन् ।
गोलभेंडा खेतीका लागि हावापानी समेत राम्रो भएका कारण यस क्षेत्र उत्पादनमा अब्बल मानिन्छ । पछिल्लो समय जिल्लाकै गोलभेंडा पकेट क्षेत्रको रूपमा समेत यस क्षेत्र परिचित छ । कृषिको राम्रो सम्भावना रहेकाले कृषि प्राविधिक भए व्यावसायिक उत्पादनमा थप सहज मिल्ले स्थानीयको माग छ । “कतिपय बेला रोग र किराको संक्रमण हुँदा कृषकले ठूलो क्षतिसमेत व्यहोर्दै आउनु परेको छ” स्थानीय सामाजिक अगुवा माधव पौडेलले भने, “यसको दिगो निवारणका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।” कृषकलाई अन्य अनुदानभन्दा कृषि प्राविधिकको व्यवस्था भए उपयुक्त हुने उनी बताउँछन् ।
प्रज्वल पहाडी 

प्रतिक्रिया दिनुहोस्