वैदेशिक अनुदान ल्याउन समयमै जागरुक हुनपर्ने

जलवायु परिवर्तनका कार्यक्रम सञ्चालन गर्नका लागि वैदेशिक अनुदान ल्याउन समयमा नै जागरुक हुनुपर्ने सरोकारवालाले बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी वैदेशिक रकम आउने प्रतिबद्धता आए पनि नेपालले आवश्यक प्रक्रिया पूरा नगरी अनुदान पाउन नसक्ने भन्दै सरोकारवालाले समयमा नै आवश्यक कदम चाल्नु पर्ने बताएका हुन् ।
वातावरणमन्त्री मिथिला चौधरीले जलवायु परिवर्तनसम्बन्धी यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले वातावरण संरक्षण र दिगो विकासको लक्ष्य प्राप्तिका लागि नेपालजस्ता अल्पविकसित राष्ट्रहरूलाई सहयोग पुग्ने बताएकी छन् । “जलवायु परिवर्तनका कारण नेपालजस्ता राष्ट्रहरूले धेरै समस्या झेलिरहनुपरेको छ, समयमा नै न्यूनीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक छ, र समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ,” उनले भनिन् ।
संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धी (यूएनएफसीसीसी)अन्तर्गतका पक्ष राष्ट्रबीच १ महिनाअघि जर्मनको बोनमा सम्पन्न २३औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप२३) पछिको समीक्षा गर्न राजधानीमा आयोजित कार्यक्रममा सरोकारवालाले नेपालमा जलवायु परिवर्तनका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमा, पूर्वसचिव डा. कृष्णचन्द्र पौडेल, जलवायु परिवर्तनविद् मञ्जित ढकाल र राजु पण्डित क्षेत्रीले कोप २३ को उपलब्धि तथा आगामी दिनमा सरकारले कोपका एजेन्डा कार्यान्वयनका विषयमा खेल्न सक्ने भूमिकाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
वातावरण सचिव प्रकाश माथेमाले अल्पविकसित राष्ट्रहरूको समूह (एलडीसी) हरूको एजेन्डामा नेपाल पनि मिसिएर सबैको साझा आवाज प्रस्तुत भए जलवायु परिवर्तनका कार्यक्रम प्रभावकारी हुने बताए । “नेपालमा जलवायु परिवर्तनको क्षेत्रमा काम नभएका होइनन् काम भइरहेका छन्, अझै धेरै काम गर्न बाँकी छ,” उनले भने, “जलवायु परिवर्तनसम्बन्धी यस्ता अन्तर्राष्ट्रिय सभा सम्मेलनमा उठाइएका एजेन्डा तथा भएका सम्झौता कार्यान्वयन गर्नका लागि सरोकारवालाबीच छलफल चलिरहने छ, सबैको सहकार्यमा जलवायु परिवर्तन न्यूनीकरणका कार्यक्रम प्रभावकारी हुनेछ ।”
पूर्वसचिव डा. कृष्णचन्द्र पौडेलले विभिन्न राष्ट्रले नेपालजस्ता अल्पविकसित राष्ट्रका लागि जलवायु परिवर्तनमा वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरे पनि पहल बिना पैसा नपाउने भन्दै समयमा नै पहल थाल्न आवश्यक रहको बताए ।