अमेरिकाबाट एम–१६ राइफल खरिद गर्दै सेना «

अमेरिकाबाट एम–१६ राइफल खरिद गर्दै सेना

नेपाली सेनाले इन्सास र एसएलआर हतियार विस्थापन गरेर मातहतका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल उपलब्ध गराउने भएको छ ।
करिब १५ वर्षपछि एकैपटक एम–१६ राइफलसहित सेनाले अमेरिकाबाट ठूलो परिमाणमा घातक सैन्य सामग्री किन्न लागेको हो । एउटा एम–१६ राइफलको मूल्य १ हजार ५ सयदेखि ३ हजार अमेरिकी डलरसम्म पर्छ । करिब ९७ हजार फौज तैनाथ रहेकोमा आगामी ४ वर्षभित्र इन्सास र एसएलआर राइफल विस्थापित गर्नेगरी नयाँ हतियार किन्न प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ । यी हतियार ‘जी–टू–जी’ प्रक्रियाअन्तर्गत अमेरिकाबाट सीधै हवाईमार्गबाट ल्याइने छ । भारतले सैन्य सहायतामा स्पष्ट नीति नलिएपछि तेस्रो मुलुकसँग जीटूजी प्रक्रियाबाट खरिद गर्न लागिएको उच्च स्रोतले जानकारी दियो । सेनाले एमपी ५, जीपीएमजी, एमएमजी, एलएमजी, एसएमजी, ९–एमएम ग्लक, एचके युएसपी, रकेट लन्चर, ग्रिनेड, ५१ मोर्टार, बम डिस्पोजल भेइकल, इलेक्ट्रिक सकलगायत सामग्री क्रमशः खरिद गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।
“चालू आवलाई ३ चरणमा वर्गीकरण गरेर पहिलो चौमासिकमा २० प्रतिशत र बाँकी दुई चौमासिकमा ४०–४० प्रतिशत काम सम्पन्न हुने गरी हातहतियार/गोलीगठ्ठा लगायत घातक सैन्य सामग्री खरिद गर्न लागिएको छ,” सैनिक स्रोतले भन्यो । स्रोतका अनुसार हतियार किन्न लागेको सेनाले ३ अर्बभन्दा बढी बजेट खर्चेर ६ एम–१६ र एम–४, राइफल, पिस्तोलसहित ६ हजार ४ सय ९२ थान हतियार किन्न प्रक्रिया थालेको हो ।
भारतले नेपाललाई ६० प्रतिशत अनुदान र ४० प्रतिशत खर्च बेहोर्नेगरी हातहतियार किन्न पहिलेबाटै दवाव दिदै आएपनि सैन्य सहायता अनुदान रकम स्पष्ट नभएसम्म उसको प्रस्ताव स्वीकार गर्न नसकिको रक्षा मन्त्रालयले जनाएको छ ।
सेनाले अहिले केही एम–१६ सहित एसएलआर र इन्सास राइफल चलाउँदै आएको छ । एसएलआर वेलायत र इन्सास भारतमा निर्मित हतियार हुन् । इन्सासको तुलनामा एसएलआर भरपर्दो भए पनि समयसापेक्ष सैनिक क्षमता विस्तारका लागि एम–१६ र त्यसभन्दा माथिका शक्तिशाली हतियार आवश्यक देखिएको सैनिक स्रोतले बतायो ।
अमेरिकामा बनेको एम–१६ राइफल अधिकतम ३ हजार ६ सय मिटर टाढासम्म प्रहार गर्न सकिने छ । एम–१६ राइफल ५५० मिटरसम्म प्रभावकारी र ८ सय मिटर पर सम्म टार्गेट गर्न सकिने छ । एम–१६ राइफल भियतनाम, लाओस, कम्बोडिया, श्रीलंका, सोमालिया, इराक, लाइवेरिया, प्रजातान्त्रिक गणतन्त्र कंगो लगायत मुलुकको आन्तरिक गृहयुद्ध तथ बाह्य आक्रमणका बेला राष्ट्रिय सेना र विद्रोही समूहले समेत प्रयोग गरिरहेको बताइन्छ ।
“सेनाको आधुनिकीकरण योजना अनुसार अमेरिकाबाट एम–१६ राइफलसहित २ अर्ब १९ करोड रुपैयाँ भन्दा बढीको हातहतियार खरिद प्रक्रिया अघि बढाइसकेका छौं,” सैनिक स्रोतले भन्यो, “एम–१६ हतियार किन्नुको मुख्य कारण इन्सास र एसएलआर विस्थापन गर्नु नै हो ।” तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गत असारमै अमेरिकाबाट हतियार किन्नेगरी रक्षा मन्त्रालयमा खाका पेश गरेका थिए । भदौ २३ गते अनिवार्य अवकास पाएका उनले त्यस अघि साउन २३ देखि १ महिना लामो घरविदा बस्नु अघि नै हतियार खरिद प्रक्रिया अघि बढाएको सैनिक स्रोतले जानकारी दियो ।
क्षेत्रीले नै हतियार किन्ने प्रस्तावमा अमेरिकी सेनासँग परामर्श गरेपछि रक्षा मन्त्रालयमा एम–१६ राइफल सहित घातक सैन्य सामग्री किन्ने कार्ययोजना रक्षा मन्त्रालयमा पेश गरेका थिए । “सेनासँग भएका ४५ प्रतिशत भन्दा बढी हतियार पुराना र काम नलाग्ने स्थितिमा पुगिसकेका छन्,” सैनिक मुख्यालय स्रोतले भन्यो, “२० वर्षअघि बेल्जियम र अमेरिकाबाटै खरिद भएका हतियारको भर पर्नुपरेको छ ।”
२०६१ माघ १९ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जननिर्वाचित सरकार अपदस्त गरेपछि भारत, अमेरिकालगायत मुलुकले नेपाललाई उपलव्ध गराउँदै आएको सैन्य सहायता रोक्का गरेका थिए । २०६९ सालमा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले नेपालको शान्तिप्रक्रिया टुंगोमा पुगिसकेको जनाउ दिदै कूटनीतिक सम्वन्ध स्थापित भएका देशहरूलाई पत्राचार गरी आवश्यक हातहतियार तथा सैन्य बन्दोबस्तीका सामान खरिद प्रक्रियामा कुनै रोक नभएको जनाउ दिएको थियो । त्यसपछि पनि अस्थिर सरकार र खरिद प्रक्रियामा बिचौलियाको चलखेलपछि सेनाले शक्तिशाली/अत्याधुनिक हतियार खरिद गरेको थिएन । सेनाले २ वर्ष अघि नै रक्षा मन्त्रालयलाई पत्र लेखेर कुल घातक सैन्य सामग्रीमध्ये ४५ प्रतिशत काम नलाग्ने स्थितिमा पुग्न लागेको र यसलाई तत्काल ‘रिप्लेसमेन्ट’ गर्न आवश्यक रहेको उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्