उत्पादकत्व वृद्धि असान्दर्भिक बनेकै हो त ? «

उत्पादकत्व वृद्धि असान्दर्भिक बनेकै हो त ?

नोबेल पुरस्कार विजेता अर्थशास्त्री रोबर्ट सालोले १९८७ मा लेखेका थिए, “कम्प्युटर हरेक क्षेत्रमा उपयोगी छ तर उत्पादकत्वको तथ्यांकमा यसको उपयोगिता छैन ।” त्यस समययता कथित उत्पादकत्व विरोधाभास सबैभन्दा चर्को समस्या बन्न थालेको छ । अटोमेसनले धेरै रोजगारी खोसिसकेको छ । रोबोट र कृत्रिम बौद्धिकता चुनौती बन्न थालेको छ, तैपनि यसमा क्रान्तिकारी परिवर्तन हुन अझै बाँकी छ । विकसित अर्थतन्त्रको उत्पादकत्व वृद्धिमा सुस्ती आएको छ । बेलायतको श्रम उत्पादकत्व २००७ मा भन्दा बढी छैन ।
केही अर्थशास्त्रीहरूले न्यून व्यावसायिक लगानी, कमजोर सीप, म्याद गुज्रेका पूर्वाधार अथवा अत्यधिक नियमनले वृद्धिको सम्भावनालाई नियन्त्रण गरिरहेका छन् । अरूको भनाइ के छ भने औद्योगिक उत्पादकहरूका बीच नेता र पछौटेहरूको उत्पादकत्वमा असमानता बढ्दो छ । अर्को पनि प्रश्न छ, के सूचना प्रविधि वास्तवमै विशिष्ट किसिमले शक्तिशाली छ त ?
तर, यसको व्याख्याको आन्तर्य अझै गहिरो हुन सक्छ । जब हामी धनी हुँदै जान्छौं, मापन गरिएको उत्पादकत्व निश्चय नै सुस्त हुनेछ । त्यस्तै मापन गरिएको कुल गार्हस्थ्य उत्पादनले मानव कल्याणका बारेमा ज्यादै कम भन्न सक्छ ।
उत्पादकत्व वृद्धिबारे हाम्रो मनमा बसेको स्तरीय मोडलले कृषिबाट उद्योगतर्फ रूपान्तरण गरेको कुरालाई मात्रै प्रतिविम्बित गर्छ । हामी सय जना कृषकले खाद्यवस्तुका सय वटा एकाइ उत्पादन गरेको कुराबाट सुरु गरौं : प्राविधिक विकासका कारण ५० वटाको उत्पादन त्यही परिमाणमा हुन सक्ने तुल्याउँछ र बाँकी ५० वटाचाहिँ उद्योगतिर जान्छन् जसले वासिङ मेसिन, कार अथवा त्यस्तै अरू वस्तु उत्पादन गर्छन् । यसबाट समग्र उत्पादकत्व दोब्बर वृद्धि हुन्छ र त्यसलाई पनि दोब्बर पार्न सकिन्छ । कृषि र म्यानुफ्याक्चरिङ क्षेत्र अझै उत्पादनशील हुँदा कामदारहरू रेस्टुराँ अथवा स्वास्थ्योपचारका सेवाको क्षेत्रमा स्थानान्तरण हुँदा पनि यस्तो दोब्बर वृद्धि हुन सक्छ । यस्तो हामी अनन्तकालसम्म यही प्रक्रिया पुनरावृत्ति भइरहन्छ भन्ने पूर्वानुमान गर्छौं ।
तर, अरू दुईवटा विकास सम्भव छ । मानौं, बढी उत्पादक किसानहरू वासिङ मेसिन अथवा कारको उत्पादनतर्फ जाने चाहना राख्दैनन्, तर यसले ६० जना कामदार जगेडामा बस्छन् । यस्ता कामदार या त न्यून ज्यालाको घरायसी कामदार अथवा उच्च ज्यालाको कलाकार हुन पुग्छन् जसले प्रत्यक्ष र अटोमेसनमा लैजान नसकिने कामहरू गर्छन् । प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक विलियम बाउमोलले १९६६ मा के तर्क गरेका थिए : यदि कसै गरी कृषिको उत्पादकत्व कहिल्यै न्यून भएन भने समग्र उत्पादकत्व वृद्धि बिस्तारै शून्यमा झर्नेछ । मानौं, २५ जगेडा किसानहरू अपराधी बन्छन् र बाँकी २५ प्रहरी बन्छन् । यस्तो अवस्थामा मानव कल्याणको मुनाफा भने शून्य हुन्छ । यद्यपि मापनका आधारमा उत्पादकत्व वृद्धि भएको हुन्छ । सरकारी सेवाको मूल्यलाई इनपुट लागतमा समावेश गरिँदा यसरी उत्पादकत्व वृद्धि भएको देखिन्छ ।
अटोमेसनमा जान नसक्ने सेवाको वृद्धिले उत्पादकत्व सुस्तीलाई व्याख्या गर्न सक्छ । बेलायतको सरदर उत्पादकत्वले केही क्षेत्रको तीव्र अटोमेसन र केही क्षेत्रका न्यून उत्पादकत्वको तीव्र वृद्धि, न्यून जालाको कामहरूको संयोजनलाई प्रतिविम्बित गर्छ । अमेरिकामा ब्युरो अफ लेबर स्टाटिस्टिक्सले दिएको प्रतिवेदनअनुसार तीव्र गतिमा बढिरहेका दस रोजगारीमध्ये आठवटा वर्ग न्यून ज्यालाका सेवाहरू थिए, जसमा व्यक्तिगत हेरचाह र घरेलु स्वास्थ्य सहयोग पर्छन् ।
जे होस्, ‘शून्य राशि’को वृद्धिका क्रियाकलापहरू झनै महŒवपूर्ण हुन्छन् । अर्थतन्त्रका सबै पक्षलाई राम्ररी हेरौं । उच्च क्षमतावान् जनशक्ति मानव कल्याणलाई वृद्धि गर्न नसक्ने काममा कसरी समर्पित भएर लागेको छ भन्ने कुरा अचम्मको छ । तर, यस्तो काम उपलब्ध आर्थिक एकाइमा प्रतिस्पर्धा गर्न आवश्यक भने छ । यस्ता क्रियाकलापहरू देशव्यापी छन् : कानुनी सेवाहरू, प्रहरी सेवा र जेलहरू, साइबर अपराध र यसबाट संस्थाहरूलाई जोगाउने विज्ञहरू, वित्तीय नियामकहरू, अनुपालन अधिकारीहरू, अमेरिकी निर्वाचन अभियानमा खटेका स्रोतहरू, रियलइस्टेट सेवाहरू र वित्तीय व्यापार ।
डिजाइनिङ, ब्रान्डिङ र विज्ञापनका क्रियाकलापहरू पनि शून्य राशिका काम हुन् । नयाँ फेसनले हाम्रो ध्यान निरन्तर तानिरहेका छन्, तर २०५० का डिजाइनले २०१७ को डिजाइनले भन्दा बढी खुसी दिन्छ भनेर विश्वास गर्ने कुनै कारण छैन ।
यस्ता शून्य–राशिका क्रियाकलापहरू सधैं महत्वपूर्ण हुने गरेका छन् तर सामान र सेवाहरूलाई सन्तुष्टिका दृष्टिले हेर्दा तिनीहरूको महत्व बढ्छ । अमेरिकामा वित्तीय र व्यवसायका सेवाहरूले रोजगारीको १८ प्रतिशत हिस्सा ओगट्छन् । यो १९९२ मा १३.२ प्रतिशत थियो ।
मापन गरिएको जीडीपी र उत्पादकत्वले राष्ट्रिय लेखा सम्मेलनमा प्रभाव पार्छ । यदि मानिसहरू आफ्नो आयलाई घरजग्गा र भाडाको मूल्य बढाउँदै घरका लागि प्रतिस्पर्धात्मक रूपमा खर्च गर्छन् भने जीडीपी र उत्पादकत्व बढ्छ, किनभने घरभाडा जीडीपीमा समावेश गराएको हुन्छ । १९८५ मा बेलायती अर्थतन्त्रमा भाडाको हिस्सा ६ प्रतिशत रहेकोमा अहिले १२ प्रतिशत पुगेको छ ।
यस्तै, पारपाचुकेको काम गर्ने अधिवक्ताका कारण जीडीपी बढ्छ, किनभने सेवाग्राहीले उनीहरूलाई रकम भुक्तान गर्छन् । तर व्यापार अधिवक्ताहरूले उत्पादकत्व भने बढ्दैन, किनभने कानुनी खर्च बिचौलिया लागत मात्रै मानिन्छ । जति बेला शून्य–राशिका क्रियाकलापहरू बढ्छन्, मापन गरिएको उत्पादकत्व घट्छ । त्यस्तै शून्य–राशिका क्रियाकलापले जीडीपी सुन्निएको जस्तो हुन्छ र यसले कल्याणकारी फाइदा दिँदैन । यी प्रभावलाई समायोजन गर्न सूचना प्रविधिले मानव कल्याणलाई सुधार्न सक्छ, जसलाई मापन भने गर्न सकिन्न । इन्टरनेटमा आधारित किनमेल र खोजीको सेवाका कारण फर्म भर्न, टेलिफोन गर्न र लाममा लाग्न खर्च हुने अर्बौं घण्टा समय जोगिएको छ । महत्वपूर्ण जानकारी र मनोरञ्जन सेवाहरू निःशुल्क उपलब्ध गराइएका छन् ।
दक्षिणपन्थी अर्थशास्त्रीको तर्कका विपरीत निःशुल्क सेवाहरूले बढ्दो आय असमानतालाई असान्दर्भिक बनाउँदैनन् । यदि आकर्षक स्थानमा रहेका प्रोपर्टीका लागि गहन प्रतिस्पर्धा हुन्छ र त्यसले भाडा र कम्युटिङ कस्ट (घरजग्गाको उपभोगसँग जोडिएका अन्य खर्च) बढाउँछ । यसका लागि ‘कन्ज्यमुर सरप्लस’ बाट ती खर्च तिर्न मिल्दैन । तर, यसका लागि अन्तदृष्टि भने अझै महत्वपूर्ण छ । त्यो अन्तर्दृष्टि हो : मानव कल्याणका बढी फाइदा दिने कुरा जीडीपीमा प्रतिविम्बित हुँदैन ।
वास्तवमा मापन गरिएको जीडीपी र मानव कल्याणका उपलब्धिहरू अन्त्यमा पूर्ण रूपमा सम्बन्ध–विच्छेद हुने अवस्थामा पुग्छन् । २१०० को विश्वको अनुमान गरौं, जसमा सौर्य ऊर्जाबाट चल्ने रोबोट, रोबोटमा चल्ने म्यानुफ्याक्चरिङ र कृत्रिम बौद्धिकताबाट नियन्त्रित प्रणालीहरूले वस्तु र सेवाहरू प्रदान गर्नेछन्, जसले मानव कल्याणका साथ सहायता गर्छ । यी सबै त्रियाकलापहरू मापन गरिएका जीडीपीको अनुपातसँग दाँजीन्छन्, जुन यसको दाँजोमा तुच्छ हुन्छ ।
यसको विपरीत, सबैजसो मापित जीडीपीले शून्य–राशिलाई प्रतिविम्बित गर्न सक्छ अथवा अटोमेसनमा जान नसक्ने क्षेत्रहरू घरभाडा, खेलकुद, पुरस्कार, कला प्रस्तुतिको शुल्क, ब्रान्ड रोयल्टी र प्रशासनिक, कानुनी राजनीतिक प्रणालीका लागतहरू पनि यस्तै हुन्छ । मापन गरिएको उत्पादकत्व वृद्धि करिब शून्य हुन सक्छ, तर मानव कल्याण अभिवृद्धिमा असान्दर्भिक हुन सक्छ ।
यस्तो अवस्थाबाट हामी अझै टाढा छौं । हालको उत्पादकत्व सुस्तीले हामी त्यतातिर जाँदै छौं भन्ने प्रवृत्तिलाई व्याख्या गर्न सहयोग गर्छ । उत्पादकत्व तथ्यांकमा कम्प्युटरलाई समावेश गरिएको छैन, किनभने ती निकै शक्तिशाली हुन्छन् ।
अडायर टर्नर

(द इन्स्टिच्युट फर न्यू इकोनोमिक थिन्किङका अध्यक्ष एडायर टर्नर युके फाइनान्सियल सेर्भिस अथोरिटीका पूर्व अध्यक्ष हुन् ।)

प्रोजेक्ट सिन्डिकेट

प्रतिक्रिया दिनुहोस्