हेटौंडाबाट राजधानी सार्ने चलखेल सफल हुँदैन : मुख्यमन्त्री पौडेल «

हेटौंडाबाट राजधानी सार्ने चलखेल सफल हुँदैन : मुख्यमन्त्री पौडेल

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम गर्नुपर्नेमा जोड दिएका छन् । आफू मुख्यमन्त्री भएदेखि प्रदेश राजधानीको विषयमा कुनै धारणा सार्वजनिक नगरेका पौडेलले आइतबार एक कार्यक्रममा प्रदेशको स्थायी राजधानी हेटौंडा कायम हुनुपर्ने भन्दै सबै एकजुट भएर हेटौंडामै राजधानी राख्नुपर्नेमा जोड दिए ।
न्युज क्लबको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडाबाट राजधानी सार्ने अनेकन चलखेल भइरहेको भन्दै त्यसलाई रोक्न पत्रकार तथा आम सर्वसाधारणले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । “हेटौंडाबाट राजधानी अन्यत्र लैजान नदिनको लागि पत्रकार जगतबाट के कारण हेटौंडा उपयुक्त भन्ने बारेमा प्रचारप्रसार गर्नु आवश्यक छ,” मुख्यमन्त्री पौडेलले भने, “सबै हिसाबले उपयुक्त हुँदाहुँदै पनि केहीले हेटौंडाबाट राजधानी अन्यत्र लैजाने प्रयत्न गरिरहेका छन् तर, राजधानी सार्ने प्रयास सफल हुन दिँदैनौं । सबैजना एकजुट भएर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम गर्नुपर्छ ।”
हेटौँडालाई प्रदेश राजधानी बनाउनका लागि आवश्यक सबै पूर्वाधारहरु तय गर्दै जानुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले आफू राजधानीको पक्षमा धेरै काम गरिरहेको सुनाए । प्रदेश सरकारले अहिले काम गर्ने बाटो मात्र बनाएको भन्दै केही समयपछि देखिने गरी काम हुने पौडेलको भनाइ थियो । सरकारले सुखी नेपाली, समृद्ध नेपाल बनाउने मिसनअनुसार काम गरिरहेको भन्दै पत्रकारले पनि सकारात्मक भूमिका खेलिदिएर सरकारको समृद्धिको यात्रा सफल बनाउन लाग्नुपर्ने उनको भनाइ थियो ।
“सरकारले नराम्रो काम गरे त्रुटी औंल्याउनुपर्छ तर, अनावश्यक रुपमा बिना प्रमाण आलोचना गर्दा देशलाई नकारात्मक असर पर्छ,” उनले भने, “देश परिवर्तनमा पत्रकारको अहम् भूमिका हुन्छ, सरकारले लिएको विकासको मिसनमा पत्रकारले पनि साथ दिए अवश्य हामी सफल हुन्छौं ।”
कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेकपाका नेता श्रीधर पोखरेल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पत्रकार राजन दाहाललगायतले पत्रकारिताले समाजमा गरेका योगदान र आगामी जिम्मेवारीबारे बोलेका थिए ।
क्रियशन मिडिया एण्ड इभेन्ट प्रालिले हेटौंडामा पहिलोपटक आइतबारबाट न्युज क्लव सञ्चालनमा ल्याएको हो । न्यूज क्लबले पत्रकार सम्मेलन तथा अन्य पत्रकारितासम्बन्धी गतिविधि गर्ने अध्यक्ष धमेन्द्र दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्