तीन एआईजीलाई दज्र्यानी «

तीन एआईजीलाई दज्र्यानी

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ३ जनालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आइतबार आईजीपी खनालले डीआईजीबाट एआईजीमा बढुवा भएका पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले कार्यसम्पादन/मूल्यांकनका आधारमा अगाडि रहेका कार्की, राई र बस्न्यातलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो ।
दज्र्यानी चिन्हपछि अधिकृतहरुलाई सम्बोधन गर्दै आईजीपी खनालले संगठनका प्रत्येक सदस्यले निष्ठा र इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
“सबैले सकारात्मक सोच, संगठनको नीति र कानुनसम्मत जिम्मेवारी निर्वाह गर्नुपर्छ,” दज्र्यानी चिन्हपछि आईजीपी खनालले भने, “संगठनको नीतिविपरित काम गर्ने जोसुकैलाई पनि कसूरको आधारमा कारबाही गरिनेछ ।” आईजीपी खनालले संगठनभित्र आन्तरिक असन्तुष्टि रहेको पनि स्वीकार गरेका छन् । “गतिशील संगठनमा कहिलेकाहीँ असमाञ्जस्यता देखा परेपनि थप सुधारका साथ निरन्तर अगाडि बढ्नुपर्छ,” खनालले भने, “चुनौतीको सामना सबैले गर्नुपर्छ, कामको आधारमा मात्र नेतृत्वको नजिक र टाढा हुने हो, नचाहिने काम आजैबाट सर्लक्क छोड्नुहोस् ।”
नवनियुक्त एआईजी कार्कीले पदोन्नति व्यक्तिगतभन्दा संगठनको गतिशीलता र आवश्यकताका लागि रहेको स्पष्ट पारे । उनले आफूलाई प्राप्त जिम्मेवारी मुलुक र संगठनको हितमा पूर्ण व्यावसायिक र दत्तचित्त भएर पूरा गर्ने प्रतिवद्धता पनि जनाए । बढुवा भएका एआईजीहरुमध्ये कार्की अपराध तथा कार्यविभाग, राई मानवस्रोत तथा प्रशासन र बस्न्यातलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्