एप्पल सर्वाधिक नाफा कमाउने स्मार्टफोन कम्पनी «

एप्पल सर्वाधिक नाफा कमाउने स्मार्टफोन कम्पनी

यो वर्षको तेस्रो त्रैमासिक अवधिमा अमेरिकी प्रविधि कम्पनी एप्पल विश्वकै सर्वाधिक नाफा कमाउने स्मार्टफोन निर्माता भएको तथ्यांकले देखाएको छ । यसैबीच दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले पनि ग्यालेक्सी नोट–७ को उत्पादन रोकेपछिको अवस्थामा भएको घाटा पूर्ति गर्न सफल भएको छ ।उल्लिखित अवधिमा विश्वभरिका स्मार्टफोन कम्पनीले कमाएको संयुक्त नाफाको ५९.८ प्रतिशत एप्पलको पोल्टामा परेको छ । दोस्रोमा सामसङको पोल्टामा २५.९ प्रतिशत गएको छ ।
यो पछिल्लो तथ्यांक गत वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिको तुलनामा हो । उक्त समयमा एप्पलले विश्वका सबै स्मार्टफोनले कमाएको संयुक्त नाफाको ८५.९ प्रतिशत कमाएको थियो । सामसङको ग्यालेक्सी नोट सेभेनको ब्याट्रीको समस्या देखा परेर उत्पादन र बिक्री दुवै बन्द भएपछि सामसङको नाफा लगभग शून्य अवस्थामा पुगेको थियो ।
“तर नोट–८ र मध्यम मूल्यको जे सिरिजप्रतिको बलियो मागका कारण विश्वव्यापी ह्यान्डसेट उद्योगको नाफामा सामसङले चार भागको एक भाग नाफा आर्जन गर्न सफल भएको छ,” काउन्टर प्वाइन्टका अनुसन्धान निर्देशक निल साहले प्रतिवेदनमार्फत बताएका छन् ।
एप्पलले तेस्रो त्रैमासिक अवधिमा बिक्री भएका प्रत्येक स्मार्टफोनमा १ सय ५१ डलर नाफा आर्जन गरेको छ भने सामसङले ३१ डलर मात्रै नाफा आर्जन गरेको छ । चिनियाँ कम्पनीहरूको प्रति स्मार्टफोनको आम्दानी अनुमानित १३ देखि १५ डलर भएको संस्थाले जनाएको छ ।यद्यपि चिनियाँ म्यानुफ्याक्चररले बजारमा आफ्नो उपस्थितिलाई लगातार विस्तार गर्न सफल भएको अनुसन्धानकर्मीले बताएका छन् ।“प्रायःजसो सबै नाफा सामसङ र एप्पलले बाँड्दै आएका छन् । यद्यपि चिनियाँ ब्रान्डले पनि स्थान बनाउन थालेका छन्,” काउन्टर प्वाइन्टका एसोसिएट निर्देशक तरुण पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्