शैक्षिक क्षेत्र सुधार गर्न सिसी क्यामेराको निगरानी «

शैक्षिक क्षेत्र सुधार गर्न सिसी क्यामेराको निगरानी

खोटाङ-समान्यतया कक्षाकोठामा विद्यार्थीबीच हुने होहल्ला तथा शिक्षकले समयमा काम नगुर्न हरेक विद्यालयका प्रधानाध्यापकका लागि टाउको दुखाइको विषय हो । कक्षामा शिक्षक समयमा नपुग्दा, शिक्षकले विद्यार्थी नियन्त्रण गर्न नसक्दा र विद्यार्थी अनुशासनमा नबस्नु समस्या नै हो । अब प्रविधि प्रयोगमार्फत कक्षाकोठामा हुने हल्ला नियन्त्रण हुने भएको छ भने प्रधानाध्यापकले पनि यसबाट मुक्ति पाउन भएका छन् ।
खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित सिद्धेश्वरी माविका युवराज कटवाल यस्तै मुक्ति पाउने प्रधानाध्यापक बनेका छन् । गत असार २२ गते विद्यालयको कक्षा निगरानीका लागि सिसी क्यामेरा जडान गरेयता कक्षाकोठामा विद्यार्थी नियन्त्रणका लागि दगुर्नु पर्ने बाध्यता हटेको प्रधानाध्यापक कट्वालले बताए । सिसी क्यामेराको निगरानीमा राखिएको थाहा पाएपछि विद्यार्थीले हल्ला गर्न, आपसमा जुध्न, जिस्कन वा लेखपढ नगरी समय बिताउन छाडेका छन् । “सिसी क्यामेरा राखेपछि विद्यार्थी नियन्त्रण गर्न सबैभन्दा सहज भएको छ,” कटवालले भने, “उनीहरूमा सिसी क्यामेरामार्फत सरले हेरिरहनुभएको छ भन्ने मनोवैज्ञानिक त्रास पर्दो रहेछ ।”
पठनपाठन प्रभावकारी बनाउन साकेला गाउँपालिकाको सहयोगमा विद्यालयमा सिसी क्यामेरा जडान गरिएको हो । सिसी क्यामेराले अनुशासन उल्लंघन गर्दै कक्षामा अवरोध पु¥याउने विद्यार्थीलाई मात्र होइन शिक्षक कक्षामा गए–नगएको समेत निगरानी गर्न सहयोग पुगेको छ । कक्षामा ढिलो पुग्ने र समयअगावै निस्कने शिक्षकलाई सिसी क्यामेराले अप्ठ्यारोमा पारेको एक अभिभावकले बताए ।
विद्यालयलाई प्रविधिमैत्री बनाउन गत आर्थिक वर्षमा बजेट व्यवस्था गरेर साकेला गाउँपालिकाका पाँच माविमा ई–हाजिरी र सिसी क्यामेरा जडान गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए । गाउँपालिकाका अनुसार सिद्धेश्वरी मावि, राधाकृष्ण मावि बाँझेच्यानडाँडा, साकेला मावि रतन्छा, बालबालिका मावि मात्तिम मानेभन्ज्याङ र सरस्वती मावि मात्तिम बिर्तामा एकैसाथ ई–हाजिरी र सिसी क्यामेरा जडान गरिएको हो । विद्यालयमा कक्षाको वातावरण शान्त बनाउन र अनुशासन कायम गर्न सिसी क्यामेरा प्रधानाध्यापकको सहयोगी बनेको पाइएको छ ।
“हामीले सबै विद्यार्थीलाई अफिसमा पालैपालो बोलाएर सिसी क्यामेराबाट उनीहरूको कक्षाकोठा देखायौं, साथीहरू चिन्न लगायौं, आफ्नो बेन्च, पुस्तक चिन्न लगायौं,” कटवालले भने, “कक्षामा हल्ला गरे, झगडा गरे हामीले देखिरहेका हुन्छौं भनेर पठाएपछि उनीहरू अनुशासित भएर बस्ने गरेको पाएका छौं ।”

प्रतिक्रिया दिनुहोस्