आर्थिक समृद्धि बिना मुलुकको विकास असम्भव : मन्त्री ढुंगेल «

आर्थिक समृद्धि बिना मुलुकको विकास असम्भव : मन्त्री ढुंगेल

रामेछाप-प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले आर्थिक समृद्धि बिना मुलुकको विकास असम्भव भएको बताएका छन् । उनले यो सरकार अस्थायी नभई ५ वर्षका लागि स्थायी सरकार भएकाले अब मुलुक आर्थिक समृद्धिसहितको विकासमा अघि बढ्ने बताए ।
‘बलियो घर जीवन भर’ भन्ने मूल अभियानका साथ साढे २ वर्ष अघिदेखि सामुदायिक विकास समाजको सहजीकरणमा मेडियरले लिखु तामाकोसी गाउँपालिकाको बिजुलीकोटमा सञ्चालन गरेको आवास पुनर्निर्माण सहायता परियाजनाको समापन समारोहका अवसरमा उनले उक्त धारण व्यक्त गरेका हुन् ।
उनले आर्थिक समृद्धिका लागि ब्यावसायिक रूपमा चिया, आलु, अलैंची खेती, पशुपालन, नगदे बाली र मौसमी एवं बेमौसमी तरकारीखेती गर्न सबैलाई आग्रह गरे । उनले भौगोलिक रूपमा जुन भूगोलमा जे उत्पादन हुन्छ त्यही किसिमको कृषि कार्य र पशुपालनका लागि योजना लिएर प्रदेशमा आए आफू सहयोग गर्न तयार रहेको बताए ।
अबको १ वर्ष अर्थात् आव २०७६÷७७ भित्रमा जिल्लाको मेरुदण्ड सडकको रूपमा रहेको हलेदे–तिल्पुङ–धोबी–सिरिसे सडक खण्ड पिच हुने, स्वास्थ्य शिक्षा र खानेपनीजस्ता अत्यावश्यक कुरा पनि चाँडै नै ब्यवस्थित हुने उनको दाबी थियो ।
उनले २०७५ चैत महिनासम्म जिल्लाका सबै पालिकामा विद्युतीकरण भई विद्युत् बाल्न बाँकी रहेका सबै ठाउँमा बिजुली बल्ने आस्वासन दिए । मन्त्री ढुंगेलले रामेछाप जिल्ला जलस्रोतको धनी भएकोले जिल्लामा पर्याप्त जलविद्युत् आयोजना सञ्चालन गरी रामेछापको विद्युत् अन्यत्र बिक्री गर्ने योजना रहेको बताए । कार्यक्रमका अवसरमा बोल्दै उनले नेपाली जनता आर्थिक रूपमा सम्पन्न भएमात्र उनीहरूको समग्र विकास हुने भन्दै सीडीएसमार्फत मेडियरले बिजुलीकोटमा पुनर्निर्माणको काम सम्पन्न गरेकोमा प्रशंसा गरे ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले गरका थिए ।

प्रतिक्रिया दिनुहोस्