सिमेन्ट उद्योगमा एफडीआईका चुनौती

दुई वर्षअघिको भूकम्पले नेपालका ८ लाखभन्दा बढी निजी आवास तथा ठूलो संख्यामा विद्यालय, स्वास्थ्यचौकी तथा सम्पदाहरूमा क्षति पुर्याएपछि पुनर्निर्माणका क्रममा परम्परागत निर्माण शैली बदलियो । ढुंगा र माटोले बनेका अधिकांश घर अहिले सिमेन्ट र बालुवाबाट बन्दैछन् । कतिपयले ढुंगाको विकल्पका रूपमा इँटाको समेत प्रयोग गर्न थालिसकेका छन् । यसरी पुनर्निर्माणले घरको स्वरूप र निर्माण शैलीमै परिवर्तन ल्याइरहँदा मुलुकमा यससँग सम्बन्धित उद्योगहरुमा पनि बहार आएको छ । घर निर्माणमा सबैभन्दा बढी प्रयोग हुने निर्माण सामग्रीमध्ये सिमेन्ट पनि एक हो र अहिले यही सिमेन्ट उद्योगमा राष्ट्रिय तथा बाह्य लगानी आकलन गरिएभन्दा बढी विस्तार भइरहेको छ ।
त्यसो त नेपालको सिमेन्ट उद्योगमा भूकम्पपहिले पनि ठूलो लगानी भइसकेको थियो । यसैको प्रतिफलस्वरूप भारतबाट सिमेन्ट ल्याउने क्रम अहिले अपवादमा सीमित छ भने केही वर्षभित्र सिमेन्ट उद्योगको कच्चापदार्थ क्लिंकरसमेत आयात बन्द हुँदैछ । नेपालमा खासगरी ठूला जलविद्युत् आयोजना तथा यससँग सम्बन्धित संरचना तथा बढ्दो सहरीकरणलाई लक्षित गर्दै सिमेन्ट उद्योग स्थापना भएका हुन् । आफैं पनि उत्साहजक रूपमा वृद्धि भइरहेको सिमेन्टको मागमा भूकम्पपछि थपिएको माग बोनस मात्र नभई उद्योगको क्षमताभन्दा बढी पनि हो । अर्कातर्फ सीमित उद्योग र असीमित मागका कारण बजारमा सिमेन्टको मूल्य अस्वाभाविक छ र यसबाट उद्योगहरूको नाफा पनि अत्यधिक छ । यसैले मुलुकका अन्य सबै क्षेत्रमा लगानीको वातावरण खस्किएको भन्दै पछि हट्ने र सरकारलाई दोषारोपण गर्ने समूहहरू पनि सिमेन्ट उद्योगमा आक्रामक रूपमा आउनुलाई मुलुकको विकास सूचकांकका रूपमा समेत हेर्न सकिन्छ ।
सिमेन्ट उद्योगमा बहार आएकै कारण स्वदेशी मात्र नभई विदेशी लगानीकर्ता पनि उत्साहित भएको पाइएको छ । पछिल्लो एक वर्षमै दुई ठूला सिमेन्ट उद्योगको लगानीले यसैको संकेत गरेको छ भने अफ्रिकाबाट समेत नेपालको सिमेन्ट उद्योगमा लगानीका लागि प्रयास भइरहेको धेरै भइसकेको छ । यसले जुन क्षेत्रमा स्वदेशी लगानीकर्ता उत्साहित हुन्छन् र खुलेर लगानी गरिरहेका हुन्छन्, त्यही क्षेत्रमा विदेशी लगानीकर्ता पनि सजिलै प्रवेश गर्छन् भन्ने सन्देश दिएको छ । यसकारण लगानीको वातावरण भनेर सरकारालाई निजी क्षेत्रले दोषारोपण गर्ने प्रवृत्ति उनीहरूकै कमजोरीको उपजमात्र हो भन्ने पनि स्पष्ट भएको छ । यसैले वैदेशिक लगानी कसरी भित्रिन्छ र यसका लागि कस्तो पूर्वाधार चाहिन्छ भनेर बुझ्न पनि सिमेन्ट उद्योगमा हालैका चिनियाँ लगानीले मद्दत गर्नेछ ।
सिमेन्ट उद्योगमा आएका पछिल्ला वैदेशिक लगानी नेपाली उद्योगभन्दा निकै ठूला छन् । चिनियाँ कम्पनी ह्वासिनले १५ अर्ब लगानी गर्ने प्रारम्भिक सम्झौता गरेको छ भने ५ महिनाअघि होङ्सी सिमेन्टले ३६ अर्ब लगानीका लागि लगानी बोर्डसँग सम्झौता गरेको थियो । यसले भोलिका दिनमा नेपालका अन्य सिमेन्ट उद्योगहरू धराशायी हुन्छन् कि भन्ने चिन्ता पनि स्वाभाविक छ । ठूला उद्योगको प्रतियुनिट उत्पादन लागत निश्चय नै सस्तो हुने भएकाले अहिले भारतबाट क्लिंकर झिकाएर नेपालमा मिक्सिङ गरिरहेका तथा सानो क्षमतामा नेपालकै खानी उत्खनन गरिरहेका उद्योगहरूको भविष्यमा प्रश्न उठ्नु स्वाभाविक हो । त्यसैले चालू हालतमा रहेका उद्योगहरूले पनि अस्वस्थ प्रतिस्पर्धा त्यागेर लगानी बढाउने र विदेशी कम्पनीबाट उत्पन्न हुने चुनौतीका लागि तयार रहनु जरुरी छ ।