पाँच कम्पनीले गरे बाढीको दाबी भुक्तानी «

पाँच कम्पनीले गरे बाढीको दाबी भुक्तानी

बाढीका कारण बिमा कम्पनीहरूमा परेको दाबीमध्ये पाँच बटा कम्पनीले भुक्तानी गरिसकेका छन् । बिमा समितिका अनुसार उक्त कम्पनीहरूले ३० वटा दाबी बापत करिब सवा दुई करोेड रुपैयाँ भुक्तानी गरेका छन् । 
समितिको पछिल्लो तथ्यांक अनुसार बाढी बापतको दाबीको नेशनल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल र शिखर इन्स्योरेन्सले भुक्तानी गरेका छन् । जसमध्ये नेशनल इन्स्योरेन्सले कम्पनीका परेको दाबीमध्ये २२ वटा बापत २४ लाख ८७ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ । शिखर इन्स्योरेन्सले भने ४ वटा दाबी बापत २ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको छ । 
त्यस्तै, सगरमाथा इन्स्योरेन्सले २ वटा दाबीबापत ८० लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ । युनाइटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने १/१ दाबीको भुक्तानी गरेका छन् । जसबापत कम्पनीहरूले क्रमशः ६३ लाख २१ हजार र ५० लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् । 
कम्पनीहरूले सबैभन्दा बढी अग्नि बिमा दाबी भुक्तानी गरेका छन् । अग्नी बिमामा परेको दाबीमध्ये २१ वटाले भुक्तानी गरिसकेका छन् । जसबापत १ करोड १६ लाख रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै, मोटर बिमामा परेको दाबीमध्ये कम्पनीहरूले ४ वटा दाबी बराबर १ लाख ६१ हजार भुक्तानी गरेका छन् । 
इन्जिनियरिङ बिमा (निर्माणधीन आयोजना) मा परेको दाबीमध्ये २ वटा दाबी बापत १ लाख २५ हजार भुक्तान भएको छ भने इन्जिनियरिङ बिमा (निर्माण सम्पन्न भइसकेको आयोजना) मा परेको दाबी रकमध्ये ३० लाख रुपैयाँ भुक्तानी भएको छ । सामुन्द्रिक अन्र्तगत भने २ वटा बापत ७० लाख ५० हजार रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै, कृषि बिमामा परेको दाबीमध्ये ९९ हजार रुपैयाँ कम्पनीहरूले भुक्तानी गरिसकेका छन् । 
समितिका पछिल्लो तथ्यांक अनुसार बाढी पारेको क्षतिका कारण १७ निर्जीवन बिमा कम्पनीहरूमा ७०२ वटा दाबी बापत २ अर्ब २२ करोड रुपैयाँ दाबी परेको छ । भूकम्पपछि निर्जीवन बिमा कम्पनीहरूमा बाढीका कारण धेरै दाबी परेको हो । गत साउन २७ गते देखि परेको अविरल बर्षाका कारण बाढी, पहिरो र डुबानबाट १५९ जनाको मृत्यु भएको थियो । गृह मन्त्रालयको तथ्यांकअनुसार २८ जना बेपत्ता र ४५ जना घाइते भएका थिए । त्यसैगरी ४३ हजार ४३३ वटा घर पूर्ण रुपमा क्षति भएका थिए भने १ लाख ५८ हजार १९७ घर आंशिक रुपमा क्षति भएका थिए । यसले नेपालमा बाढी र डुबानको जोखिम अधिक रहेको देखाउँछ । तसर्थ अबका दिनमा यस्तो खालको जोखिमबाट मानिसहरू सचेत हुनुपर्ने समितिका निर्देशक राजु रमण पौडेलले बताए । 

प्रतिक्रिया दिनुहोस्