आयस्तर बढाउन कृषि पकेट क्षेत्र «

आयस्तर बढाउन कृषि पकेट क्षेत्र

दाङ-दाङको राप्ती गाउँपालिकाले किसानको आयस्तर बढाउन कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले केही वडालाई कृषि तथा पशुपालन पकेट क्षेत्रका रुपमा विकास गर्ने तयारी गरेको हो । दुग्घ उत्पादनका लागि वडा नं. ४ र बाख्रापालनका लागि वडा नं. ९ लाई प्राथमिकतामा राखेर काम थालिएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।
केन्द्र, प्रदेश सरकार तथा स्थानीय सरकारले कृषि क्षेत्रका लागि धेरै बजेट छुट्याएको छ । धेरै किसानलाई सरकारले दिएको प्राथमिकताबारे जानकारी नलिकाले क्षेत्र पहिचान गरेर किसानलाई सहयोग गर्नेसहितका कार्यक्रम गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताए । राप्ती गाउँपालिकाको तेस्रो गाउँसभाबाट राप्ती गाउँपालिका पशु सेवा शाखामार्फत् पशुपन्छीपालकको आयआर्जनमा वृद्धि हुने खालका कार्यक्रम स्वीकृत गरेर अगाडि बढाउने काम भएको राप्ती गाउँपालिका पशु सेवा शाखा संयोजक हेमराज आचार्यले बताए । उनका अनुसार कृषकलाई अनुदान, राहत तथा सहकार्यको कार्यक्रम सञ्चालन छ । राप्ती गाउँपालिका पशु सेवा शाखाले व्यवसायिक पशुपालनको ज्ञान भएका, मध्यम ज्ञान प्राप्त गरेका र न्यून ज्ञान भएका व्यवसायीको वर्गीकरण गरेर काम सुरु गरेको पशु सेवा प्राविधिक शेरबहादुर हमालले बताए ।
चालू आर्थिक वर्षमा पशु सेवा शाखाले घुम्ती पशु स्वास्थ्य शिविरको रुपमा घरमै गएर पशुहरूको चेकजाँच थालेको छ । आर्थिक वर्षको सुरुवातसँगै राप्ती गाउँपालिका पशु सेवा शाखाले पहिलो चरणमा वडा नं ५, ६ , ७ र ८ मा निःशुल्क पशु स्वास्थ्य शिविर तथा पशुबन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको छ । कृषि तथा पशुपालनलाई सँगसँगै लैजाने उद्देश्यका साथ बंगुरपालन, कुखुरापालन, बाख्रापालन तथा एकीकृत गाईभैंसीपालन समूह गठन गरिएको पशु सेवा प्राविधिक राजविक्रम चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्