३ जिल्लाका ६ विमानस्थल प्रयोगविहीन «

३ जिल्लाका ६ विमानस्थल प्रयोगविहीन

सोलुखुम्बु-सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा रहेका ९ वटा विमानस्थलमध्ये अधिकांश विमानस्थल बन्द छन् । यी जिल्लालाई माथिलो सगरमाथा भनेर पनि चिनिन्छ । सोलुखुम्बु बाहेक खोटाङ र ओखलढुंगाको दुवै जिल्लाको विमानस्थल अहिले प्रयोगविहीन छ ।
सोलुको चारमध्ये एक, खोटाङको तीन र ओखलढुंगाको दुइटा विमानस्थल प्रयोगमा आउन नसकेको हो । सोलुखुम्बुको कागेल विमानस्थल ३ वर्ष देखि बन्द छ भने खोटाङको लामिडाडा विमानस्थल, मनमाया राई खानिडाँडा विमानस्थल र थामखर्क विमानस्थल पनि सञ्चालनमा आउन सकेको छैन ।
त्यस्तै ओखलढुंगाको रुम्जाटार विमानस्थल २ वर्षदेखि बन्द हुँदा खिजिचण्डेश्वरी विमानस्थल निर्माणाधीन अवस्थामा छ । रावावेशी गाउँपालिकामा रहेको लामिडाँडा र खोटेहाङ गाउँपालिकाको वडाका दियालेमा रहेको थामखर्क विमानस्थलको मर्मत कार्य जारी रहेकाले उडान हुन नसकेको हो ।
दुई विमानस्थलले तोकिएको निर्धारित समय गुजारी सक्दा पनि उडान भर्न सकेका छैन । थामखर्क विमानस्थलका इन्जिनियर रत्न श्रेष्ठले भने विमानस्थलको काम अन्तिम चरणमा पुगेको भन्दै छिट्टै उडान हुने बताए ।
त्यस्तै दिक्तेल रुपाकोट मझुवा नगरपालिका–४ खाल्लेमा रहेको मनमाया राई खानिडाँडा विमानस्थल पनि अहिले प्रयोगविहीन छ । धावन मार्गको तल्लो भाग भासिएपछि उडान वन्द भएको विमानस्थल अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
उता ओखलढुंगाको रुम्जाटार विमानस्थलका सिनियर एयर ट्राफिक कन्ट्रोलर दुर्गामणि चौधरीकाअनुसार तालिकाअनुसार २ वर्षदेखि उडान हुन सकेको छैन । एयरलाइन्स हरूले यात्रुको अभाव देखाएर उडान रोकेका छन् ।
यसअघि नेपाल एयरलाइन्स ,तारा एयरले उडान भर्दै आएको थियो । ९ वटा विमानस्थल रहेको तीन जिल्लामा अहिले सोलुखुम्बुको तीनवटा विमानस्थल मात्र सञ्चालित अवस्थामा छ ।
यसैबीच सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य हेमकुमार राई शुरविरले प्रदेश नं १ सँग सीधासम्पर्क जोड्ने हवाई उडानका लागि पहल भइरहेको बताएका छन् ।
सांसद राईले भने जनतालाई सेवा दिने कुरामा आफू निरन्तर लागेको भन्दै जहाज अभावकै कारण उडान भर्ने कुरामा कठिनाइ भएको उनको भनाइ छ ।
निजी क्षेत्रसँग पनि छलफल अगाडि बढाएको जानकारी दिँदै राईले संभाव्यता अध्यन र यात्रुको चापलाई ध्यानमा राखी हिउँदबाट उडान भर्ने विषयमा छलफल अगाडि बढाइएको बताएका छन् ।
हप्तामा एक पटक उडानका लागि माग गरिए पनि नेपाल सरकारसँग पर्याप्त जहाज नभएकाले तत्काल त्यो पनि संभावना न्यून रहेकाले निजी क्षेत्रसँग छलफल अघि बढाइएको हो ।
निजी क्षेत्रका एयरलाइन्सले पर्याप्त यात्रु नपाइने होकी भन्नेमा आशंका व्यक्त गरेको भन्दै सांसद राईले सोही विषयमा छलफल केन्द्रित रहेको बताए । यसअघि फाप्लु विराटनगर उडान भर्दै आएको नेपाल एयर लाइन्सले यात्रु अभाव देखाउँदै उडान रोकेको छ ।
अमृता राई

प्रतिक्रिया दिनुहोस्