महँगो बन्दै दसैं «

महँगो बन्दै दसैं

इन्धनको मूल्यवृद्धिसँगै सवारी साधनको भाडा बढ्ने हुँदा त्यसको असर उपभोक्तामा पर्ने देखिन्छ । डलको मूल्य हालसम्मकै उच्च भएकाले पनि आयातित सामान महँगो पर्ने देखिन्छ ।

२५ देखि ३० प्रतिशत मूल्यवृद्धि :व्यवसायी
सरकारनै मूल्यवृद्धिमा अग्रसर : उपभोक्तावादी

शंखमूलकी पवित्रा थापा आगामी दसैं कसरी मनाउने भनेर अहिलेदेखि नै चिन्तित बनेकी छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य बढेकाले दसैं खर्च पनि बढ्ने भएकाले उनी चिन्तित बनेकी हुन् । उनी त एउटी प्रतिनिधि मात्र हुन आर्थिक अवस्था कमजोर भएका आम नागरिकलाई यो वर्षको दसैं महंगिने भएको छ । डलरको मूल्य वृद्धिसँगै लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धि, स्थानीय सरकारले मनपरी ढंगले बढाएको करका साथै भन्सार मूल्यांकन बढेकाले पनि यो वर्ष सर्वसाधारण नागरिकलाईका लागि दसैं महंगो पर्ने भएको हो ।
“बजारमा दैनिक उपभोग्य वस्तुदेखि अधिकांस सामानकोे मूल्य बढेको छ,” बुद्धनगरकी शर्मिला अधिकारीले भनिन्, “आर्थिक अवस्था कमजोर भएकालाई दसैं मान्न दोव्बर खर्च बढ्ने छ, कर्मचारीको तलब बढेको छैन,” उनले भने, “बजार मूल्य थेग्ने नसक्ने गरी बढेकाले पनि दसैं मनाउन धौधौ हुने देखिन्छ ।” दसैंको मुखमा बढेको पेट्रोलियम पदार्थको मूल्यले पनि प्रत्यक्ष असर उपभोक्तामा पर्न जान्छ । इन्धनको मूल्यवृद्धिसँगै सवारी साधनको भाडा बढ्ने हुँदा त्यसको असर उपभोक्तामा पर्ने देखिन्छ । डलको मूल्य हालसम्मकै उच्च भएकाले पनि आयातित सामान महँगो पर्ने देखिन्छ ।
डलरको भाउ र भन्सार मूल्यांकन वृद्धिले यो वर्षको दसैंमा बढी खपत हुने लत्ताकपडा महँगिने भएको छ । रञ्जना व्यापार संघका अध्यक्ष अञ्जान शाक्य यो वर्ष डलरको मूल्यसँगै भन्सार मूल्यांकन वृद्धि भएकाले दसैंमा कपडा, जुत्ताचप्पल, विद्युतीय उपकरणसँगै अन्य सामानको मूल्य २५ देखि ३० प्रतिशत बढ्ने बताउँछ । दसैंका लागि आएका सामानमा मूल्य बढेर आएकाले पनि त्यसको असर उपभोक्तामा पर्ने उनको भनाइ छ । सामानको मूल्य बढेर आएकाले कारोबारमासमेत कमी हुँदा व्यवसायीसँगै त्यसको प्रत्यक्ष असर आमनागरिकमा पर्ने उनको भनाइ छ । अन्य समयको तुलनामा दसैंमा सामानको कारोबार बढी हुने हुँदा मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदा कारोबार नै कम हुने उनको भनाइ छ ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले चाडपर्वको मुखमा सरकाले इन्धनको मूल्य बढाएर उपभोक्तालाई प्रत्यक्ष असर परेको बताए । “मूल्य नियन्त्रण गर्नुभन्दा पनि व्यवसायीको ईशारामा सरकार अगाडि बढेको छ,” उनले भने, “दुई तिहाई बहुमत प्राप्त जनमुखी सरकार नभई व्यापारी र कालोबजारीको सरकार देखिएको छ ।” करका दरसँगै डलरको मूल्य बढेकाले बजारमा अधिकांस सामानको मूल्य बढेको छ । उनले भने, “चाडपर्वको समयमा बजारमा मूल्यवृद्धिसँगै कालोबजारी हुने भएकाले सरकार बजारमा नियन्त्रणमा लाग्नुपर्छ ।” बजारमा अधिकांश वस्तु तथा सेवाको मूल्य बढेकाले पनि यो वर्ष दसैंमा उपभोक्ताले चर्काे महंगी खेप्नुपर्ने उनको भनाइ छ ।
बजारमा लत्तकपडा, जुत्ताचप्पल, खाद्यान्न, तरकारी, विद्युतीय सामानदेखि अधिकांश सामानको मूल्य बढेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वको समयमा बजारमा वस्तु तथा सेवाको खरिद बिक्री बढी हुँदा कालोबजारी बढ्ने हुँदा प्रभावकारी ढंगले अनुगमन गर्न लागिएको बताए । “बजारमा कमसल, म्याद नाघेका, मिसावटयुक्त सामानको बिक्री नहोस् भनेर उत्पादनस्थलमै अनुगमन गर्न लागेका छौं,” उनले भने, “उपभोक्ता संरक्षण ऐनमा उपभोक्ता अधिकार सुरक्षित राख्न विशेष व्यवस्था गरिएकाले पनि चाडपर्वमा व्यवसायीले गर्ने गलत क्रियाकलाप कम हुने देखिन्छ ।”
पछिल्लो समयमा नेपाली मुद्राको तुलनामा डलरको भाउ महँगो भएको छ । नेपाली मुद्रा कमजोर हुँदा विदेशबाट आयात हुने सामान महँगो भएको हो । अहिले एक डलर किन्नका लागि १ सय १६ रूपैयाँसम्म तिर्नुपर्ने अवस्था छ । अधिकांश सामान विदेशबाट आयात गर्नुपर्ने भएकाले नेपाल आउने सबै सामान डलरका कारण महँगो भएको छ ।
स्थानीय सरकारले बाख्रादेखि अण्डासम्ममा कर लगाएकाले त्यसले समेत दसैं महँगो बनाउने छ । खसीबोका व्यवसायी दिपक थापाले यो वर्ष खसीबोको मूल्य प्रतिकेजीमा ७० देखि ८० रूपौयाँ बढेको बताए । उनका अनुसार खसीबोकामा समेत कर लगाएका कारण मूल्य बढ्न गएको हो । भारतबाट आयात हुने चौपायामा कर तथा विभिन्न मूल्यांकनले गर्दा दसैंमा खसीबोकाको मूल्य बढ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्