निर्मलाको न्यायका लागि ७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाइँदै «

निर्मलाको न्यायका लागि ७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाइँदै

नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै देशका ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर आजका मितिसम्म पनि सरकारले निर्मला हत्याकाण्डको दोषीलाई कानुनी कठघरामा उभ्याउन नसक्नु दुखद् भएको टिप्पणी गरेको छ । संघकी अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य उमा रेग्मीले निर्मला हत्याका बास्तविक दोषीलाई सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको आरोप लगाईन् ।
उनले भनिन्, “आज यत्तिका दिन भैसक्यो, तर सरकारले निर्मला हत्याका वास्तविक दोषीलाई सार्वजनिक गर्न सकेको छैन । दोषी सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको छ ।” रेग्मीले गणतन्त्रमा पनि न्याय नपाउने हो भने कहिले पाइन्छ भन्दै सरकारलाई प्रश्न समेत गरिन् । उनले भने, “अहिले मानवता हराएको छ । सरकारको पहिलो प्राथमिकता भनेको नागरिकको जीउधनको सुरक्षा गर्नुपर्ने हो । तर, अहिले त्यस्तो गरिएको देखिएन ।”
बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्छ भनेर आफूले संसदमा जोडदारसँग कुरा उठाएको पनि उनले सुनाइन् । उनले भनिन्, “बलात्कारीलाई मृत्युदण्ड दिइएन भने झनै यस्ता घटनाहरु घटिरहन्छन् । कञ्चनपुर घटनामा जति नै ठूलाबडाका मान्छे भएपनि दोषीलाई कारबाही हुनुपर्छ । प्रधानमन्त्रीले पनि कारबाही गरेर छाड्छु भन्नुभएको छ । उहाँले बोलेका कुरा पूरा गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्