स्थानीय तहमा स्वास्थ्य सेवा प्रभावकारी «

स्थानीय तहमा स्वास्थ्य सेवा प्रभावकारी

गुल्मी-स्थानीय तहको अभ्यास सुरु भएसँगै गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ । स्थानीय सरकारले गुल्मीका स्वास्थ्य सेवा नपुगेका क्षेत्रमा स्वास्थ्य सेवा पु-याउने उद्देश्यका साथ विभिन्न नमुना कार्यहरु गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले ०७४ असोज १ गते चल–अचल सम्पत्तिसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरेको थियो । स्वास्थ्यको अधिकार आफ्नो मातहतमा आएपछि स्थानीय सरकारले जनताको स्वास्थ्य सेवा पाउने अधिकारलाइ सुनिश्चित गर्दै गाउँगाउँमा बर्थिङ्ग सेन्टर र सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने काम अगाडि बढाएका छन् ।
बर्थिङ्ग सेन्टरको स्थापना भएसँगै गर्भवती महिलाहरुले नियमित गराउनुपर्ने स्वास्थ्य जाँच पनि प्रभावकारी भएको र स्वास्थ्य संस्थामै गई बच्चा जन्माउने महिलाहरुको संख्यामा पनि वृद्धि भएको जिल्ला जनस्वाथ्य कार्यालयले बताएको छ ।
गत आर्थिक वर्ष २०७४-०७५ मा गाउँपालिका र नगरपालिकाको पहलमा १० वटा र निजि अर्थात् रेसुङ्गा हस्पिटलको पहलमा १ गरी जम्मा ११ वटा थप नयाँ बर्थिङ सेन्टर सञ्चालनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका पब्लिक हेल्थ नर्स सुमन शर्माले बताइन् ।
बर्थिङ सेन्टर सञ्चालन हुँदा घरमा सुत्केरी हुने महिलाहरुको संख्यामा कमी भएको र बर्थिङ्ग सेन्टर वा स्वास्थ्यचौकीमा २४ सै घण्टा सेवा तथा उचित सुविधाहरु उपलब्ध हुने कारण पनि महिलाह यसतर्फ आकर्षित भएका छन् ।
सेन्टरमा ल्याएर सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य सुरक्षित एवं सुधार हुने चेतनाको विकास भएकोले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको संख्यामा वृद्धि भएको नर्स शर्माले बताइन् । हालसम्म गुल्मीमा ३९ वटा बर्थिङ्ग सेन्टर सञ्चालनमा रहेका छन् ।
यसैगरी स्थानीय तहहरुले आम नागरिकहरुलाई स्वास्थ्यको पहुचँ नपुगेको ठाँउमा स्वास्थ्यचौकी सरह नै सेवा तथा सुविधाहरु पु-याउने हेतुले भौगोलिक रुपमा दुर्गम र अपायक तथा बढी बस्ती भएको ठाउँमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गर्दा पनि जनताहरुले सहज रुपमा स्वास्थ्य सेवा पाएका छन् ।
जिल्लामा गाउँपालिकाबाट ११ वटा सामुदायिक स्वास्थ्य इकाई र नगरपालिकामा ४ वटा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका हेल्थ असिस्टेन्ट पशुपति आचार्यले जानकारी दिए । रेसुङ्गा नगरपालिका र मुसिकोट नगरपालिकाले २-२ सहरी स्वास्थ्य केन्द्र स्थापना गरेका छन् ।
यसले गर्दा विगतमा स्वास्थ्य सेवा लिनको लागि टाढा पुग्नुपर्ने बाध्यता पनि हटेको र जनताले छिटो स्वास्थ्य लाभ लिन सकेको मुसिकोट नगरपालिका १ का शिक्षक तथा समाजसेवी मोहन घिमिरेले जानकारी दिए ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई हस्तान्तरण गर्ने जिल्लामध्ये गुल्मी दोश्रो जिल्ला रहेको जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख उत्तमकुमार कोइरालाले जानकारी दिए । “संघीयतामा स्वास्थ्य कार्यान्वयन गर्ने मेरो लागि पहिलो वर्ष हो,” कोइरालाले भने, “त्यसैले गएको वर्ष सिकाई वर्ष भएकोले मैले धेरै कुरा सिक्न पाएँ, आगामी दिनमा स्थानीय तहको सहकार्य सँगै अझ नयाँ कार्यक्रमहरु पनि लिएर आउँछौ ।”
सबै स्थानीय तहमा सरुवा रोगको महामारीलाई तत्काल नियन्त्रण गरी मानवीय क्षति न्यूनीकरण गर्न, स्वास्थ्य क्षेत्रमा आउने खतराहरुलाई तत्काल रोक्न तथा विपत व्यवस्थापनका लागि आवश्यक स्टक औषधीको व्यवस्था गरिएको छ । त्यसैगरी अत्यावश्यक रुपमा प्रदान गर्नुुपर्ने स्वास्थ्य सेवा प्रदान गर्नको निम्ति प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीबाट प्रतिनिधित्व हुने गरी सबै गाउँपालिका र नगरपालिकामा सामुदायिक रेपिट रेस्पोन्स टिम स्वास्थ्यकर्मीको समूह टोली गठन गरिएको कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर श्रीकृष्ण भट्टाराईले जानकारी दिए ।
स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरेपछि रुरु गाउँपालिकाको बलेटक्सार स्वास्थ्यचौकी र मुसिकोट नगरपालिकाको वामीटक्सार स्वास्थ्यचौकीमा जनताको स्वास्थ्य परीक्षणमा थप सहजता ल्याउने उद्देश्य स्वरुप प्रयोगशाला सेवाको समेत व्यवस्था गरिएको छ ।
प्रत्येक गाउँपालिका र नगरपालिकामा एक-एक वटा एम्वबलेन्स उपलब्ध रहेका कारण स्वास्थ्यको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई थप सहज भएको छ । स्वास्थ्य क्षेत्रको विकास गर्न प्रत्येक गाउँपालिका र नगरपालिकाले आवश्यक मात्रामा बजेटको व्यवस्था गरेका छन् ।
अनिश शर्मा गैरे

प्रतिक्रिया दिनुहोस्