उद्योगको प्रवद्र्धनका लागि प्रधानमन्त्रीकै नेतृत्वमा समिति «

उद्योगको प्रवद्र्धनका लागि प्रधानमन्त्रीकै नेतृत्वमा समिति

आर्थिक समृद्धिलाई केन्द्रविन्दुमा राख्ने प्रतिबद्धतासहित गठन भएको केपी ओली नेतृत्वको सरकारले ७ महिनापछि बल्ल निजी क्षेत्रसहितको एक संयुक्त समिति गठन गर्ने निर्णय गरेको छ ।
निजी क्षेत्रले सरकार आफूहरूसँग कुनै समन्वय नगरी एकतर्फी रूपमा अघि बढेको भन्दै आलोचना गरेपछि सरकारले यस्तो समिति गठन गर्ने तदारुकता देखाएको हो । उद्योग व्यवसाय प्रवद्र्धनका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा शुक्रबार समिति गठन गरिएको छ । उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद्मा सरकारका उच्च अधिकारीहरूसहित निजी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको समेत सहभागिता रहने शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद्ले निजी क्षेत्र र सरकारबीच पुलको काम गर्ने बताइएको छ । सरकारका मन्त्रीहरूको काम कारवाहीका सम्बन्धमा निजी क्षेत्रले चर्को आलोचना गरेपछि समिति गठन गरिएको जनाइएको छ । निजी क्षेत्रले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, कृषिमन्त्री चक्रपाणि खनाल, गृहमन्त्री रामबहादुर थापा तथा अर्थमन्त्री डा. युवराज खतिवडा निजी क्षेत्रमैत्री हुन नसकेको भन्दै टिप्पणी गर्दै आएको छ ।
यस्तै, सरकारले आफ्नो नीतिगत योजनाहरूमा आवश्यक सल्लाह सुझावका लागि नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको छ । सरकारको मुख्य थिंक ट्यांकको रूपमा रहने प्रतिष्ठानमा प्रा. डा. चैतन्य मिश्र, डा. मीना आचार्य, प्रा. डा. राजेन्द्रध्वज जोशी, प्रा.डा. सुरेन्द्र लाल र प्रा.डा. गणेश गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्