कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज «

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रवार (आज) बस्दैछ । सभापति शेरबहादुर देउवाले निर्वाचन परिणाम वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।बैठक बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार प्रधानमन्त्री देउवा, महामन्त्री शशांक कोइरालालगायत पदाधिकारीको भेटपछि बैठकको मिति तय भएको हो । बैठकमा निर्वाचनको समीक्षा र राष्ट्रियसभा अध्यादेशबारे छलफल हुने बताइएको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि कांग्रेसको बैठक पहिलोचोटि बस्न लागेको हो । कार्यसम्पादन समिति बैठकपछि कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने बताइएको छ । शुक्रबार बस्ने कार्यसम्पादन समिति बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको नाम टुंगो लगाउने भएको छ ।निर्वाचनमा दोस्रो दलका रूपमा सीमित भएपछि सभापति देउवालाई केन्द्रीय समिति बैठक बोलाउन दबाब बढ्दै गएको छ । केही नेताले त सभापतिबाट राजीनामा समेत दिनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्