सडक आएसँगै पेसा परिवर्तन «

सडक आएसँगै पेसा परिवर्तन

तेह्रथुम-टुटेदेउरालीदेखि संखुवासभाको गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्मको क्षेत्रमा चौंरीलाई भारी बोकाउने प्रतिस्पर्धा दशकअघिसम्म स्थानीयबीच निकै चल्थ्यो । यो रूटमा जसले धेरै चौंरी पालेर भारी बोकाउने व्यवसाय गर्छ, त्यो प्रतिष्ठित कहलिन्थ्यो ।
वसन्तपुर, टुटेदेउराली, चौकी, मंगलबारे, गुफा, साँघु हुँदै दोभानसम्मको रूटमा सयभन्दा बढी व्यवसायी चौंरी र खच्चडलाई भारी बोकाउने पेसाबाट मालामाल भएका थिए । तर अहिले अवस्था फेरिएको छ । माथिल्लो पहाडी र तल्लो हिमाली क्षेत्रमा चौंरी र खच्चडलाई भारी बोकाएर हिँडाउने वसन्तपुर गुफा हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्गमा यतिबेला सडकको डोब तयार भइसकेको छ । सडक निर्माणसँगै सवारी साधनले माथिल्लो क्षेत्रमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गरिदिन थालेपछि चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आएका व्यवासायीले पेसा नै परिवर्तन गरेका छन् ।

सडकसँगै पेसा परिवर्तन
संखुवासभा र ताप्लेजुङको उच्च पहाडी र तल्लो हिमाली भेगसम्म चौंरीलाई भारी बोकाएर व्यवसाय गरेर जीविकोपार्जन र आयआर्जन गर्दै आएका धेरैको पुस्तौनी पेसा फेरिएको हो । धेरैजसोले चौंरी र खच्चड बिक्री गरिसकेका छन् । पहिले यो रूटमा भरियाले खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु बोकेर माथिल्लो क्षेत्रमा पुराउँथे । पछि यो काम चौंरी र खच्चडले गर्न थाले । भरियाको तुलनामा चौंरी र खच्चडले धेरै सामान बोक्ने भएकाले धेरै व्यवसायी यतातिर आकर्षित भएका गुफा बजारकी व्यवसायी डोङगा लामाले बताइन् ।
यही रूट भएर सडक निर्माण भएपछि भने सयौं चौंरी र खच्चड व्यवसायी एकैसाथ यो पेसाबाटै विस्थापित भएको गुफा बजारका होटल व्यवसायी हरि खनालले बताए । सुरुमा माथिल्लो क्षेत्रका भोटे समुदायले मात्र अपनाएको चौंरीलाई भारी बोकाउने व्यवसायमा पछिल्लो समय अन्य जाति र समुदायका मानिससमेत संलग्न भएका थिए । यो रूटमा चौंरी र खच्चडलाई भारी बोकाउने व्यवसाय गर्दै आएका छिरिङ लामा अहिले यो व्यवसाय छाडेर निर्माण व्यवसायमा लागेका छन् । दशक अघिसम्म उनी यो रूटमा ३० वटाभन्दा बढी चौंरी र खच्चडलाई वसन्तपुरबाट सामान बोकाएर ताप्लेजुङका विभिन्न ग्रामीण क्षेत्र र बजारसम्म पुराउने काम गर्थे ।
आफूहरूले चौंरी धपाउने रूट भएर मोटर बाटो निर्माण भएपछि बाध्य भएर पेसा नै परिवर्तन गर्नुपरेको लामाले बताए । त्यस्तै गुफापोखरीमा ५० भन्दा बढी चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आएका ग्याबु शेर्पाले वसन्तपुर हुदै निर्माण भइरहेको मोटरबाटो घरको आँगनसम्मै आइपुगेपछि सबै चौंरी र खच्चड बिक्री गरेर ल्यान्डरोभर गाडी किनेर चलाइरहेका छन् । बाजुबाजेपछि आफूले पनि गर्दै आएको चौंरीलाई भारी बोकाउने पेसा सडकले खोसिदिएपछि बाध्य भएर अर्को पेसामा लागेको शेर्पाले बताए । “अब चौंरी र खच्चडलाई भारी बोकाउने पेसा नचल्ने भो,” चौंकी गुफा खण्डको सडकमा ल्यान्डरोभर गाडीको स्टेरिङ घुमाउँदै गरेको अवस्थामा भेटिएका शेर्पाले भने, “के गर्नु परिवार त पाल्नै पर्यो, अर्को पेसा भए पनि गर्दैछु ।” सडकले आफूजस्ता सयौं चौंरी पालक व्यवसायीलाई अर्को व्यवसाय गर्न बाध्य बनाएको उनले पीडा सुनाए ।

चौंरी र खच्चड बेचेर गाडी
यही रूटमा चौंरी र खच्चड किनेर भारी बोकाउने व्यवसाय गर्दै आएका पाँचपोखरीका डम्बर बुढाथोकी, धु्रव खडका, हर्क राईलगायत धेरै व्यवसायी पनि फरक पेसा र व्यवसायमा लागेका छन् । टुटेदेउरालीदेखि तीनजुरे, चौकी, मंगलबारे, श्रीमाने, भालुखोप, लामपोखरी, गुफाबजार हुँदै दोभानसम्मको चौंरी हिँड्ने सडकमा अहिले साना ठूला सवारी गुड्छन् । यो रूटको मंगलबारेमा व्यापार गर्दै आएका राम उप्रेती सडक निर्माणसँगै धेरै चौंरी र खच्चड व्यवसायी विस्थापित भएको बताउँछन् । सडक र सवारीले पेसा विस्थापित गरिदिएपछि केही चौंरी र खच्चड व्यवसायी अहिले लेकाली क्षेत्रमा पाइने मालिङगोका चोयाबाट डोका, डाला, थुन्से, नाङलो, मान्द्रोलगायत सामग्री बनाउने व्यवसायतर्फ आकर्षित भएका छन् ।
चांैरीलाई भारी बोकाएर गाउँ–गाउँ पुराउने पेशा सडकसँगै गाडीले खोसिदिएपछि सानै भए पनि फरक पेसा रोजेको ताप्लेजुङ ढुंगेसाँघुका बलबहादुर तामाङले बताए । पहिले यो रूटमा आफै भारी बोक्ने तामाङ पछिल्लो समय चौंरी किनेर भारी बोकाएर लेकाली बस्तीसम्म सामान पुराउने गर्दै आएका थिए । यो बाटो भएर चौंरीले संखुवासभाका मावादिन, नुनढाकी, मुलखर्क, रामवेनी, सिद्धकाली, सिद्धपोखरी, जलजला, बाह्रबिसे, तेह्रथुमको हाकु, श्रीजुङ, संक्रान्ति, खाम्लालुङ, सम्दु तथा ताप्लेजुङका हाङपाङ, चाँगे, ढुंगेसाँघु, साँघु, निगुरादिन, फाकुम्वा, थिङलाबुलगायत गाउँमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु तथा अन्य सामान ओसार्दै आएका थिए ।
तर अहिले यी गाउँका भित्री भागसम्म सडक बनेकाले टयाक्टरबाटै सामान ढुवानी हुने गरेको छ । चौकी बजारका होटल व्यवसायी उदयकुमार तामाङका अनुसार सडक निर्माणपछि धेरै व्यवसायी चौंरी र खच्चड बिक्री गरेर अन्य पेसा व्यवसायमा लागेका छन् । उच्च पहाडी र तल्लो हिमाली क्षेत्रमा मालसामान ढुवानी गर्ने प्रमुख साधनका रूपमा प्रयोग हुने चौंरी अचेल यतातिर देखिँदैनन् । मदन भण्डारी लोकमार्गका रूपमा निर्माण भइरहेको सडकका कारण तेह्रथुम, संखुवासभा र ताप्लेजुङका सयौं भरिया र चौंरी खच्चड व्यवसायीले फरक पेसा अंगालेको गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्