कर्जा प्रवाह रोक्दै, ब्याजदर बढाउँदै निक्षेप तान्दै

बैंकहरूले कर्जा प्रवाह रोक्न थालेका छन् । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भए पनि बैंकहरूले समस्यामा समाधानका लागि कर्जा प्रवाह सुस्त बनाएका हुन् । पछिल्लो समयमा बैंकहरूले निक्षेपका लागि ब्याजदरसमेत बढाएर तान्ने खेल सुरु गरेपछि कर्जा लगानीसमेत प्रभावित भएको छ । बैंकहरूसँग कर्जा लगानी गर्नका लागि निक्षेप लिनुपर्ने अवस्था छ । बजारमा नयाँ निक्षेप नआएपछि बैंकहरूले ब्याजदर बढाउने नीति लिएको देखिन्छ ।
पछिल्ला दिनहरूमा बैंकहरूले कर्जा प्रवाह गरी रोकेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले बताए । “केही बैंकले कर्जा प्रवाह रोकेका छन भने केहीले स्लो डाउन गरेका छन,” उनले भने, “बैंकहरूले ब्याजदर बढाबढ गरेर निक्षेप अकार्षण गर्न थालेका छन् ।” वित्तीय प्रणालीमा देखिएको समस्याले कही समय अझै कायम रहेको खण्डमा समस्या बढेर जाने उनको विश्लेषण छ ।
सरकारले संघीय व्यवस्था कार्यान्वयन तथा चुनावका लागि आन्तरिक ऋण १ सय ९ अर्ब रुपैयाँ उठाएको छ । केन्द्रीय बैंकले उठाएको आन्तरिक ऋण तथा चुनावमा खर्च भएको पैसा वित्तीय प्रणालीमा नआएपछि समस्या बढ्दै गएको हो । चालू आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब आन्तरिक ऋण उठाउने योजना गरेकोमा पहिलो त्रैमासमा नै १ खर्ब ९ अर्ब उठाइसकेको छ । तर, त्यो रकम खर्च गर्न नसक्दा समस्या वढेको हो । सरकारले स्थानीय तहमा २ किस्ता गरी १ खर्ब ५० अर्ब रुपैयाँ निकासा दिएको भए पनि वाणिज्य बैंकहरूमा नआएको हुनाले समस्या देखिएको दाहालको भनाइ छ ।
पछिल्लो समयमा व्यवसायीले समेत कर्जा पाउन हम्मे परेको छ । बैंकहरूसँग कर्जा दिनका लागि आवश्यक नयाँ निक्षेप नभएको हुँदा व्यवसायीहरू पनि बैंक प्रणालीको समस्या सुधारको पर्खाइमा छन् । वित्तीय प्रणालीको अवस्थाअनुसार सहज कर्जा दिने अवस्था नभए पनि बैंकले समय माग्नु समान्य रहेको ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बताए । “वित्तीय प्रणालीमा कर्जा प्रवाहअनुसारको निक्षेप सिर्जना हुन नसक्दा समस्या देखिएको हो,” उनले भने, “यसका लागि सरकारले पैसा जम्मा गरेर नराखी निरन्तर खर्च गर्नुपर्छ ।” हाल वित्तीय प्रणालीको पुँजी कर्जा तथा निक्षेप अनुपात ७९ प्रतिशत रहेको छ । समग्र प्रणालीको पुँजी कर्जा तथा निक्षेप अनुपात ७९ प्रतिशत भनेको कर्जा प्रवाह गर्ने अवस्था नरहेको हो । त्यसका साथै बैंकहरूले नयाँ निक्षेप सिर्जना गर्न नसक्नुका कारणले वित्तीय प्रणालीमा समस्या आएको पौड्यालको भनाइ छ । “पछिल्लो समयमा बैंकको निक्षेप सहकारीतर्फ गएको हुनसक्ने देखिन्छ,” उनले भने ,“यसले ब्यालेन्स अफ पेमेन्टमा असर गर्ने देखिन्छ, यो भनेको डरलाग्दो अवस्था हो ।”
बैंकहरूले वित्तीय प्रणालीमा कर्जायोग्य रकम अभाव भएको भनिए पनि यस विषयमा नेपाल राष्ट्र बैंक सहमत छैन । “हाल वित्तीय प्रणालीमा करिब ३४ अर्ब तरलता छ,” नेपाल राष्ट्र बैंका एक अधिकारीले भने । हालको वित्तीय प्रणालीको अवस्था समान्य रहेको बताउदै ति अधिकारीले भने, “केही बैंकले कर्जा प्रवाह गर्न नसकेको हुनसक्ने भए पनि प्रणालीमा समस्या रहेको उनले बताए ।” बैंकहरू आत्तिएर ब्याजदर बढाएर निक्षेप कल गरेको हुनसक्ने राष्ट्र बैंक स्रोतको भनाइ छ । पछिल्लो समयमा अन्तरबैंक दर पनि ४.७८ प्रतिशत छ । त्यसका साथै केन्द्रीय बैंकले आइतबार ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र खरिद गर्ने भएको छ । बैंकहरूसँग रहेको ऋणपत्र नेपाल राष्ट्र बैंकले खरिद गरेर ५ अर्ब बजारमा पठाउने तयारी गरेको हो ।
पछिल्लो समयमा विप्रेषण आप्रवाहमा कमी आउनुका साथै सरकारी ढुकुटीमा जम्मा हुने पैसा वढेपछि वित्तीय प्रणालीमा समस्या आएको हो । गत कात्तिकसम्म विप्रेषण आप्रवाहमा १.४ प्रतिशतले कमी आइ २ खर्ब २८ अर्ब ९५ करोड रुपैयाँमा आएको छ । सो अवधिमा मसान्तसम्ममा सरकारी ढुकुटीमा ३ खर्ब ८ अर्ब ७४ करोड नगद मौज्दात रहेको छ । त्यसका साथै सरकारले स्थानीय तहमा निकास गरेको रकम पनि खर्च हुन सकेको छैन ।