सहुलियत पसल सञ्चालनमा अन्योल «

सहुलियत पसल सञ्चालनमा अन्योल

विगतका दिनमा प्रदेश ७ को राजधानी धनगढी उपमहानगरपालिकामा दसैंलाई लक्षित गरेर सहुलयित पसल सञ्चालन ल्याउने तयारी हुन्थ्यो । तर, यो वर्ष हिन्दूहरूको महानपर्व दसैं नजिकँदासमेत उपभोक्ता सहजताका लागि सहुलियत पसलको सुरुसार नै नभएको साल्ट टेडिङ कर्पोरसनका ७ नं. प्रदेश प्रमुख तथा सहायक महा–प्रबन्धक केशवराज पाण्डेले बताए । दसैं लक्षित सहुलियत पसलका लागि कार्यालयको पूर्ण तयारी भए तापनि साल्ट टेडिङ कर्पोरेसन केन्द्रीय कार्यालयले हालसम्म सञ्चालनको आधिकारिक पत्र नपठाउँदा समस्या भएको छ ।
हिन्दूहरूको महानपर्व दसैंलाई लक्षित गरेर उपमहानगरपालिका भित्र उपभोक्ताका सहजताका लागि नेपाल खाद्य संस्थान,साल्ट टेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानमार्फत बर्सेनि सहुलियत पसल सञ्चालनमा ल्याउने गरिन्छ । तर, यो वर्ष भने सुरसार नै देखिएको छैन । दसंै, तिहार, छठ पर्वलाई लक्षित गरी उपभोक्ताहरूलाई सहज र सस्तो मूल्यमा सामग्रीहरू किनमेल गर्न सहुलियत पसल सञ्चालनमा ल्याउने प्रचलन छ ।
डा.बाबुराम भट्टराई २०६८ सालमा प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्को निर्णयबाट नै सुपथ सहुलियत पसल सञ्चालनमा ल्याउने प्रचलनमा आएको हो । सहुलियत पसल सञ्चालनमा लाग्ने खर्च नेपाल सरकाले नै बेहोर्ने मन्त्रिपरिषद्को निर्णयबाट पारित भएको थियो । त्यसलाई निरन्तरता दिएर काठमाडौं बाहिर पनि सहुलियत पसल सञ्चालनमा ल्याउने गरिएको छ ।
नेपाल खाद्य संस्थान अञ्चल कार्यालय प्रमुख प्रेम नारायण भण्डारीले उपभोक्तालाई राहत दिनका लागि विगतका वर्षहरूमा दसैंताका सहुलिय सहुलियत पसल सञ्चालन गर्ने भए तापनि यो वर्ष विभागबाट जानकारी नै नआएको जानकारी दिए । अझै दसैं आउन एक महिना बाँकी छ, जानकारी आएमा सञ्चालनका लागि पूर्ण तयारी रहेको बताए ।
चाडपर्वमा वस्तु तथा सेवा खपत धेरै हुने भएकाले पनि उपभोक्तालाई राहत दिन सुपथ सहुलियत पसल सञ्चालन गर्न अनिवार्य रहेको बताए । धनगढीमा सहुलियत सुपथ पसल सञ्चालनमा विशेष गरी मध्यम र निम्नवर्ग समुदायका ग्राहकहरू किनमेलका लागि आउने गरेको जानकारी दिए । सहुलियत पसल सञ्चालनगर्दा बजारमा हुने कालो बजारी र कृत्रिम अभाव नियन्त्रण र न्यूनीकरणका लागि सुपथ पसल सञ्चालन गरिनुपर्ने उनको भनाइ छ ।
विभिन्न संस्थाहरूमार्फत उपत्यकासँगै उपत्यका बाहिर सहुुलियत पसल सञ्चालन गर्ने तयारी भए तापनि जिल्लामा रहेका सम्बन्धित निकायलाई अहिलेसम्म आधिकारिक जानकारी नहुँदा कार्यालय प्रमुखहरूलाई निर्णय लिन गाह्रो भएको छ । अन्योलमा छन् । विगतका वर्षहरूमा सहुलियत पसलमार्फत चिनी,नुन, घिउँ, चामल, गेडागुडीसँगै अन्य खाद्यान्नमा समेत छुट दिँदै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्