तपाईंको मोबाइल सुरक्षाको जिम्मा हामी लिन्छौं «

तपाईंको मोबाइल सुरक्षाको जिम्मा हामी लिन्छौं

सञ्जित पौडेल
अध्यक्ष, इजी एस्युरेन्स प्रालि
मोबाइल बिमाको सुविधा, एस्सुरेन्स हो की इन्सुरेन्स ?
उपभोक्ताले बुझ्ने भाषामा भन्दा हामीले ल्याएको सुविधा मोबाइल बिमा नै हो । प्रक्रियागत रुपमा हेर्दा हाम्रो कम्पनीले बिमा कम्पनीसँग सम्झौता गरेका हुन्छौं र उपभोक्तालाई हामीले बिमा कम्पनीसँगको सर्त अनुसार बिमाको सुविधा उपभोक्तासम्म पु-याउँछौं । हामीले उपभोक्तालाई उपलब्ध गराउने सेवा एस्सुरेन्स सेवा हो । हाम्रो कम्पनी एक्लैले मात्र पनि यस्तो सेवा दिन सक्छ तर हामीले ब्याक सपोर्टका लागि बिमा कम्पनीसँग सम्झौता गरेका छौं । एस्सुरेन्स सेवा लिने र दाबी गर्नेको चाप धेरै बढेमा हामीले बिमा कम्पनीसँग पनि सहयोग लिन्छौं । सामान्य अवस्थामा बिमा कम्पनीले उपलब्ध गराउने भन्दा बढी नै सुविधा ग्राहकलाई दिन्छौं । तपाईंको मोबाइलको जिम्मा हाम्रो भन्ने स्लोगन नै लिएर हामी उपभोक्ताको मोबाइल सुरक्षामा लागेका छौं ।

तपाईंले उपलब्ध गराएको एस्सुरेन्स सेवा लिँदा उपभोक्तालाई के फाइदा हुन्छ ?
म आफै पनि नौ वर्षदेखि मोबाइल सर्भिसमा काम गरिरहेको छु । नेपालमा मोबाइल खसेर स्क्रीन फुट्ने, पानीमा खसेर काम नलाग्ने हुने, घरमै राखिरहेको बेला चोरी हुने, आगलागीमा पर्ने जस्ता समस्या बढी देखिँदै आएका छन् । महँगो मूल्य हालेर किनेको मोबाइल पानीमा खसेर काम नलाग्ने भयो भने तत्काल नयाँ किन्न पनि समस्या पर्छ । ग्राहकको यही समस्यालाई हामीले एस्सुरेन्स सेवाबापत समाधान गर्ने योजना दशैंको अवसर पारेर उपभोक्तामाझ ल्याएका हौं । अर्थात् एस्सुरेन्स गरिएको मोबाइल घरबाटै हराएमा, स्क्रीन फुटेमा, पानीमा खसेमा, आगो लागेमा हामीले क्षतिपूर्ति दिन्छौं । यसको फाइदा ग्राहकले लिन सक्नुहुन्छ ।

एस्सुरेन्स सेवा कति खर्चिलो छ ?
हामीले उपलब्ध गराउने एस्सुरेन्स सेवा खर्चिलो छैन । कम्तिमा १ हजार ५ सय मूल्य भन्दा बढी मूल्यका मोबाइलमा यो सुविधा उपलब्ध गराएका छौं । तपाईंले १५ सयको मोबाइल किन्नु भयो भने मात्र ४९ रुपैयाँ बढी तिरेर यो सुविधा लिन सक्नु हुनेछ । दश हजारको मोबाइलमा साढे चार सयमात्र थप पैसा तिर्नुपर्ने हुन्छ । यो सेवा लिनका लागि हामीले उपलब्ध गराउने एस्सुरेन्स कार्ड लिएर मोबाइल खरिद गर्नुपर्ने हुन्छ । आइतबारदेखि देशभर हामीले यो सुविधा उपलब्ध गराएका छौं । मोबाइल एपमा कस्टमर आइडी र पासवर्डको व्यवस्था गरिएको छ । ग्राहकको समय र रकम पनि बचत गर्ने गरि हामीले सहज सुविधा उपलब्ध गराएका छौं । ग्राहको राय सल्लाह अनुसार सुविधा थप सहज बनाउँदै लैजान्छौं । उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै हामीले सबै प्रकारका सस्ता र महंगा दुबै खाले मोबाइलमा यो सुविधा उपलब्ध गराएका छौं ।

एस्सुरेन्स सेवा लिने तरिका के हो ?
तपाईंको नजिकको मोबाइल पसलमै यो सुविधा उपलब्ध हुन्छ । अर्थात् हाम्रो सेवा लिनका लागि मोबाइल पसलले नै बिमााको एजेन्ट जसरी तपाईंलाई सहयोग गर्नुहुनेछ । एउटै सर्त भनेको तपाईंले किन्ने मोबाइल सरकारले तोके अनुसारको भ्याट तिरेर आधिकारिक रुपमा खरिद गरिएको हुनुपर्नेछ । बिना बिलको र चोरबाटोबाट आउने मोबाइलमा यो सुविधा उपलब्ध छैन । किनिसकेपछि वारेन्टीसहितको एस्सुरेन्स कार्ड लिने र हाम्रो मोबाइल एपमा उपभोक्तालाई आफ्नो विवरण भर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंको मोबाइलको जिम्मेबारी हाम्रो हुन्छ । कम्तिमा एक वर्षसम्म तपाईंको मोबाइलमा क्षति भएको अवस्थामा कम्तिमा ६० प्रतिशत र बढीमा सत प्रतिशतसम्म क्षति हामीले व्यहोर्नेछौं । ग्राहकले आवश्यकता अनुसार सेवा थप्न सक्नुहुनेछ । सर्त अनुसारका कागजात पु-याइ उपभोक्ताले दाबी गरेको सात दिनभित्रै क्षतिपूर्तिको सुविधा हामीले उपलब्ध गराउछौं । मैले माथि पनि भने की हामीसँग मोबाइलमा अनुभवी व्यक्तिहरुको समूह छ, हामीले वास्तविक पीडामा परेका ग्राहकलाई सन्तुष्ट पारेरै अगाडि बढ्छौं ।

नेपालमा नयाँ भए पनि यो सुविधा तपाईंको कम्पनी बाहेक अन्यत्र पनि छ । ग्राहक तपाईंकोमै किन आउनु ?
हो यो नेपालमा नयाँ नै हो । विश्वमा यस्तो सुविधा वर्षौदेखि चलिरहेको छ । यसको अभ्यास यसअघि स्क्रीन फुटेमा रिप्लेस गर्ने, वारेन्टी समय बढाउने जस्ता सुविधाबाट केही समय अघिदेखि गरिएको हो । यो सुुविधाको सुरुवात हाम्रो कम्पनीले नै गरेको हो । उपभोक्तालाई जताबाट एस्सुरेन्स गर्न पनि छुट छ, उहाँहरुको रोजाइलाई नै हामीले सम्मान गर्ने हो । जहाँबाट गरे पनि एस्सुरेन्स सुविधा लिनु उपभोक्तालाई फाइदाकै कुरो भएकाले सकेसम्म लिनुहोस् भन्न चाहन्छु । जहाँसम्म हाम्रो कम्पनीबाट नै किन भन्ने प्रश्न छ, हामीले मोबाइलले दिने एक वर्षे वारेन्टीमा एक वर्ष हाम्रो तर्फबाट थपेर दुई वर्षे बनाएका छौं । आगलागीमा परेको मोबाइलको पनि क्षतिपूर्ति दिने व्यवस्था र एस्सुरेन्स सुविधा लिइएका ग्राहकको समेत एक लाख बराबरको बीमा हामीले उपलब्ध गराएका छौं । अन्यले के कस्तो सुविधा दिएका छन् भन्ने हेर्ने र छान्ने जिम्मा ग्राहकहरुलाई नै छ । यति भन्न चाहन्छु की पहिले हामीसँग जोडिनुहोस्, तपाईंको सन्तुष्टि नै हाम्रो धर्म हो ।

प्रतिक्रिया दिनुहोस्