फर्नेक्स-२०१८ सय बढी स्टल «

फर्नेक्स-२०१८ सय बढी स्टल

काठमाडौं-राजधानीको भृकुटीमण्डपमा छैटौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको छ । जेम फ्लोरिङको प्रस्तुति तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना सुरु भएको एक्स्पोको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गरे ।
एक्स्पो उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले फर्निचरजन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे पनि राज्यबाट सहयोग नपाएकोतर्फ ध्यानाकर्षण गराएका थिए । नेपाल फर्निचर तथा फर्निसिँग व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गइरहेको कच्चापदार्थको सदुपयोग गर्न आफूहरूलाई बाटो खोलिदन आग्रह गरेका थिए ।
एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष राजेशकुमार अग्रवालले स्वदेशी उत्पादनको प्रयोग गर्न आम उपभोक्तालाई अपिल गर्दै आफूहरू अन्तर्राष्ट्रियस्तरको उत्पादन तयार गर्न सक्ने बताए । राज्यको असहयोगकका कारण यो क्षेत्रको अपेक्षित विकास हुन नसकेको उनको भनाइ थियो । ५ दिनसम्म चल्ने एक्स्पोमा ख्यातिप्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्रान्डका फर्निचरहरूको बृहत् प्रदर्शनी हुनेछ ।
एक्स्पोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरूलाई लक्की ड्र मार्फत आर्कषक उपहारसमेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इन्टेरियर डिजाइनसम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आकर्षण हुने आयोजकले जानकारी गराएको छ ।
फर्नेक्स–२०१८ को टाइटल स्पोन्सर जेम फ्लोरिङ छ । एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर, यती फ्लोरिङ, ग्लेनर डिलाइट छन् । एक्स्पोको छैटौं संस्करण को व्यवस्थापक इभेन्ट सोलुसन प्रालि रहेको छ भने यो एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफकमर्श र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् ।
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहनेछन् । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षणका रूपमा छन् ।
असोज ४ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टलमा फर्निचरजन्य उत्पादन छन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रूपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्