क्षमताभन्दा बढी ठेक्का लिनेलाई नछाड्ने प्रधानमन्त्रीको प्रतिबद्धता «

क्षमताभन्दा बढी ठेक्का लिनेलाई नछाड्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणका काममा भएको ढिलाइको औचित्य पुष्टि भए ठेक्काको म्याद थप्न सरकार तयार रहेको बताएका छन् । उनले क्षमताभन्दा बढी ठेक्का लिएर आयोजना अलपत्र पार्नेलाई भने नछाड्ने दृढता जनाए । व्यवसायीहरूको मागबमोजिम भूकम्प तथा नाकाबन्दीका कारण सम्पन्न हुन नसकेको परियोजनाहरूको म्याद थप्न सरकार अझै तयार रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरूसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको जानकारी दिए । ओलीले मुलुक निर्माणको अभिभारा निर्माण व्यवसायीको काँधमा आएको पनि बताए । “व्यवसायीहरूका जायज मागका विषयमा छलफल गर्न सरकार जहिले पनि तयार छ,” ओलीले भने ।
निर्माणबाट समृद्धि भन्ने नारा सहित बिहीबारदेखि राजधानीमा साधारणसभा शुरु भएको हो । व्यवसायीहरूलाई मर्का पर्ने ऐन कानुनसमेत संशोधनका लागि सरकार तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत हितभन्दा राष्ट्रको हितका लागि बढी ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरे । सबै क्षेत्रबाट योजनाबद्ध ढंगले विकास निर्माणका कार्य अघि बढाउनु आजको आवश्यकता हो भन्दै प्रधानमन्त्री ओलीले अनुचित ढंगको लाभ नलिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराए । “अब निर्माण क्षेत्रमा रहेको म्याच फिक्सिङ, सिन्डिकेट तथा कार्टेलिङ सबै अन्त्य गरिनेछ,” ओलीले भने, “व्यवसायीहरूलाई सरकारको मात्र नभएर सिंगो संसद्को साथ रहेको विश्वास दिलाउन चाहन्छु ।”
कार्यक्रममा महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले व्यवसायी मैत्री ऐन कानुनको अभावमा व्यवसायीहरूले गुणस्तरीय काम गर्न नसकेको बताए । पूर्वमन्त्री विक्रम पाण्डेले गुणस्तरीय काम नहुनुमा व्यवसायीको मात्र दोष नरहेको स्पष्ट पारे ।
पूर्वमन्त्री बालकृष्ण खाँडले निर्माण व्यवसायीहरूको योगदानबिना समृद्ध राष्ट्रको परिकल्पना बेकार रहेको तर्क गरे भने महासंघका पूर्वअध्यक्ष तथा सांसद जीपछिरिङ लामा शेर्पाले कठिन अवस्थामा पनि नेपाली व्यवसायीहरूले उत्कृष्ट काम गरिरहेको दाबी गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष लक्ष्मणकुमार राना र महासचिव रामशरण देउजाले व्यवसायीका समस्या र समाधानका बारेमा चर्चा गरे । सोही अवसरमा प्रधानमन्त्री ओलीले महासंघको वार्षिक स्मारिका निर्माण विशेषांक र महासंघका पूर्वउपाध्यक्ष केशवप्रसाद गौतमद्वारा लिखित पुस्तक नेपालमा निर्माण व्यवसायको विमोचन गरे । साथै प्रधानमन्त्री ओलीले अग्रज निर्माण व्यवसायी कृष्णभक्त मानन्धरसहित निर्माण क्षेत्रमा योगदान दिने कम्पनीका प्रतिनिधिहरूलाई सम्मान गरेका थिए । शुक्रबारबाट सुरु हुने निर्वाचन प्रक्रियामार्फत आगामी तीन वर्षका लागि महासंघको नयाँ नेतृत्व चयन हुनेछ । निर्वाचनमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ प्रदेश उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, महासचिव सहित पदाधिकारी र सदस्यहरू गरी ५४ पदका लागि निर्वाचन हुने महासंघका प्रवक्ता विष्णु बुढाथोकीले जानकारी दिए ।
महासंघको विधानअनुसार पाँच सदस्य भने पछि अध्यक्षद्वारा मनोनयन गरिने बताइएको छ । साधारण सभामाप्रतिनिधि तथा पर्यवेक्षक गरी देशभरका २५ सय भन्दा बढी निर्माण व्यवसायीहरूको सहभागिता रहेको छ ।
फोटो छ

गौतम महासचिवको उम्मेदवार
नेपाल निर्माण व्यवसायी महासंघको महासचिव पदमा दीपक गौतमले उम्मेदवारी घोषणा गरेका छन् । इलाम जिल्लामा जन्मेका गौतम गजुरमुखी निर्माण कम्पनीका प्रमुख हुन भने हाल नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रीय कार्यसमितिमा सदस्यको जिम्मेवारीमा छन् । निर्माण व्यवसायको विकासलाई मुलुकको आर्थिक समृद्धिको पहिलो आधार मान्ने गौतम संगठनात्मक र कार्यक्षेत्रको आधारमा आफू अनुभवि रहेको दाबी उनको छ । निर्माण व्यवसायको क्षेत्रमा बृहत् अन्तक्रियाको माध्यमबाट समस्या समाधान गर्न सकिन्छ भन्ने वकालत समेत गर्दै आएकोले आफूले विजय पाउने उनी बताउँछन् । संगठनात्मक संरचनामा काम गर्न क्षमता देखाएका गौतम प्रष्ट वक्ताका रूपमा पनि चिनिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्