Logo

चालकले सवारी र ढुवानी ठप्प बनाएपछि

बारा-आफ्ना मागहरू राखेर चालकहरूले चाडबाडकै बेला सवारी र ढुवानी ठप्प बनाएपछि मध्यतराई नराम्ररी प्रभावित बन्न पुगेको छ । सवारी साधनका चालकहरूले आफूहरूलाई अपराधी बनाउने ऐन सच्याउन माग राख्दै आन्दोलन सुरु गरेपछि मध्यतराईका सबै क्षेत्र नराम्ररी प्रभावित बन्न पुगेको हो ।
चालकलाई अपराधी सरह व्यवहार गरिएको ऐन संशोधनको माग राख्दै नेपाल स्वतन्त्र सवारी चालक संर्घष समितिले चालकलाई यातायात नचलाउन आग्रह गर्दै मंगलबारदेखि आन्दोलनको घोषणा गरेर यातायात ठप्प पारेका छन् ।
चाडबाड नजिकिँदै गैरहेको बेला बन्दको ठूलो असर व्यापारिक क्षेत्रमा पर्ने निश्चित बनेको छ । चाडबाडकै बेला बढी खपत हुने वस्तुले बजारसम्म जाने अवसर बन्दले छेकेको छ । खाद्यान्न, लताकपडालगायतका सबै चिज ढुवानी भई जाने हुँदा यातायात ठप्प बन्दा ढुवानी हुन सकेको छैन ।
हामीले जान्छु, हिँड्छु भन्नेलाई रोकेको छैन समितिका केन्द्रीय संयोजक बसन्त शर्माले भने, “सबै चालकले बुझेका छन् त्यसैले कोहिले सबारी चलाउन चाहेनन् । मंगलबारदेखि बन्द भएका कारण मध्यतराईमा यातायात ठप्प हुँदा औद्योगिक क्षेत्र नराम्ररी प्रभावित बन्न पुगेको छ, कलकारखना, कृषि, भन्सार तथा तेस्रो मुलुकको आयात निर्यात ठप्प बनेको छ । कच्चा पदार्थको आयात र उत्पादित वस्तुको ढुबानीसमेत बन्द हुन पुगेको छ ।
उद्योगहरूले बिक्री गरेको उत्पादन बिक्री हुन छाडेको छ । एक उद्योगका प्रबन्धक भन्छन्, “चाडबाडको मुखमा बिक्री भएको समान बजार पठाउन पाइएको छैन, मालबाहक सवारीनै बजारमा पाइँदैन उत्पादित वस्तु सबै उद्योगमै थन्क्याइएको छ ।”
विगत तीन दिनदेखि केरा, माछा, तरकारीजस्ता कृषि उत्पादनले ढुवानी गर्ने सवारी भेटेको छैन । वीरगंज क्षेत्रबाट मात्रै दैनिक देशभर करिब १५ सय मालबाहक सवारी साधन लोड भई देशका बिभिन्न सहरहरूमा जाने गर्छ ।
बन्दका कारण तीन दिनदेखि पेटोलियम पदार्थ भित्रिन सकेको छैन पेट्रोल बोकेका र अन्य र अन्य गरी १ हजार बढी गाडी नेपाली भन्सारमा रोकिएर बसेको छ । सरकारले बन्दकर्ताहरूलाई वार्तामा बोलाएर छलफलको माध्यमबाट सामधान निकाल्न उद्योग वाणिज्य संघ बाराले अनुरोध गरेको छ ।
बन्दकै कारण सयांै यात्रुहरू अलपत्रमा पर्न थालेका छन्, लामो गन्तव्यमा आएका यात्रुहरूले सवारी नभेटेपछि बाटोमै बिचल्लीमा परेको स्थानीयहरू बताउँछन । बन्द अनिश्चित बनेपछि आफूसँग भएको पैसासमेत अभाव हुने बुटबल बाट आएका पथलैया भेटिएका कृष्ण लामाले भने, “बिर्तामोड भोलि जसरी पनि पुग्नु छ उपाए केही देखिँदैन ।”
सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै संघर्षमा उत्रिएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले सवारी चलाउने चालकहरूलाई मंगलबारबाट सवारी नचलाउन आग्रह गर्दै आन्दोलनको घोषणा गरेको थियो, घोषणा लगत्तै सबै मजदुरहरूले आफनो सवारीको चाबी सम्बन्धित सबारी धनीलाई बुझाउँदै यातायात ठप्प पारेका थिए ।
चालकले सवारी साधन नचलाएर आन्दोलनमा उत्रिएपछि राजमार्ग तीन दिनदेखि सुनशान देखिएको छ । राजमार्गमा एम्बुलेन्स, प्रेस र मोटरसाइकलबाहेक अन्य सवारी साधन चलेका छैनन् । सरकारलाई दबाब दिनका लागि आफ्नो सवारी साधन घरमै राखेर आन्दोलन गरिएको र चालकलाई अपराधी बनाउने ऐन सच्याउन आफूले माग राखेको समितिका केन्द्रीय संयोजक बसन्त शर्माले जानकारी दिए ।
सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन, २०४९ लाई संशोधन गरी व्यवस्थाविरुद्ध स्वतन्त्र चालक संघर्ष समितिको आह्वानमा चालकहरू अनिश्चितकालीन बन्दमा उत्रिएका छन् । ऐनको दफा १६१ को उपदफा १ मा ज्यान मार्ने मनसाय लिई दुर्घटना भएको प्रमाणित भएमा चालकलाई जन्मकैद हुने व्यवस्था छ । चालकहरूले सो प्रावधान हटाउनुपर्ने माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्