जोखिम कम गर्न मोबाइल बिमा «

जोखिम कम गर्न मोबाइल बिमा

बिमा शब्द सुन्दै लाग्छ कि आफू मरेपछि आफ्ना उत्तराधिकारीका लागि गरिने महत्वपूर्ण काम । नेपालमा बिमाको सुरुवातका चरणमा आफ्नो शेषपछि सन्ततिका लागि सुविधा होस् भनेर गरिने लगानीका रुपमा प्रचारित गरिएकाले पनि बिमाप्रतिको पुरानो धारणा अझै मान्छेले बिर्सन सकेका छैनन् । तर, अभ्यासमा भने नेपाल पनि निकै अगाडि पुगिसकेको छ ।
बिमाको मर्म नै जोखिम बहन गर्ने भन्ने हो । त्यसैले पुरानो अवधारणा पूरै गलत भन्ने पनि होइन । त्यसैले बिमालाई कमाइको बचत, करबाट बचत र आवश्यक पर्दा ऋण पनि लिन सक्नेगरी गर्न सकिने गरी लिइने जोखिम बहन गर्ने सुविधाका रुपमा बुझ्ने क्रम जारी छ । मान्छे, गाडी, खेतिपाती, घर, मेसिन आदि धेरै वस्तुमा बिमाको सुविधा छ नेपालमै ।
बिमाको सुविधाहरूको सूचीमा नेपालमा नयाँ सुविधा थपिएको छ, मोबाइल बिमा । र, यो सुविधाको औपचारिक सुरुवात यसै साता मात्र गरिएको छ । नेपालमा मोबाइल बिमाको सुविधा उपलब्ध गराउनेमा तत्काललाई दुई बिमा कम्पनी र दुई एस्सोरेन्स कम्पनी देखिएका छन् । अर्थात् उपभोक्ताले मोबाइलको बिमा सुविधा लागू भएसँगै छनोटको सुविधा पनि पाएका छन् अर्थात् दुई मध्ये एक कम्पनीबाट बिमा गर्न पाउने छन् ।
सेवा उपलब्ध गराउने कम्पनीहरूको नाम भन्दा पहिले उपभोक्ताहरूमाझ देखिएको मोबाइल बिमाकै बारेको अलमल हटाउनु आवश्यक देखिन्छ । बिमालाई अंग्रेजीमा इन्सोरेन्स भनिन्छ । तर, मोबाइल बिमाको विषयलाई लिएर आएका समाचारमा एस्सुरेन्सको कुरा पनि छ । खासमा मोबाइल सर्भिस दिने कम्पनीहरूले बिमा कम्पनीसँग सम्झौता गरी सो सुविधालाई उपभोक्तासम्म पु¥याइने भएकाले मोबाइलमा उपलब्ध सुविधालाइ एस्सुरेन्स बुझ्न सकिन्छ ।
जसरी बिमा कम्पनीहरूले एजेन्टमार्फत् बिमा गर्छन्, त्यसैगरी मोबाइल सेवा दिने कम्पनीहरूले बिमा सुविधा ग्राहकसम्म पु-याउने अवस्थालाई एस्सोरेन्सका रुपमा बुझिन्छ । मोबाइल उपभोक्तालाई ढुक्क होस् भनेर एस्सुरेन्स सुविधा उपलब्ध गराउने कम्पनीले बिमा कम्पनीसँग सम्झौता गरेर मात्र औपचारिक रुपमा एस्सुरेन्स सेवा सार्वजनिक गरिएका छन् ।
तपाईंले यो दशैंमा मोबाइल किन्ने योजना छ भने नेपालमा उपलब्ध मोबाइल एस्सुरेन्स अर्थात् मोबाइल विमाको सुविधासमेत लिएर मोबाइल किन्न सक्नुहुनेछ । तपाईंको मोबाइलको स्क्रीन असाबधानीवश फुट्यो भने रिप्लेस हुन सक्छ तर यसको लागि एस्सुरेन्स सुविधा लिएर मोबाइल किनेको भने हुनुपर्छ । अब नेपालमा किन्न पाइने सबैखाले मोबाइलहरूमा बिमा सुविधा उपलब्ध भएको छ ।
घरबाटै मोबाइल चोरी भयो वा खसेर स्क्रीन फुट्यो वा पानीमा झरेर नचल्ने भयो वा आगलागीमै प-यो भने पनि तपाईंले क्षतिपूर्ति पाउनुहुनेछ । यो सुविधा हाललाई एक वर्षसम्म मात्रका लागि कम्पनीहरूले लागू गरेका छन् । विस्तारै उपभोक्ताको रुचीअनुसार बिमाको समय थप्दै जाने योजनामा कम्पनीहरू छन् ।
मोबाइल बिमामा हाललाई दुई वटा बिमा कम्पनीहरू देखिएका छन्, अजोड इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स लिमिटेड । संयोग त यो छ की दुवै एस्सोरेन्स कम्पनीले एकै दिन सेवाको सुरुवात गरेका छन् । मोबाइल एस्योरेन्स सुविधाका लागि गत आइतबार मात्र इन्स्योरेन्स कम्पनीहरूसँग सम्झौता गरका हुन् । दशैंको मुखैमा दुबै कम्पनीले मोबाइल सुरक्षाको प्रतिवद्धतासहित सेवा सुरु गरेका छन् । ईजी एस्योरेन्स प्रालिका अध्यक्ष संजित पौडेल र अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीबीच तथा सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बिमा सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै दुई बिमा कम्पनीले मोबाइल एस्सोरेन्स सेवा उपलब्ध गराउने कम्पनीलाई साथ दिएर मोबाइल बिमा प्रवद्र्धनमा हात अगाडि बढाएका छन् ।
दुबै एस्सोरेन्स कम्पनीका आआफ्नै योजना रहेका छन् । मोबाइल सुरक्षा पहिलो सर्त रहे पनि कम्पनीका योजना भने आआफ्ना प्रकारका छन् । मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बिमा प्रिमियर इन्स्योरेन्समा हुने कम्पनीले जनाएको छ । “‘मेरो सुरक्षासँगको सहकार्यले मोबाइल प्रयोगकर्ताले सहज रुपमा आफ्नो मोबाइलको बिमा गराउन सक्ने विश्वास हामीले लिएका छौं,” प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले सम्झौता सार्वजनिक गर्दै भने ।
कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षति पुगेर मोबाइल नचल्ने भएमा वा हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारले बताएका छन् । मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी मोबाइलको बिमा गराउन सक्ने जानकारी उनले दिए । सेवाको सुरुवातकै दिन कम्पनीले नेपाली चलचित्रका महानायक राजेश हमाललाई मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । दशै तिहारको अवसरमा मोबाइल खरिद गर्ने ग्राहकका लागि एक लाखसम्मको दुर्घटना बिमा लगाएत सुविधा मेरो सुरक्षाको छ ।
अर्को एस्सोरेन्स कम्पनी इजी एस्सोरेन्सले पनि मोबाइल चोरी भएमा, स्क्रीन फुटेमा, आगलागीमा परेमा, बिग्रेमा लगाएतका अवस्थामा क्षतिपूर्ति उपलब्ध गराउने सुविधा ल्याएको छ । कम्पनीले कुनै पनि मोबाइल खरिदकर्तालाई मोबाइल तथा सफ्टवेयरमा मोेबाइल कम्पनीले दिने भन्दा थप १ वर्षको अतिरिक्त वारेन्टी प्रदान गर्ने ईजी एस्योरेन्स प्रालिका अध्यक्ष संजित पौडेलले बताए । “यो सेवा उपयोग गर्न चाहने मोबाइल ग्राहकहरूले मोबाइल खरिद गरेको सात दिन भित्र मोबाइल किनेको पसलबाट वा अन्य कुनै मोबाइल पसलबाट सेवा लिन सक्नेछन् भने सात दिनपछि हाम्रो आधिकारिक सर्भिस सेन्टरबाट सेवा लिन सकिनेछ,” उनले भने । कम्पनीसँग आबद्ध ईजी मोबाइल केयर प्रालिले यसअघि पनि स्मार्टफोनहरूको डिस्प्ले-स्क्रीन फुटे बापत फुटेको डिस्प्ले निःशुल्क रुपमा फेरिदिने योजना संचालनमा ल्याइसकेको छ ।
यी दुई कम्पनीसँग मोबाइल बिमा अर्थात् एस्सोरेन्स सुविधा उपलब्ध गराउनेहरूमा ईजी एस्योरेन्स प्रालि र मेरो सुरक्षा प्रालि रहेका छन् । इजीले अजोड र मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँग सम्झौता गरेका छन् । दुबैको उद्देश्य भने एउटै हो, मोबाइल एस्योरेन्स । कम्पनीहरू अनुसार सुविधामा केही धेर थोर भने हुन सक्छ । भारत लगाएत विश्वका विकसित मुलुकमा यसअधि प्रयाप्त अभ्यास भइसकेको मोबाइल बिमाको सुविधा नेपालमा ढिलै भए पनि सुरु भएको हो । आधिकारिक रुपमा भ्याट विल लिएर, बिमा सुविधा लिएर मोबाइल किन्नुभयो भने तपाइको जोखिम कम हुनेछ । जुन कम्पनीबाट सुविधा लिए पनि पहिले मसिनोगरी सेवा, सर्त र सुविधाहरू बुझेर मात्र सेवा लिनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्