चालकले ढुवानी नगर्दा इन्धन अभाव «

चालकले ढुवानी नगर्दा इन्धन अभाव

पर्याप्त मौज्दात भएकाले नआत्तिन निगमको आग्रह

उपत्यकाका कतिपय पेट्रोल पम्पमा इन्धन रित्तिएपछि बन्द भएका छन् भने खुुलेका पम्पमा पनि उपभोक्ताको लामो लाम छ

उपत्यकाका पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ताको लाम लाग्न थालेको छ । केही दिनयता ट्यांकर चालकले इन्धन ढुवानी नगर्दा बजारमा अभाव भएपछि उपभोक्ताले इन्धन भर्न लाम बस्नुपरेको हो ।
यही असोज २ गतेदेखि ट्यांकर चालकले इन्धनको ढुवानी नगरेपछि बजारमा अभाव हुन थालेको हो । उपत्यकाका कतिपय पेट्रोलपम्पमा इन्धन रित्तिएपछि बन्द भएका छन् भने खुुलेका पम्पमा पनि उपभोक्ताको लामो लाम छ । अत्यावश्यक वस्तुका रूपमा रहेको इन्धन ढुवानी नहुँदा बजारमा अभाव हुन थालेको हो ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले ट्यांकर चालकले इन्धन ढुवानी नगर्दा बजारमा सामान्य समस्या देखिएको बताए । “निगमसँग पर्याप्त मौज्दात रहेकाले आत्तिहाल्नुपर्ने अवस्था छैन,” उनले भने, “जतिसक्दो चाँडो समस्या समाधान गरेर ढुवानी नियमित हुन्छ ।” उनले चालकले उठाएका सबै मागप्रति निगम सकारात्मक भएर लिखित सहमति गरे पनि अर्काको उक्साहटमा लागेर ढुवानी नगर्ने ट्यांकरको चाबी खोस्ने चेतावनी दिए । “चालकलाई सबै सेवा सुविधा उपलब्ध गराउन लिखित सहमति भएको छ,” उनले भने, “अर्काेको उक्साहटमा लागेर ढुवानी नगर्ने ट्यांकरको ढुवानी इजाजतपत्रसँगै चाबी खोसिन्छ ।” निगमअन्तर्गतका चालकलाई पर्याप्त सुविधा दिइएको उनले बताए । “चलाउन नसके चावी निगममा बुझाउनुस् अर्काे विकल्प खोज्छौं,” उनले भने । इन्धन ढुवानी गर्नका लागि विकल्पको रूपमा चालकसमेत व्यवस्था गरिएको उनले जानकारी दिए । इन्धन ढुवानीमा अवरोध गर्ने चालकलाई विनियमावली अनुसार कारबाही गर्ने चेतावनी उनले दिए ।
सामान्य अवस्थामा उपत्यकामा दैनिक चार सयदेखि पाँच सय किलोलिटर पेट्रोल र सात सय किलोलिटर डिजेल खपत हुने गर्छ । निगमले बिहीबार थानकोट डिपोबाट दोव्बर परिणाममा इन्धनको वितरण गरेको जनाएको छ ।
निगमले अशोक साहको संयोजकत्वमा गठित एक समिति ढुवानीमा देखिएको अवरोध हटाउन रक्सौल पठाएको छ । रक्सौल नाकामा इन्धनको ढुवानी ठप्प रहेको छ । सो नाकाबाट ७० प्रतिशत इन्धन आयात हुने गर्छ ।
निगमका अनुसार चालकले इन्धनको आपूर्ति व्यवस्थामा प्रतिकुल प्रभाव पर्ने गरी प्रोडक्ट डेलिभर अडर (पीडीओ) नलिने, भारतीय आयल कर्पोरेसन (आइओसी)मा लोड लिन नजाने, डिपोमा लोड लिएर नआउने, बिक्री वितरणमा सहयोग नगर्ने कार्य गरे कडा कारबाही गरिने उनले बताए । मुलुकी (संहिता) ऐन २०७४ मा लापरबाहीले सवारी चलाएर यात्रुको ज्यान गएमा ३ देखि १० वर्षसम्म कैदको व्यवस्था गरिएको छ । सो व्यवस्थाको विरोधमा चालक विरोधमा उत्रिएका हुन् ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले तीन दिनदेखि रक्सौलबाट इन्धन ढुवानी ठप्प भएको बताए । “चालकले हामीसँग कुनै माग पनि राखेका छैनन्,” उनले भने, “कुनै माग भए वार्ताबाट समाधान गर्न सकिन्छ ।” विनाकारण चालकले इन्धन ढुवानी नगर्दा बजारमा अभाव हुन थालेको उनको भनाइ छ । चालकले ट्यांकर नचलाउनुको स्पष्ट जवाफ नदिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्