नयाँ वर्षमा ठमेल र दरबारमार्ग २४ सै घन्टा खुल्ने

गृह मन्त्रालयले राजधानीका प्रमुख व्यापारिक केन्द्र ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन गर्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीका मुख्य पर्यटकीयस्थल ठमेल तथा दरबारमार्गको रात्रि व्यवसायबिना रोकतोक सञ्चालन गर्न अनुमति दिएको हो ।स्थानीय प्रशासन, प्रहरी, होटल रेस्टुराँ तथा पर्यटन व्यवसायीबीचको छलफलपछि यी क्षेत्रको रात्रि व्यवसायमा लाग्दै आएको समयसीमा हटाइएको हो । निश्चित शर्त र मापदण्ड पूरा गर्ने होटल-रेस्टुराँ तथा दोहोरी क्लबहरुलाई नयाँ वर्षपछि पनि सञ्चालन अनुमति दिने तयारी भएको गृह मन्त्रालयले जनाएको छ ।
महानगरीय प्रहरी प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले अंग्रेजी नयाँ वर्षका दिन काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पर्यटकीय व्यापारिक केन्द्र आसपासको रात्रि व्यवसाय सञ्चालनका लागि अनुमति दिएको बताए । “नयाँ वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखेर ठमेल र दरबारमार्गको रात्रि व्यवसाय सञ्चालन गर्न शान्तिसुरक्षा प्रबन्ध मिलाउन उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयबाट निर्देशन आएको छ ।” महानगरीय प्रहरी प्रवक्ता जोशीले भने । ठमेल र दरबारमार्गबाहेक पर्यटकको चाप र मागलाई हेरेर अन्य स्थानको व्यवसाय सञ्चालनमा पनि केही नरम नीति लिइएको उनले बताए । यद्यपि अन्य स्थानमा भने राती ११ बजेपछिको सीमा यथावत रहेको प्रवक्ता जोशीको भनाइ छ ।
नयाँ वर्षलगायत चाडपर्व मनाउने नाममा ठमेल÷दरबारमार्गलगायत उपत्यकाका विभिन्न स्थानमा होटल-रेस्टुराँमै लागूपदार्थ बिक्रीवितरण, यौनधन्दा सञ्चालन, होहल्ला, हुलहुज्जत, गुन्डागर्दीजस्ता अपराधजन्य गतिविधि हुँदै आएका छन् । यस्ता अपराध नियनत्रणमा प्रहरी सक्रिय रहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । रात्रि व्यवसाय सञ्चालनका नाममा अपराध तथा विकृति÷विसंगती बढेको भन्दै गृह मन्त्रालयले २०६५ असोजदेखि राती ११ बजेपछि होटल-रेस्टुराँ तथा डान्स-बार सञ्चालनमा रोक लगाएको थियो । १० बजेसम्मको रात्रि व्यवसाय सञ्चालन सीमापछि उपत्यकामा पहुँच, प्रभाव र भनसुनका आधारमा मात्रै केही होटल-रेस्टुराँ तथा डान्स क्लवहरु निर्वाध रुपमा सञ्चालनमा रहे पनि अधिकांश व्यवसाय त्यसको मारमा पर्दै आएको व्यवसायीहरु बताउँछन् । एसएसपी जोशीले खानेपानी, विद्युत्, सडक, सीसी क्यामेरा जडान, आन्तरिक सुरक्षा (निजी सुरक्षा गार्ड) प्रत्याभूति तथा सामाजिक विकृति र अपराधरहित व्यवसाय सञ्चालनसम्बन्धी विस्तृत प्रावधान लागू भएपछि उपत्यकाको रात्रिकालिन व्यवसायसम्बन्धी सीमा हट्ने स्पष्ट पारे ।
२०६८ मंसिरबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सबारी चलाउन प्रतिबन्ध लगाएपछि रात्रि व्यवसायका लागि प्रमुख आम्दानीको स्रोत मानिएको मदिरा बिक्रीमा समेत उच्च गिरावट आएको थियो । विशेषगरी ठमेल, दरवारमार्ग, सोह्रखुट्टे, सुन्धारा, पाटन तथा भक्तपुरका पर्यटकीय क्षेत्र आसपास रात्रिव्यवसायका लागि अनुकुल क्षेत्र मानिन्छ । यसबाहेक क्यासिनो तथा रोधीघर विदेशी पर्यटकहरुका लागि मनोरञ्जन गर्ने प्रभावकारी माध्यम हुन् ।
नयाँवर्षको अवसर पारेर रात्रिव्यवसाय २४ सै घन्टा सञ्चालन अनुमति दिएसँगै महानगरीय प्रहरीले उपत्यका स्थित प्रमुख व्यापारिक तथा पर्यटकीय स्थल केन्द्रीत विशेष सुरक्षा योजना लागू गरेको छ । रात्रिव्यवसाय सञ्चालन तथा न्यू इयर इभ विशेष सुरक्षा योजना तयार पारेर महानगरीय प्रहरी कार्यालयले आन्तरिक तथा बाह्य पर्यटक आवागमन हुने स्थल, होटल÷रेस्टुराँ, रोधी घर, खुल्ला चौर लगायत स्थानमा सुरक्षा सतर्कता बढाएको छ ।
सामान्य अवस्थामा पनि राजधानीको रात्रिकालिन व्यवसाय सञ्चालन गर्नेबारे आन्तरिक छलफल भइरहेको र सरकारले तोकेका मापदण्ड पूरा गरेपछि स्वीकृति प्रदान गरिने प्रहरीले जनाएको छ । २०६५ सालपछि सरकारले राती ११ बजेपछि होटल÷रेस्टुराँ, डान्स-डिस्को लगायत रात्रिव्यवसाय सञ्चालनमा रोक लगाएको छ ।