अझै वडा वडामा स्वास्थ्य सेवा पुगेन «

अझै वडा वडामा स्वास्थ्य सेवा पुगेन

दाङ-घोराही उपमहानगरपालिका कार्यालयका सबै वडामा स्वास्थ्य सेवा पुग्न सकेको छैन । घोराही उपमहानगरपालिका दुई वडामा अझै स्वास्थ्य सेवा पुग्न सकेको छैन । उपमहानगरपालिकाका १९ वटा वडामध्ये १७ वटा वडामा स्वास्थ्य सेवा पुगे पनि वडा नं. १ र ३ मा अझै स्वास्थ्य सेवा पुग्न सकेको छैन ।
यातायात सेवा सहज भए पनि त्यहाँ सहरी क्लिनिकसमेत स्थापना हुन सकेको छैन । वडामा स्वास्थ्य उपचार केन्द्र नहुँदा वडावासी सामान्य बिरामी हुँदासमेत छिमेकी वडा तथा घोराहीको उपक्षेत्रीय अस्पताल धाउन बाध्य रहेका छन् । संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा परिभाषित गरे पनि वडावासीले भने अहिलेसम्म वडामा स्वास्थ्य सेवा प्राप्त गर्न सकेका छैन । निर्वाचनको क्रममा वडामै स्वास्थ्य सेवा ल्याउने प्रतिबद्धता जनाएका जनप्रतिनिधिले निर्वाचन भएको एक वर्ष बढी समय हुँदासमेत वडामा स्वास्थ्य सेवा पुराउन नसकेको स्थानीयको गुनासो छ ।
तर घोराही उपमहानगरपालिका–३ का वडाध्यक्ष माधव चौधरीले वडामा स्वास्थ्य सेवा समस्या रहे पनि आफुले समस्या समाधान गर्न नसकेको बताए । वडामा सहरी स्वास्थ्य क्लिनिकसमेत नहुँदा अहिले सामान्य बिरामी हुँदा वडावासीहरू कि त गोग्ली कि त घोराही जानुपर्ने बाध्यता छ । “वडामा स्वास्थ्य प्रमुख समस्याको विषय रहेको छ, यो समस्या समाधानका लागि मैले उपमहानगरपालिका कुरा उठाएको छु,” वडाध्यक्ष चौधरीले भने, “उपमहानगरपालिकाको बैठकमा राख्ने निर्णय भए पनि अझै हुन सकेको छैन ।” तत्कालका लागि सहरी स्वास्थ्य क्लिनिक राख्नका लागि झिङ्नीमा भवनका लागि समेत कुरा गरिएको वडाध्यक्ष चौधरीले बताए ।

आठवटा वडामा स्वास्थ्य चौकी
घोराही उपमहानगरपालिकाका ८ वटा वडामा मात्रै स्वास्थ्य चौकी रहेका छन् । घोराही उपमहानगरपालिका हुनु पूर्व गाविस तथा नगरपालिका रहेको स्थानमा मात्र स्वास्थ्यचौकी रहेका छन् । जसमध्ये हाल उपमहानगरपालिकाका वडा नं. २ को रामपुर, वडा नं. ४ को लक्ष्मीपुर, ५ को वसन्तापुर, ७ को सौंडियार, ८ को ढिकपुर, १० को नारायणपुर, १२ को हापुर र १९ को सैघामा स्वास्थ्यचौकी रहेको घोराही उपमहानगरपालिका स्वास्थ्य विभाग प्रमुख नारायण घर्तीले जानकारी दिए । स्वास्थ्यचौकीमा सरकारले निःशुल्क प्रदान गरेका ३५ प्रकारका औषधिसँगै एकजना हेल्थ असिस्टेन्ट, दुई जना नर्स, १ जना अनमीलगायत कार्यालय सहयोगीको दरबन्दी रहेको घर्तीले बताए । भौतिक पूर्वाधारका रूपमा लक्ष्मीपुर स्वास्थ्यचौकी सुविधा सम्पन्न रहे पनि अन्य स्वास्थ्य चौकीको भवन राम्रो नरहेको उनले बताए । “सरकारले कुल बजेटको दश प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्छ, अझै त्योअनुसार काम हुन सकेको छैन,” प्रमुख घर्तीले भने, “स्वास्थ्यका लागि वडामा पर्याप्त बजेट नहुँदा स्वास्थ्यमा सुधार ल्याउन सकिएको छैन ।” नगरवासीलाई वडा मै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहे पनि त्यो अनुसारको काम हुन नसकेको उनको भनाइ छ ।

आठ वडाका दश स्थानमा सहरी स्वास्थ्य क्लिनिक
घोराही उपमहानगरपालिकाले एक वर्षको अवधिमा नगरका ८ वटा वडाका दश स्थानमा सहरी स्वास्थ्य क्लिनिक स्थापना गरेको छ । नगरवासीलाई वडामै आधारभूत स्वास्थ्य सेवा पुराउने उद्देश्यले स्थानीय तहमा जनप्रतिनिधिहरू आइसकेपछि १० स्थानमा नगर स्वास्थ्य केन्द्र स्थापना गरेको घोराही उपमहानगरपालिकाले जनाएको छ । जसअन्तर्गत घोराही उपमहानगरपालिकाको वडा नं. ६ को फचकपुर, वडा नं. ९ को आन्द्रा भरैया, वडा नं. ११ को शिवपुरमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । त्यस्तै वडा नं. १३ को भ्यूडर र कलमघारी, वडा नं. १४ को नयाँबजारमा सहरी स्वास्थ्य क्लिनिक तथा राप्ती उपक्षेत्रीय अस्पतालअन्तर्गत संस्थागत परिवार नियोजन क्लिल्निक सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख घर्तीले बताए । त्यस्तै १६ नं. वडाको करौंती डाँडा, १७ को चौघेरा र १८ नं. वडाको घोरदौरा र हात्तीखर्कमा सहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ । सहरी स्वास्थ्य क्लिल्निकमा १ जना अहेव, १ जना अनमी र १ जना कार्यालय सहयोगी हुनुपर्ने व्यवस्था भए पनि आर्थिक अभावका कारण कतै अहेव र कतै अनमीको भरमा चलाउनु पर्ने बाध्यता छ । “अहेव वा अनमी दुईजना हुनुपर्ने हो, तर अधिकांशमा एक जनामात्र कार्यरत छन्,” स्वास्थ्य शाखा प्रमुख घर्तीले भने, “एक जनामात्र हुँदा अप्ठेरो पर्ने गरेको छ, कहिले आफै बिरामी पर्दा, काममा बाहिर जाँदा कुर्ने मान्छेसम्म हुँदैन ।”

आठ स्थानमा वर्थिङ सेन्टर
घोराही उपमहानगरपालिकाभित्र ८ संस्थानमा स्वास्थ्यचौकी छन् । स्वास्थ्यचौकी रहेका स्थानमा वर्थिङ सेन्टर सञ्चालन गरिएको छ । स्वास्थ्य प्रमुख घर्तीका अनुसार वर्थिङ सेन्टरमा एक वर्षको अवधिमा ५५३ जना महिलाले प्रसूति गराएका छन् । वर्थिङ सेन्टर सञ्चालनका लागि स्वास्थ्यचौकीमा रहेका २ जना नर्सिङ वा अनमीसहित एक थप करारमा अनमीको व्यवस्था गरिएको छ । पुराना भवन र पर्याप्त बजेट नहुँदा वर्थिङ सेन्टरको सुधार भएका छैन । “अहिले वर्थिङ सेन्टरका लागि प्रत्येक स्वास्थ्यचौकीमा एकजनालाई बेडको व्यवस्था गरिएको छ, आकस्मिक थप अर्की सुत्केरी महिला आउनु भयो भने सुताउने बेड छैन,” घर्तीले भने । वर्थिङ सेन्टरमा नर्मल अवस्था भएमात्र राखिने गरेको छ । नत्र राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलगायतका स्थानमा रिफर सेन्टरले गर्ने गरेको स्वास्थ्य प्रमुख घर्ती बताउँछन् । वर्थिङ सेन्टरमा गर्भवती महिलाको नियम चेकचाँज, स्वास्थ्य परीक्षण, खोप लगाउने लगायतका काम हुने गरेको छ ।
स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरहरूमा अनिवार्य रूपमा एम्बुलेन्स सञ्चालन भएको हुनुपर्ने भए पनि उप महानगरपालिकामा १० नं. वडाबाहेक अन्य कुनै पनि स्थानमा एम्बुलेन्स सञ्चालन छैन ।

प्रतिक्रिया दिनुहोस्