पुल बगाउँदा ११ सय घरधुरी प्रभावित «

पुल बगाउँदा ११ सय घरधुरी प्रभावित

संखुवासभा-वर्षासँगै आएको पहिरोले पुल बगाउँदा शिलिचोङ् गाउँपालिका–२ र ३ का स्थानीय बासिन्दा समस्यामा परेका छन् ।
भदौ २९ गते साँझ करिब ८.४५ बजे झोलुंगे पुलमाथिबाट आएको वर्षात्सँगैको पहिरोले १२५ मिटर लम्बाइ रहेको झोलुंगे पुल बग्दा वडा नं. २ र ३ का बासिन्दालाई प्रत्यक्ष असर पुगेको स्थानीयवासी नवराज राईले बताए । पहिरोसँगै झोलुंगे पुल बग्दा करिब ५० लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
संखुवाखोलामा रहेको उक्त पुल खोलाले बगाउँदा दुर्गम क्षेत्रमा रहेका ताम्कु, बाला, शिशुवा याफु, माङतेवालगायत शिलिचोङ गाउँपालिका र छिमेकी जिल्ला भोजपुरको कुलुङलगायत शाल्पा सिलिछों गाउँपालिकाका बासिन्दा मारमा परेका छन् । उक्त पुल खोलाले बगाउँदा शिलिचोङ गाउँपालिकाका ११ सय घरधुरी प्रभावित बनेको शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताए ।
खोलाले पुल बगाएपछि स्थानीय बासिन्दा करिब २ घण्टा टाढा पर्ने बुधबारे दोभानको पुलबाट तर्नुपर्ने बाध्यता छ । केही दिनदेखि परेको अविरल वर्षात्का कारण शिलिचोङ–२ को दाङखिला, बेतेनी, वडा नं. ३ को याचम्खा, साप्तेल, सिकिदिम, काम्पेपलगायतका ५० घरधुरी पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष लालकुमारी राईले बताएकी छन् । वर्षात्ले १ सय मिटर जति सडक बगाउँदा शिलिचोङ गाउँपालिका कार्यालय जानसमेत समस्या भएको छ । सडक बगाएपछि लगभग १ घण्टाको दूरी घुम्नुपर्ने बाध्यता रहेको सञ्चारकर्मी तथा स्थानीयवासी ध्यान कुलुङले जनाए । वर्षात्सँगै आएको पहिरोले वडा नं ३ मा पर्ने १ करोडको लागतमा निर्माण गरिएको पाङकिमा सिँचाइ आयोजनाको कुलोसमेत बगाउँदा ७० घरधुरी किसान प्रभावित भएका छन् ।
शिलिचोङ गाउँपालिकाको वडा नं. १, २, ४ र ५ मा वर्षात्का कारण पुगेको क्षतिको अनुगमन र विवरण संकलनका लागि गाउँपालिका अध्यक्ष राम कुलुङको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीहरू उक्त क्षेत्रमा गए पनि भौगोलिक अवस्थाका कारण हालसम्म फर्किनसकेकाले क्षतिको यकिन विवरण आउन अझै केही दिन लाग्न सक्ने गाउँपालिकाकी उपाध्यक्ष लालकुमारी राईले बताइन् । त्यस क्षेत्रमा अघिल्लो सातादेखि निरन्तर झरी वर्षा भइरहेकाले अनुगमनमा कठिनाइ भएको बताइएको छ ।
कृष्णराज शाक्य

प्रतिक्रिया दिनुहोस्