बिरुवा रोपेर मनाइयो संविधान दिवस «

बिरुवा रोपेर मनाइयो संविधान दिवस

महोत्तरी-महोत्तरीको बर्दिबासका मुसहरहरुले संविधान दिवसको अवसरमा आफ्नो गाउँमा वृक्षारोपण गरेका छन् । मधेशवादी दलहरुले तेस्रो संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै गर्दा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा १६ महिनाअघि निर्माण भएको एकीकृत नमुना मुसहर बस्तीका स्थानीयले एक सय वटा बिरुवा रोपेका हुन् ।
चुरे क्षेत्रको संरक्षणमा काम गर्दै आएका बर्दिबासस्थित सामुदायिक विकास तथा पैरवी मञ्च नेपालले उपलब्ध गराएको बिरुवाहरु मुसहर बस्तीबासीहरुले आफ्ना घर अगाडिको फूलबारीमा रोपेका बस्तीका युवा मञ्जय मुसहरले जनाए ।
तराई मधेशको पर्यटकीय स्थलको रुपमा विकास भएको एकीकृत नमुना मुसहर बस्तीका सडकको दुवैतिर वृक्षारोपण गरिएको हो । बस्तीका बच्चाहरुको विशेष सक्रियता रहेको बिरुवा रोप्नमा कसैले खाल्टो खनेका थिए भने कसैले फूलमा पानी हालेका थिए । बिरुवा रोप्ने कार्यक्रममा इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख विमल भट्टराई, दलित अधिकारकर्मी सन्त परियार, पूर्व शिक्षक बासुदेव महतो, समाजसेवी शंकर फुयाँल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्