सात वर्षे प्रसन्नको म्युजिक भिडियो «

सात वर्षे प्रसन्नको म्युजिक भिडियो

नेपाली सांगीतिक दुनियाँमा फेरि अर्को एक जना बाल नक्षत्र उदाएका छन् । ती हुन् पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका– ६, चेभुङका ७ वर्षीय बालक प्रसन्न बीसी । काठमाडौंको बुद्धनगरस्थित साउथ प्वाइण्ट स्कुलमा कक्षा २ मा अध्ययनरत प्रसन्नले आधुनिक गीतमार्फत् नेपाली सांगीतिक दुनियाँमा आफ्नो पहिलो पाइला राखेका छन् ।
खारिएको स्वर अनि अभिनय कलामा समेत निखारता पस्किएका प्रसन्नको पहिलो आधुनिक गीतको म्युजिक भिडियो ‘तिमीलाई माया गर्ने मान्छे’ सार्वजनिक गरिएको छ । प्रसन्न म्युजिक प्रालिले निर्माण गरेको उक्त म्युजिक भिडियोको शब्द, संगीत र एरेन्ज पदम बीसीले गरेका हुन् ।
बुबा पदम बीसी र आमा सरिता थापाका एक्लो छोरा प्रसन्नले बुबा पेशाले संगीतकार भए पनि औपचारिक रूपमा संगीत सिकेका भने होइनन् । बुबा पदमले प्रसन्नलाई रुचि भएकाले गर्दा भर्खरैदेखि मात्र तबलावादनमा कक्षा गराइरहेका छन् । उनका बुबा भन्छन्, ‘मैले गीत एरेन्ज गरिरहेको बेला प्रसन्न छेउको सोफामा बसेर गुनगुनाइरहेको देखें, अनि उसलाई गीत गाउँछौ बाबु भनेर सोधेको गाउँछु भन्यो, अनि एउटा गीत बनाएर गाउन लाएको, राम्रै गायो । त्यत्तिकैमा त्यही गाउन लाएकै गीतबाट बनेको म्युजिक भिडियो हो यो ।”
सो म्युजिक भिडियोमा प्रसन्नलाई अर्का नवगायक नवीन मगरले सघाएका छन् । नेपाल आइडलमा प्रतिस्पर्धा गर्न भनेर प्यूठानदेखि काठमाडौं आएका मगरले सो प्रतिस्पर्धामा भाग लिन नपाएपछि नेपाल आइडलको तिर्खा प्रसन्नसँग आधुनिक गीत गाएर मेटेका छन् । स्मृति तिमल्सिना (गुरुआमा) ले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा कलाकारहरू सारिका केसी, पदम बीसी, प्रसन्न बीसी, नवीन मगर र यशु हिताङले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोमा क्यामेरामेन सुरेश श्रेष्ठ र भिडियो इडिटिङ सुजन शाहीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्