युवाले गाउँ छाडेपछि जनशक्ति अभाव «

युवाले गाउँ छाडेपछि जनशक्ति अभाव

तेह्रथुम-युवाले गाउँ छाडेपछि कृषि र विकास निर्माणका काममा जनशक्ति अभाव भएको छ । जनशक्ति अभावकै कारण बर्सेनि खेतीयोग्य जमिन, खेतबारी र बगान क्षेत्र जंगलमा परिणत भइरहेका छन् ।
गाउँका युवा एकपछि अर्को गर्दै रोजगारीका लागि बिदेसिँदा खेतबारीमा काम गर्ने मान्छे पाइन छाडेको आठराई गाउँपालिकाका स्थानीय अमृत बास्तोलाले बताए । काम गर्ने जनशक्ति नपाउँदा खेतीयोग्य जमिन बाँझिएका छन् । “दुई वर्षअघिसम्म १ सय ५० रुपैयाँमा पाइने एक जना खेताला अहिले ५ सय दिन्छु भन्दा पनि पाइँदैन,” उनले भने ।
चाडपर्व, विहे, भोजलगायत शुभकार्यमा पनि युवाको संलग्नता कम हुँदा पहिलेजस्तो रौनक नभएको लालीगुराँस नगरपालिका–९ का राजकुमार तेयुङको भनाइ छ । “गाउँमा कसैको मृत्यु भयो भने मलामी जाने युवा कमै मात्र भेटिन्छन्,” उनले भने, “लास बोकेर घाटसम्म लैजाने बूढापाका मात्र भेटिन्छन् ।”
खेतीपातीको काममा युवाको ध्यान जान नसकेको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन् । खेतीपातीमा धेरै मेहनत गर्नुपर्ने र पछिल्लो पुस्तामा मेहनत गर्ने क्रम घटेको फेदाप गाउँपालिका सिम्लेका रमेश रिजालले बताए । “लेखपढ गर्न सक्ने युवा सहरतिर लागे, नपढेका ठिटा सबै विदेशतिर,” उनले भने । कामदार अभावले गर्दा जिल्लामा १ हजार ४ सय रोपनी जमिनमा लगाएको चिया बगान झाडीमा परिणत भएको छ । यसले गर्दा चिया उत्पादनमा समस्या भएको सिंहदेवी चिया उत्पादक सहकारी सोल्माका अध्यक्ष खेमबहादुर मगरले बताए । “बगान छ, गाउँमा कामदार पाइँदैन, मुना टिप्ने बेला श्रमिक नपाएर बगान झाडी भइसकेको छ,” उनले भने ।
युवा जनशक्ति धमाधम विदेसिन थालेपछि स्थानीयस्तरका विकास निर्माणका काम पनि प्रभावित भएका छन् । भवन, सडक निर्माणलगायत अन्य पूर्वाधार विकासका काममा मजदुर अभाव छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाका विभिन्न खण्डमा निर्माण भइरहेका सडकमा भारतीय र पश्चिम नेपालका युवा आएर काम गरिरहेका छन् । निर्माण क्षेत्रमा पनि कामदार अभाव रहेको निर्माण व्यवसायी राज तुम्बाहाङ्फेले बताए । अहिले जिल्लामा सञ्चालित उद्योग र निर्माणका काममा तराई क्षेत्र र भारतको विहारबाट कामदार ल्याएर काम गराउनुपरेको उनको भनाइ छ । “सदरमुकाम म्याङलुङमा मात्रै विहारबाट आएका ५ सयभन्दा बढी कामदार छन्,” उनले भने ।
दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाको जनसंख्या १ लाख १ हजार ५ सय ७७ छ । रोजगारी खोज्दै विदेश जाने क्रम नरोकिए अबको पाँच वर्षभित्र गाउँमा युवा नभेटिने नागरिक समाजका अध्यक्ष तुलसी संग्रौलाले बताए । “स्थानीय सरकारले युवामुखी कार्यक्रम ल्याएर आफ्नै गाउँमा स्वरोजगार बनाउन आवश्यक छ,” उनले भने ।
जिल्लाबाट दैनिक तीन दर्जन युवाले राहदानी बनाउने गरेका छन् । राहदानी लिनेको संख्या बर्सेनि वृद्धि हुँदै गएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए । उनका अनुसार आर्थिक २०७१-७२ मा ८ सय ५७, २०७२-७३ मा ९ सय ३१ र २०७३-७४ मा १ हजार ९४ जनाले राहदानी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्