उपभोक्ता पटक–पटक ठगिँदा पनि प्रशासन मौन «

उपभोक्ता पटक–पटक ठगिँदा पनि प्रशासन मौन

जुम्लामा बजार अनुगमन प्रभावकारी भएन

जुम्ला-जुम्लाका डिलर तथा पसलैपिच्छे म्याद सकिएका सामान भेटिन्छ । यहाँका नागरिक त्यति सचेत छैनन् । गाउँबाट आएकाहरूलाई सामान किनेर घर फर्कन हतार हुन्छ, सामानको उत्पादन मिति, सकिएको मिति हेर्ने ज्ञान पनि छैन । जे व्यापारी दिन्छन, सिधै लिन्छन् । अधिकांशले सोधखोजी नै गर्दैनन् । अनुगमन प्रभावकारी नहुँदा उपभोक्ता मारमा परेका छन् ।
हुन त, प्रत्येक महिनाको एक पटक सरोकारवालाको सहभागितामा बजार अनुगमन हुन्छ । तर, औपचारिकता निभाउने शैलीमा । “पहिलो पटक म्याद सकिएको सामान भेटिएको पसलमा दोस्रो पटक जाँदा पनि भेटिन्छ, तर अनुगमन टोलीले कारबाही गर्न सक्दैन, खाली अर्को पटक यस्तो भेटिए कारबाही हुन्छ भन्दै टार्छ,” नागरिक समाज जुम्लाका सचिव सरोज शाहीले भने । प्रभावकारी अनुगमन हुन नसक्दा, उपभोक्ता ठगिएका छन्, तर यस विषयमा प्रशासनलगायत अन्य निकाय गम्भीर नदेखिएको उनको भनाइ छ ।
औपचारिकतामा सिमित हुने जुम्लाको बजार अनुगमनले यहाँका उपभोक्ता पसलपिच्छे ठगिने गरेका त छन् । तर, त्यसले आमनागरिकको स्वास्थ्यमा पार्ने असरको जिम्मेवार कोही छैन । दैनिक उपभोग्य वस्तु प्राय म्याद सकिएको बिक्री वितरण भइरहेको छ । उपभोक्ता खाइरहेका छन् । तर नियमन निकाय मौन छ । जसको फाइदा उठाएर जुम्लाका व्यापारीले उपभोक्तालाई ठग्दै आएका छन् ।
गत हप्ता पनि जुम्लामा बजार अनुगमन गरियो । अनुगमनकै क्रममा म्याद सकिएको सामान उपभोक्ताले खरिद गरेकै अवस्थामा भेट्दा पनि अनुगमन टोलीले कुनै कदम चाल्न सकेन । अहिलेसम्म कुनै व्यापारीलाई कानुनी दायरामा लिन नसकेकै कारण जुम्लामा व्यापारका नाममा ठगी धन्दा चलेको छ । बजार अनुगमनका बेला ४ वटा डिलरमा म्याद सकिएका विभिन्न सामान भेटिए । जहाँ पहिला पनि भेटिएको थियो । तर, अनुगमनका अगुवाई गर्ने प्रशासन, स्याउ प्रशोधन तथा गुण नियन्त्रण कार्यालय सबै मौन रहे । अर्कोपटक भेटे कारबाही हुन्छ भन्दै पहिलेकै शब्द दोहो¥याउँदै फर्किए ।
अनुगमनको तरिकाले जुम्लामा उपभोक्ता ठगिन्छन् । अनुगमनलाई प्रभावकारी बनाउन तथा नागरिक स्वास्थ्य सुरक्षित गर्नका लागि चेतना अभिवृद्धि कार्यक्रम गरिनुपर्ने स्थानीय सुर बुढाले बताए । “सामान किन्दा मिति कहाँ हुन्छ थाहा पाउँदैनौ, किन्छौं खाछौं, पछि स्वास्थ्यमा खराबी आए पनि अरुनै कारण सोच्छौं,” उनले भने, “यस विषयमा चेतना अभिवृद्धि गर्नु आवश्यक छ ।”

अनुगमन प्रभावकारी बनाउँछौं
स्याउ प्रशोधन तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमुख अमृतभूषण दाहालले अनुगमनलाई प्रभावकारी बनाउन सबै संयन्त्र बलियो बनाउन आवश्यक रहेको बताए । उनले प्रभावकारी र गाउँकेन्द्रित अनुगमन गर्न सकिए उपभोक्ता ठगिने क्रम रोकिने बताए । कानुनको दायरामा रहेर उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही हुने उनको भनाइ छ । दाहालले अघिल्ला दिनमा भएका कमजोरी सच्याएर बजार अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले भने गाउँगाउँमा चेतना अभिवृद्धिलाई निरन्तरता दिन आवश्यक रहेको बताए । उनले व्यापारीहरूले दोहो¥याएर गल्ती गरेको भेटिए कारबाही हुनेमा कुनै शंका नगर्न आग्रह गरे । दसैं लक्षित बजार अनुगमन निकै कडाईका साथ गरिने उनको भनाइ छ ।

बजार अनुगमनका कानुनी व्यवस्था
संवैधानिक व्यवस्था र प्रचलित उपभोक्ता संरक्षण ऐन, २०५४ एवं नियमावली, २०५६ लगायतका दर्जनौं कानुनले उपभोक्ताका अधिकारलाई सुरक्षित गर्न बजार अनुगमन प्रभावकारी हुनुपर्ने व्यवस्था छ । कालोबजारी गरी बढी मूल्य असुल्ने र मिसावट गरी उपभोक्ताको जीउ ज्यान, स्वास्थ्य र सम्पत्तिमा हानी पु-याउने दोषीलाई कारबाही गरी बजारलाई स्वस्थ्य र स्वच्छ पार्न सरकारले नीति लिएको छ । तर, कार्यान्वयन प्रभावकारी नहुँदा समस्या भएको कानुन व्यवसायीहरू बताउँछन् । सरकारले कानुन थुप्रै बनाएको छ । तर, दायरामा ल्याउन नसक्दा बजार क्षेत्रमा बेथिति बढेको अधिवक्ता पदमबहादुर शाहीको भनाइ छ ।
वस्तु वा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु वा सेवाको गुणस्तर, परिभाषा वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने, स्वच्छ बजार तथा उपभोक्ता हित प्रतिकूल कार्य गरी कालोबजारी, एकाधिकार लगाउनु नागरिकको हित र कानुन विपरित हो । यस्ता क्रियाकलापलाई बजार अनुगमनको माध्यमद्वारा नियन्त्रण गरी त्यस्तो कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रावधान संयुक्त बजार अनुगमन निर्देशिका, २०६९ मा रहेको छ । उपभोग स्थललगायतका ठाउँमा वस्तु वा सेवाको दर्ता, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापनलगायतका व्यापारिक क्रियाकलापको नियमन गर्ने सरकारी निकायद्वारा संयुक्त बजार अनुगमन प्रभावकारी नभए स्वतः नागरिक ठगिने युवा पदम सुवर्णकारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्