जनकपुरमा सिके राउतको प्रदर्शन «

जनकपुरमा सिके राउतको प्रदर्शन

जनकपुरधाम-संविधान दिवसको विरोधमा स्वतन्त्र मधेश गठबन्धनका संयोजनक डा. सिके राउतका समर्थकहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा लिँदै प्रदेश २ को राजधानी जनकपुरधाममा सिके राउतका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।
स्वतन्त्र मधेशको माग गर्दै रामानन्द चोकबाट निस्केको विरोध -याली नगर परिक्रमासमेत गरेको छ । विरोध प्रदर्शनमा सयौंको संख्यामा सिके राउतका समर्थकहरुको सहभागिता थियो । समर्थकहरुले स्वतन्त्र मधेश गठबन्धनको झण्डा तथा प्लेकार्ड बोकेर विरोध प्रदर्शनमा सहभागी भएका थिए ।
यसै क्रममा राउतका दर्जनौ कार्यकर्ताहरुलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरी उपरीक्षक गोविन्द थपलियाले ५ दर्जनभन्दा बढी कार्यकर्ताहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
राउतले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने नगर्ने संशयका बीच उनले सम्बोधन गरेका छन् । ‘चलु जनकपुर भरु जनकपुर’ कार्यक्रम अन्तर्गत राउतले यसअघि नै आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो ।
सयौँ समर्थकका बीच सम्बोधन गरेका डा. राउतले मुलुकमा संघियता मधेशी जनतालाई पीडामा पु¥याउनका लागिमात्रै ल्याइएको दाबी गरे । उनले आफ्नो सम्बोधनको अधिकांश समय प्रदेश सरकारको आलोचना गर्नमै खर्च गरेका थिए । राउतले प्रदेश सरकार मधेशी जनताको सरकार नभई दलालहरुको सरकार रहेको आरोप लगाए । उनले यसअघि खसवादीहरुले मधेशी जनता माथि गोली चलाउँदै आएकोमा अब प्रदेश सरकारको काँधमा बन्दुक राखेर गोली चलाउने षड्यन्त्र गरिरहेको आरोप लगाए ।
मधेशी जनताले यस्तो संघियताका लागि लडाइँ नगरेको भन्दै अब मधेशी जनतालाई स्वतन्त्रता लिनबाट कसैले रोक्न नसक्ने दावी उनले गरे ।

सत्तारुढ दलले नै मनायो कालो दिवस
प्रदेश नम्बर २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालले संविधान दिवसको दिनलाई कालो दिवसको रुपमा मनाएको छ । संविधान मधेशी जनताको प्रतिकूल रहेको भन्दै संशोधनको माग गर्दै राजपाले जनकपुरधाममा बुधबार विरोध प्रदर्शन गरेको हो ।
सो प्रदर्शन जनक चोक हुदैं नगरको परिक्रमा गर्दै पुनः सोहि जनक चोकमा आएर कोण सभामा परिणत भई समापन भएको थियो ।
विरोध -यालीमा राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रिता मिश्र, हँसपुर नगरपालिकाकी उपप्रमुख रेणु झा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 किरण कर्ण

प्रतिक्रिया दिनुहोस्