Logo

अमेरिकी तेलको मूल्य साढे दुई वर्षकै उच्च

अमेरिकी तेलको मूल्यमा वृद्धि भई साढे दुई वर्षकै उच्च कायम भएको छ । लिबियामा भएको पाइपलाइनको विस्फोटपछि देशको तेल आपूर्तिमा ठूलो परिमाणमा अवरोध आएपछि मूल्य उकालो लागेको हो ।ब्रेन्ट कच्चा तेलको मूल्य पनि प्रतिब्यारेलमा १.८१ डलर अर्थात २.८ प्रतिशतको वृद्धि भई ६७.०६ डलर कायम भएको छ । यो मूल्य २०१५ को मेदेखिकै उच्च हो ।
यसैबीच अमेरिकी कच्चा तेलको मूल्यमा पनि १.५० डलर अर्थात् २.६ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ५९.९७ डलर कायम भएको छ । यो मूल्य २०१५ को जुन २५ देखिकै उच्च हो ।
क्रिसमस र नयाँ वर्ष बिदाको बीचमा पातलो कारोबारको समयम पनि तेलको मूल्य उकालो लागेको हो । लिबियाको पाइपलाइनमा विस्फोट भएपछि देशको तेल आपूर्तिमा प्रतिदिन ७० हजारदेखि १ लाख ब्यारेलसम्म कमी आएको छ । लिबियाले नोभेम्बरमा प्रतिदिन ९ लाख ७३ हजार तेल उत्पादन गरेको ओपेकको पछिल्लो मासिक प्रतिवेदनले जनाएको छ ।
लिबियाको प्रतिद्वन्द्वी पक्षबीच भएको द्वन्द्वका कारण एस साइडरमा भएको आपूर्तिमा विगतमा पनि अवरोध आएको थियो । सशस्त्र समूहले पाइपलाइन विस्फोट गराएको एक सैन्य स्रोतले जनाएको छ । लिबिया पनि उत्पादन कटौती गर्न नपर्ने अधिकार पाएको ओपेकका दुई सदस्यमध्येको एक हो । नाइजेरियालाई पनि उत्पादन कटौतीमा छुट दिइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्