मूल्यसूची राख्न व्यवसायी सहमत «

मूल्यसूची राख्न व्यवसायी सहमत

धादिङ- निमार्ण सामग्री तथा चीजवस्तुको प्रतिएकाइ दररेट सहितको मूल्यसूची राख्न निर्माण सामग्रीको व्यवसाय गर्दै आएका व्यवसायीहरू सहमत भएका छन् । जिल्ला सदरमुकाम धादिङबेसीमा भएको कार्यक्रममा निर्माण सामग्रीको मूल्यसूची नहुँदा सेवाग्राहीलाई ठगिने सम्भावना बढिरहेको,, निर्माण सामग्रीको मूल्यमा एकरूपता नभएको, एउटै कम्पतिको सामग्रीमा पनि फरक–फरक मूल्य पाइएको, जतिमा भन्यो त्यति मूल्यमा नै सामग्री खरिद गर्नुपरेको लगायतका विषयमा सहभागीहरूले आवाज उठाएका थिए ।
पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम सञ्चालन गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले धादिङमा आयोजना गरेको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष बेदबहादुर खाँडले बजारमा मूल्यसूची नहुँदा सेवाग्राहीहरूलाई मर्का परेको बताए । उनले फरक–फरक पसलमा एउटै सामग्रीको मूल्य फरक–फरक पाइएको भन्दै व्यवसायीहरूको ध्यानाकर्षणसमेत गराए । धादिङ निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष धु्रवबहादुर थापाले खुला बजारमा मूल्यमा एकरूपता हुन नसक्ने भन्दै मूल्यसूची भने राख्ने प्रतिबद्धता गरे । एउटै ब्रान्डको सिमेन्टको पनि एकै मूल्य नहुने भन्दै उनले एकै दिनमा पनि बिहान र बेलुकाको समयमा आएको सामग्रीको मूल्य फरक पर्ने गरेको बताए । अध्यक्ष थापाले व्यवसायीहरूले मनोमानी रूपमा मूल्य बढाएको नभै कम्पनिको रेटअनुसार बजारको मूल्य निर्धारण हुने स्पष्ट पारे । कार्यक्रममा सहभागी भएका व्यवसायीहरूले बाहिरबाट हेर्दा व्यवसायीले मनोमानी मूल्य निर्धारण गरे जस्तो देखिएको भए पनि यसमा आफूहरूको कुनै हात नरहेको बताए ।यसैगरी कार्यक्रममा नीलकण्ठ नगरपालिका–३ का अध्यक्ष होमनाथ रिजालले व्यवसायमा देखिएको अनियमितता हटाउन नगरपालिका पनि सक्रिय रहेको बताए । वडाध्यक्ष रिजालले सरोकारवालाहरूको आपसी सहकार्यमा बजार व्यवास्थापन कार्यमा वडा कार्यालय सक्रिय रहने बताए । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले नियन्त्रित बजार नभएपछि मूल्यमा एकरूपता नहुन सक्ने भन्दै यस्ता कुराको व्यवस्थापनका लागि राज्य नै सक्रिय हुनुपर्ने बताए । अध्यक्ष थापाले सेवाग्राहीलाई हानी नोक्सानी हुने गरी सेवा गरेमा आफूहरू व्यवसायी हुनै नसक्ने भन्दै उपभोक्ताको हितलाई पनि ध्यान दिन व्यवसायीलाई आग्रह गर्दै मूल्यसूची राख्न उद्योग वाणिज्य संंघ पनि सहकार्य गर्न तयार रहेको बताए । मूल्यसूची राख्न व्यवसायी सहमत

प्रतिक्रिया दिनुहोस्