‘संविधान कार्यान्वयनको पछिल्लो अध्याय किन अधुरै ?’ «

‘संविधान कार्यान्वयनको पछिल्लो अध्याय किन अधुरै ?’

सरकारलाई कांग्रेसको प्रश्न

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकाले संविधान कार्यान्वयनका पछिल्लो अध्याय पूरा गर्न नसकेको बताएको छ । संविधान दिवसको अवसरमा कार्यान्वयन, अपनत्व विस्तार, पालना एवं चुनौतीका विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै कांग्रेसले निर्वाचनमार्फत् संविधान कार्यान्यवनको ऐतिहासिक चरण पूरा भए पनि निर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नुपर्ने गाम्भीर्यता सरकारबाट प्रस्तुत नभएको बताएको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले संघीयतासहितको संविधान बनेको र प्रदेश सरकारसमेत गठन भइसके पनि संघीयतालाई बलियो बनाउने ढंगले केन्द्रीय सरकारले इच्छाशक्ति र क्षमता प्रस्तुत गर्न नसकेको बताए ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग निर्माणमा संघीय सरकारले ढिलाइ गरेका कारण जथाभावी कर निर्धारणको स्वन्छन्दताले अन्ततः संघीयतालाई अलोकप्रिय बनाउने डिजाइनलाई बल पुगेको उनको भनाइ थियो ।
संघीय सरकार र प्रदेश सरकारबीच सहज तादाम्यता नभएकाले केन्द्र र प्रदेशबीचको द्वन्द प्रकट हुँदै गएको र त्यसले नकारात्मक प्रभाव बढाएको कांग्रेसले जनाएको छ । “सरकारमा रहेका केहीले संविधान दिवस मनाइरहँदा सरकारमै बसेर कसैले यो दिवस नमान्ने, नमनाउने र कतिपयले कालो दिन नै घोषित गर्ने दुनियाँमा कही नभएको विचित्रको चित्र प्रस्तुत भइरहेको छ । यस्तो स्थिति बन्नु वर्तमान सरकारको नेतृत्वकै असफलता हो भन्ने हाम्रो ठहर छ,” शर्माले भने, “संविधान पालनाको पहिलो कर्तव्य सरकारको हो तर संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन नहुनु यसको पालनामा सरकारको इमान्दारिता नरहेको गम्भीर उदाहरण हो ।” सरकार बनेपछिको बितेको ७ महिनामा शान्ति सुरक्षाको स्थिति बिग्रीएर गएको कांग्रेसको ठहर छ ।
निर्मला पन्तको प्रकरणमा सरकारले दोषिलाई जोगाउन र निर्दोशलाई दोषी करार गर्न खोजेको र न्याय माग्दा गोली चलाएको कांग्रेसको आरोप छ । प्रवक्ता शर्माले निर्मला प्रकरणमा न्याय माग्न जनप्रदर्शन भइरहेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई अरिगांलझंै जाइलाग्न भड्काउयुक्त भाषण गरेको र त्यसको सन्देश के हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्