विषाक्त मदिराले मलेसियामा ६ नेपालीको मृत्यु «

विषाक्त मदिराले मलेसियामा ६ नेपालीको मृत्यु

अन्य ६ जनाको आईसीयूमा उपचार हुँदै

नेपालको प्रमुख रोजगार गन्तव्य मलेसियामा विषाक्त मदिरा सेवनका कारण ६ नेपालीको मृत्यु भएको छ । मलेसियाको विभिन्न क्षेत्रमा कार्यरत नेपालीसहित अन्य देशका गरी ५१ जना विषाक्त मदिरा सेवनपछि अस्पताल भर्ना भएका थिए ।
अस्पताल भर्ना गरिएकामध्ये बुधबारसम्म ६ नेपालीसहित भारत, म्यानमार, बंगलादेशका २१ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुने नेपालीमा बसेरी–३ धादिङका भीमबहादुर घले, मसिना–५ रूपन्देहीका रामकुमार यादब, अमरगढी –५ डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाह–९ सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले छन् । विषाक्त मदिरा सेवनपछि बेहोस हुने, बान्ता हुने, टाउको दुख्ने लक्षण देखिन थालेपछि नेपालीलाई स्थानीय सुंगाइबुलो, काजाङ र बाङटिङ अस्पतालमा भर्ना गरिएको थियो । हाल उपचारार्थ भर्ना भएका नेपालीमध्ये आईसीयूमा राखिएका ६ नेपालीको अवस्था स्थिर रहेको नेपाली राजदूतावास मलेसियाका कार्यवाहक राजदूत कुमारराज खरेलले कारोबारलाई बताए । “उपचारका लागि अस्पताल भर्ना भएका १६ नेपालीमध्ये ३ जनाको स्वास्थ्य सुधार भइरहेको र ३ सामान्य अवस्थामा रहेका छन् ।” कार्यवाहक राजदुत खरेलले कारोबारसँग भने, “बाकी रहेका ४ जना उपचारपछि कम्पनी फर्किएका छन् ।”
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले विषाक्त मदिरा सेवनपछि अस्पताल भर्ना भएका नेपालीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । यसैगरी मृतकहरूको शवलाई यथाशक्य नेपाल ल्याउने व्यवस्था मिलाउनसमेत निर्देशन दिएका छन् । कार्यवाहक राजदूत खरेलले घटनाको अनुसन्धानका लागि सेलांगोर राज्यको प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको जनाएका छन् । समितिले शंकास्पद विभिन्न क्षेत्रबाट करिब १४ सय बोतल मदिरा बरामद गरी छानबिन अघि बढाएको छ भने शुक्रबार दिउँसोसम्म प्रारम्भिक रिपोर्ट सार्वजनिक गर्ने बताइएको छ ।
अस्पताल भर्ना भएका नेपालीले सोमबार बेलुका ५ बजेदेखि बुधबार बिहान ९ बजेसम्म मलेसियाको सेलांगोर राज्यका विभिन्न स्थानमा मदिरा सेवन गरेका थिए । हाल बिरामी भएका धेरै नेपालीको कजाङ र सुंगाइबुलो अस्पताल नेपाली कामदारको उपचार भइरहेको दूतावासले जनाएको छ ।
मृत्यु भएका नेपालीको पोष्टमार्टम तथा अन्य आवश्यक अनुसन्धान प्रक्रिया सकिनासाथ मृतकका शवहरू सम्बन्धित रोजगारदाताहरूको सहयोगमा नेपाल पठाउन दूतावासबाट आवश्यक पहल सुरु गरिसकिएको छ । मृत्यु हुने नेपालीको पोष्टमार्टम रिपोर्ट आउन बाकी नै रहेको र विषाक्त मदिराको स्रोत तथा यसका जिम्मेवारहरूको सम्बन्धमा मलेसियन प्रहरी तथा अधिकारीहरूले अनुसन्धान सुरु गरेको छ । दूतावासले गुणस्तरहीन र असुरक्षित मदिरा अत्याधिक सेवन गरी ठूलो संख्यामा नेपालीको मृत्यु भएको यो पहिलो घटना रहेको जनाएको छ । घटनापछि दूतावासले रोजगारीका लागि मलेसियामा रहेका र आउन तयारी रहेका नेपाली युवालाई स्वास्थ्य र सुरक्षामा ध्यान दिन अनुरोध समेत गरेको छ ।
मृतक र अस्पताल भर्ना भएका कामदारले बिभिन्न क्षेत्रमा रहेका पसलबाट ३ वटा ब्रान्ड मान्डालाय ह्विस्की, किङफिसर बियर र ग्रान्ड रोयर ह्विस्की सेवन गरेको मलेसियाको स्टार आनलाइनले जनाएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तीमा बिरामीको स्वास्थ्य परीक्षण रिपोर्टअनुसार मिसावटयुक्त कडा मदिरा सेवन गरेको उल्लेख छ । मन्त्रालयका स्वास्थ्य विभागका महानिर्देशक डा. नोर हिसाम अब्दुल्हाहले सरकारले बिक्रीका लागि राखिएका मदिराको नमुना सुंगाई ब्लहो जनस्वास्थ्य प्रायोगशालामा पठाइएको सो अनलाइनलाई बताएका छन ।
मलेसियामा नै धेरै मृत्यु
वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले सार्वजानिक गरेको तथ्यांकअनुसार अन्य श्रम गन्तव्यमध्ये मलेसियामा धेरै नेपालीको मृत्यु हुने गरेको छ । गत आवमा सबैभन्दा बढी २ सय ८९ नेपाली युवाको मृत्यु मलेसियामा नै भएको थियो भने दोस्रोमा साउदी अरबका २०३ र कतारमा १२३ जना रहेका थिए । तर ३ वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी नेपाली कतार ३ लाख ५३ हजार, मलेसिया २ लाख ६० र साउदी अरब २ लाख ५३ हजार गएको देखिन्छ । यसरी हेर्दा धेरै कामदारको भएका देशमा मृत्युदर कम देखिएकोे छ भने थोरै कामदार रहेका देशमा मृत्यु भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्