स्थायी राजधानीको प्रस्ताव नल्याउँदा सांसद रुष्ट «

स्थायी राजधानीको प्रस्ताव नल्याउँदा सांसद रुष्ट

हेटौंडा-प्रदेश सभामा स्थायी राजधानी र नामकरणबारे छलफल नभएको भन्दै ३ नम्बर प्रदेशका सांसदले आक्रोश पोखेका छन् । प्रदेशसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्ने अधिकांश सत्तापक्ष र प्रतिपक्ष सांसद्ले प्रदेशसभाबाट समिति बनाएर प्रदेश स्थायी राजधानीबारे प्रतिवेदनसमेत प्राप्त भइसकेको अवस्थामा प्रदेशसभामा भने छलफलमा नल्याइएको भन्दै उनीहरूले रोष प्रकट गरेका हुन् ।
“हामीले समृद्धिको नारा जनतालाई दिइरहेका छौं । त्यसलाई कार्यान्वयन गर्न हाम्रो मनस्थिति पनि स्थायी हुन जरुरी छ । अब अस्थायी राजधानीको मानसिकताले काम गरेर समृद्धि हासिल हुँदैन । अब स्थायी राजधानी र नामकरण गर्न जरुरी छ । अन्यथा संघीयता माथि नै प्रश्न चिन्ह खडा हुनसक्छ,” काग्रेसकी सांसद् बिजुला बर्माले भनिन्, “स्थायी राजधानी नहुँदा जनतामा निराशा छाइसकेको छ । अब छिट्टोभन्दा छिट्टो यस विषयलाई टुंग्याएर कानुन निर्माणमा जुट्न जरुरी छ । यसको निर्णय गर्ने अधिकार हामी एक सय दशजना सांसद्लाई छ ।”
सत्तापक्ष सांसद् गणेशप्रसाद दुलालले राजधानी सम्भाव्यता अध्ययन समितिले बनाएको प्रतिवेदन अपहरणमा परेको भन्दै विरोध गरे । “समितिले बनाएको प्रतिवेदन अपहरणमा परेको हो कि ओथारो बसेको हो थाहा छैन । कहिले फुल पार्छ भन्न सकिन्न ।” अर्का सांसद् वसुन्धरा हुमागाईंले प्रदेशको राजधानी प्रदेशसभाबाट नुटंग्याएर सार्वभौम सम्पन्न सदनमाथि हस्तक्षेप भएको भन्दै विरोध गरे । “अदालतमा उजुरी पर्नु भनेको सार्वभौम सम्पन्न सदनमाथि हस्तक्षेप गर्नु हो, उनले सरकारले आफ्नो संरचना सबै जिल्लामा बनाउन नसकेको भन्दै विरोधसमेत गरे ।”
लक्ष्मण लम्सालले प्रदेशको नाम र ठेगाना नभएको भन्दै तत्काल ‘न्वारन’ गर्नुपर्ने भन्दै व्यंग्य गरे । “४६ जना सांसद्ले सदनमा छलफलका लागि दर्ता गराएको विषयमा किन अझै छलफलमा आएन,” उनले भने । सांसद चन्द्रमान लामाले सरकार चौतर्फी आलोचित भइरहेको भन्दै तत्काल प्रदेशको स्थायी राजधानी र नामकरण गर्नुपर्ने समय आएको बताए । “अब साना विषयमा अल्झिने होइन । सरकार ठोसरूपमा अगाडि बढ्नसमेत यस विषयलाई टुंग्याएर अगाडि बढ्न जरुरी छ,” सांसद् लामाले भने । सांसद् हिरानाथ खतिवडा, रत्न ढकाल, आङदेन शेर्पालगायते प्रदेशको स्थायी राजधानी र नामकरणको विषय तत्काल छलफलका लागि ल्याउनुपर्नेमा जोड दिएका थिए ।
यसैगरी विशेष समयमा बोल्दै सांसद् सुरेन्द्रराज गोसाईंले प्रदेश सरकार संघीय सरकारसँग अधिकार मागेको भन्दै आलोचना गरे । उनले प्रदेश सरकारले कानुन बनाउँदै आफू बलियो भएर प्राप्त अधिकारलाई पूर्णरूपमा कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्नेमा अधिकार माग्दै हिँडेको भन्दै सरकारको विरोध गरे ।
सांसद् शोभा शाक्यले कञ्चनपुरमा भएको निर्मला पन्त घटनाको विषयलाई तत्काल निचोडमा पु¥याउने पर्ने बताइन् । “महिलाहरू कहिले सुरक्षित हुने । यस विषयमा सरकार जिम्मेवार हुन जरुरी देखियो,” उनले भनिन् । राप्रपाकी सांसद् रिता माभलीले बलत्कारको घटना सरकारविरुद्ध भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री जथाभावी बोल्दै हिँडेको आरोप लगाइन् । सांसद् सिर्जना शैंजुले गुण्डा र तस्करको राज देशमा बढेको भन्दै सरकारविरुद्ध खनिइन् ।

२ विधेयक पारित
प्रदेश सभा बैठकमा मंगलबार दुईवटा विधेयक पेश भएको छ । बैठकमा प्रदेश खेलकुद विकास गर्ने सम्बन्धमा बनेको विधेयक र प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधेयक सामाजिक विकासमन्त्री युवराज दुलालले प्रस्तुत गरेका थिए ।
उनले प्रस्तुत गरेको प्रदेश खेलकुद विकास गर्ने सम्बन्धमा बनेको विधेयकको सैद्धान्तिक छलफलमा मीना लामा, रिना गुरुङ्, विराजभक्त श्रेष्ठ, राधा घले, शोभा शाक्य, रिता माझीलगायतले आफ्नो धारणा राखेका थिए । प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा सिर्जना सैंजु, विराजभक्त श्रेष्ठ, भीमसेन खत्री, ओमबहादुर घलान, बिजुला बर्मा, रिता माझी, रिना गुरुङ्, भावना सुवेदी, रामेश्वर फुयाँल, शोभा शाक्य र विजया केसी श्रेष्ठले धारणा राखेका थिए । सोही बैठकले प्रदेश स्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको बारे प्रदेश प्रमुखको कार्यालयको पत्रबारे सभामुख सानुकुमार श्रेष्ठले सभामा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्