कुहिने भो करोडौं मूल्यको काठ «

कुहिने भो करोडौं मूल्यको काठ

डडेल्धुरा-देशमा अर्बौं मूल्यको काठ आयात भइरहेका बेला डडेल्धुरामा सल्लाको काठ जंगलमा कुहिन थालेको छ । डडेल्धुराका विभिन्न सामुदायिक वनमा काटिएको करोडौं मूल्य बराबरको सल्लाको काठ बिक्री नहुँदा अलपत्र रहेको काठ कुहिने अवस्थामा पुगेको हो ।
सामुदायिक वनमा काटिएको सल्लाको काठको टेण्डर भइसके पनि माग नभपछि ठेकेदारले काठ नलग्दा जंगलमा कुहिने अवस्थामा पुगेको हो । डडेल्धुराका विभिन्न सामुदायिक वनमा करिब २५ हजार क्युफिट सल्लाको काठ अलपत्र अवस्थामा रहेको डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत केशव पुडासैनीले बताए । जसको बजार मूल्य करिब १ करोडभन्दा बढी रहेको बताइएको छ ।
अलपत्र अवस्थामा रहेको काठमध्ये अधिकांश सल्लाको काठ वर्षात्का कारण कुहिएको छ । सल्लाको काठको माग कम भएकाले पनि काठ बिक्रीका लागि समस्या भएको काठ व्यवसायीको भनाइ छ । सल्लाको काठ बिक्री नभएपछि जिल्लाका अधिकांस सल्लाका सामुदयिक वनले काठ संकलन नगर्दा जंगलमै कुहिन पुगेको सामुदायिक वनका सदस्यले बताए । डडेल्धुरा जिल्लमा मात्र २५ हजार क्युफिट र प्रदेश नं. ७ का कयौं हजार क्युफिट काठ कुहिने अवस्थामा पुगेको डिभिजन कार्यालयका सहायक वन अधिकृत प्रकाश जोहीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्