नेपाल र कतारबीच श्रम सम्झौताको तयारी «

नेपाल र कतारबीच श्रम सम्झौताको तयारी

नेपाली कामदारलाई अधिकतम् लाभ पुग्ने गरी कामदारमैत्री सम्झौताका लागि प्राविधिक विषयमा छलफल गर्न नेपाली टोली दुई हप्ताभित्रै कतार जाने भएको हो ।

कतारसँगको श्रम सम्झौता नवीकरण गर्ने विषयमा छलफल गर्न नेपाली टोली कतार जाने भएको छ । नेपाली कामदारलाई अधिकतम लाभ पुग्ने गरी कामदारमैत्री सम्झौताका लागि प्राविधिक विषयमा छलफल गर्न नेपाली टोली दुई हप्ताभित्रै कतार जाने भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग मंगलबार भेट गदै नेपालका लागि कतारका राजदूत युसुफ बिन महोमद आल हेलले कतारमा नेपाली कामदार माग गर्ने सम्बन्धका श्रम सम्झौताको विषयलाई टुंगो लगाउन नेपालसँग अनुरोध गरेका थिए । नेपाल सरकारले कतारसँग गर्ने श्रम सम्झौतामा नेपाली कामदारको सामाजिक सुरक्षा, तलव वृद्धि, २४ घण्टे बिमा र सुरक्षाका विषयमा सुधारसहितको सम्झौता गर्ने विषयमा छलफल हुनेछ ।
कतार जाने नेपाली कामदारको शून्य लागतको विषयमा कतार सरकार सकारात्मक रहेको जनाउँदै मन्त्रालयले श्रम सम्झौतामा यस्ता विषयमा दुईपक्षीय छलफल गर्ने जनाएको छ । कतारका लागि नेपाली राजदूत महोमद आल हेलले शून्य लागत, सामाजिक सुरक्षाको विषय र कतारमा घरेलु कामदारको अत्याधिक माग रहेको भन्दै रोक्का रहेको घरेलु कामदारको आपूर्तिलाई सहज गराउने सन्दर्भमा नेपालको धारणा प्रष्ट पार्न आग्रह गरेका थिए । भेटका अवसरमा नेपाल र कतारबीचको श्रम सम्बन्धका विविध विषय तथा कतारमा नेपाली श्रमिकका लागि रोजगारीका अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको थियो । कतारमा नेपाली श्रमिकको न्यूनतम वेतन वृद्धि, कामदारको बिमालगायत सामाजिक सुरक्षा र कामदारले पाउने सेवा, सुविधाको सुनिश्चितता एवं व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको विषयमा र आगामी दिनमा दुई देशबीच उच्चस्तरीय सम्झौता गरी श्रमिक आदानप्रदान गर्ने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमा पनि छलफल भएको थियो ।
मन्त्री बिष्टले कतारमा कामदार पठाउँदा शून्य लागतमा पठाउने, दुवै सरकारको संयन्त्र तयार गरी सोही माध्यमबाट कामदारको छनौट र आपूर्तिको व्यवस्था गर्ने विषयमा छलफल गरेका थिए । नेपाली श्रमिकलाई २४ सै घण्टाको लागू हुने गरी बिमा सुविधा उपलब्ध गराउन नेपाल पक्षले आग्रह गरेको छ । यसका लागि नेपालका तर्फबाट एउटा प्राविधिक टोली कतार पठाउने र आवश्यक सहयोग गर्नसमेत मन्त्री बिष्टले राजदूत महोमद अल हेललाई आग्रह गरेका थिए ।
राजदूत महोमद आल हेलले कामदारको सुरक्षाको विषयमा कतार सरकारले जिम्मेवारीपूर्वक अघि बढ्ने बताए । नेपालले कतारले माग गरेअनुसारको जनशक्ति तयार गरी पठाउन नेपाल सरकार तयार रहेको र यसका लागि कुनै पनि म्यानपावर कम्पनीबाट कामदार ठगीन नपाउने गरी कतार सरकार र नेपाल सरकारबीच नयाँ ढंगाले श्रम सम्झौता गरी काम अघि बढाउनुपर्ने तथा नेपाली श्रमिकको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्नुपर्ने विषयमा छलफल भएको थियो । विगत लामो समयदेखि कार्यान्वयनका विषयमा विवाद रहेको फ्रि भिसा फ्रि टिकट लागू गर्ने सम्बन्धमा कतार सरकार भने सकारात्मक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्