२ जिल्ला घुमेर सदरमुकाम «

२ जिल्ला घुमेर सदरमुकाम

भोजपुर-षडानन्द नगरपालिकाका बासिन्दा सदरमुकाम आइपुग्न दुई जिल्ला घुमेर आउनु पर्ने बाध्यता छ ।
सदरमुकामदेखि षडानन्द नगरपालिकासम्म ४६ किमिमात्र भए पनि वर्षाका कारण बाटो बिग्रिएर गाडी नचल्दा २ जिल्ला घुमेर आउन बाध्य भएको षडानन्द नगरपालिकाका मेयर वीरबल राईले बताए । उनले भने, “तीन घण्टामा सदरमुकाम पुग्ने ठाउँमा छिमेकी जिल्ला संखुवासभाको तुम्लिङटार, धनकुटाको लेगुवा हुँदै ९ घण्टामा जिल्ला आउनु पर्ने बाध्यता छ । सडक मर्मत भइरहेकाले यस्तो बाध्यता भएको मेयर राईले बताए ।
अविरल वर्षाले सडक भत्किएर सवारीसाधन चल्नै छाडेपछि जिल्लाका उत्तरी भेगका मानिसलाई पनि सदरमुकाम आउन छिमेकी जिल्ला घुम्नुपर्ने बाध्यता रहेको बताउँछन् । जेठ महिनादेखि भोजपुर–दिङ्ला सिधा सडकखण्ड वर्षात्ले बिग्रिएकाले अहिले त्यहाँ सवारीसाधन ठप्प छ । यातायात ठप्प भएपछि दैनिक कामकाजले सदरमुकाम आउने मानिस सास्ती खेप्न बाध्य छन् । नगरपालिकाले भने सडक मर्मत गर्न नगरपालिकाको जेसीबी स्क्राभेटर चालक अभावले सडक बनाउन नसकिएको जनाएको छ । नगरपालिकाका मेयर वीरबल राईले नजिकएको दसैंलाई लक्षित गरेर असोज पहिलो साता नै कर्मचारी नियुक्ति गरेर तत्काल सडक मर्मत गर्ने बताए । सडकमा यातायात ठप्प भएपछि घण्टौ लगाएर सदरमुकाममा पुगेर साता १० दिन महँगो होटलमा बास बस्नु परेको दिङ्लाका स्थानीय राजकुमार थापाले बताए । “के गर्नु सदरमुकाम नआई काम बन्दैन । सधंै ३ घण्टा लाग्ने दूरी अहिले १२/१३ घण्टा पैदल हिँड्नुपर्छ,” उनले भने, “जानु र आउनु कष्ट हुने भएपछि महँगो खाना र बास खर्च तिरेरै भए पनि साता १० दिन काम पूरा नभइन्जेल बस्नुपर्छ ।”
उत्तरी भेगका मानिसका लागि विशेषगरी होटल, पसल, व्यवसायको पान नम्बर नवीकरण गर्न, नागरिकताको सिफारिस बनाउन, कर, बैकिंग कारोबारका लागि सदरमुकाम नै अन्तिम विकल्प हो । तर यसरी समयमै सडक मर्मतमा ध्यान नपुराउँदा विगत चार महिनादेखि यात्रुले सास्ती भोग्दै सदरमुकाम धाउनुपरेको दिङ्लाकै अर्का दिलकुमार राईले सुनाए । उनले भने, “असार मसान्त अगाडि र पछाडिका समयावधिमा धेरैजसो कामकाजका लागि सदरमुकाम आउनुपर्छ । वर्षायाम अगावै सडक मर्मत भइदिएको भए यस्तो सास्ती भोग्नुपर्ने थिएन ।”
षडानन्द नगरपालिकाले सडक मर्मत गर्ने नगरपालिकाको जेसीबी स्काभेटर चालकको अभावले सडक बनाउन नसकिएको जनाएको छ । उनले नगरपालिकाको बैठक बसी निर्णयबमोजिम नै तत्काल जेसीबीको ड्राइभर नियुक्ति गरेर काम अगाडि बढाइने बताए । उनले भने, “हामी कार्यपालिकाको तत्कालै बैठक बसी निर्णय गरेर कर्मचारी नियुक्ति गरी बाटो मर्मतको काम अगाडि बढाउनेछौं । सम्भवतः असोज पहिलो साता नै यातायात चल्ने गरी ट्रयाक खोल्नेछौं ।”
भोजपुर नगरपालिकाको हेलौंछा तीनतलेसम्मको १३ किमिको सिमानासम्मको सडकखण्डमा सवारीसाधन आवतजावत गरे पनि बाँकी षडानन्द नगरपालिका किमालुङ, वैदारभञ्ज्याङ, धारापानी हुँदै दिङ्ला बजारसम्मकोे सडकखण्ड अविरल वर्षाले बिगारेपछि उक्त सडकखण्डमा भने यातायात ठप्प छ ।
सवारीसाधन चल्ने भोजपुर नगरपालिका सिमानाभित्रको उक्त सडक खण्डमा पनि सुन्तले, धापखर्कलगायतका ठाउँमा सवारीसाधन आउजाउ गर्न समस्या हुने गरेको छ । नगरपालिकाले उक्त सडकखण्डमा एसएन आरटीअन्तर्गत खिम्दुङ निर्माण व्यवसायीलाई बाटोको स्तरोन्नति र मर्मतको ठेक्का दिए पनि ठेकेदारको ढिलासुस्तीले काम सोचे अनुरुप अगाडि नबढेको मेयर कैलाशकुमार आले बताउँछन् । उनी भन्छन्, “करिब दुई वर्षअघि नै नगरपालिकाले सडक मर्मतको ठेक्का दिए पनि काम रफ्तार देखिएन । सुस्तताका कारण पनि बेलैमा स्तरोन्नतिको काम सम्पन्न नहुँदा वर्षात्मा ठाउँठाउँमा बाटो बिग्रनाले समस्या हुने गरेको छ ।”
अर्जुन बस्नेत 

प्रतिक्रिया दिनुहोस्