बढ्दो चिनियाँ लगानीको संकेत «

बढ्दो चिनियाँ लगानीको संकेत

नेपालमा होङ्सजस्ता चिनियाँ लगानीकर्ताको संयुक्त पुँजी लगानीबाट सिमेन्ट उत्पादन आरम्भ नै भइसकेको छ ।

पछिल्लो समयमा नेपालमा चिनियाँ लगानी बिस्तारै बढ्न थालेको छ । लगानीको ठूलो आवश्यकता भएको नेपालजस्तो देशमा यसरी बाह्य लगानी बढ्दै जानु हाम्रो अर्थतन्त्रको विस्तारका लागि सकारात्मक संकेत हुन सक्छ । देशले आफ्नो भूमि बाह्य लगानीका लागि खुला गरेको करिब तीन दशक भए पनि नेपाल दक्षिण एसियामै सबैभन्दा कम प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने देशहरूमध्ये पर्छ । देशका लागि चाहिने लगानी आवश्यकता बढ्न थालेपछि भारत र चीनजस्ता ठूला अर्थतन्त्रहरूले समेत आ–आफ्ना विदेशी लगानीसम्बन्धी नीतिहरूमा क्रमैसँग सुधार र संशोधन गर्दै लगेका छन् । पहिलेको अवस्थामा अति संवेदनशील क्षेत्रहरूबाहेक देशका लागि आवश्यक पर्ने पुँजी जुटाउन वैदेशिक लगानीलाई प्राथमिकता नदिई सुखै छैन । किनकि हाम्रो राष्ट्रिय पुँजी उपलब्धताको अवस्था निकै कमजोर अवस्थामा छ । आन्तरिक लगानीकर्ताहरू विशेषतः निजी लगानीकर्ताहरूसँग पर्याप्त अनुपातमा पुँजी उपलब्ध भएकाले हामीले बाह्य स्रोतमा भर पर्नुपर्ने अवस्था रहेको हो । यदि अहिले कुनै ठूलो जलविद्युत् आयोजना बनाउनुपर्ने भएमा अथवा द्रुतमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, सुरुङमार्गजस्ता बृहत लगानीका ठूला आयोजना योजना बनाउनुपर्ने अवस्थामा देशका २९ वटै वाणिज्य बैंकले सामूहिक रूपमा लगानी गरेर आयोजना बनाउन खोजे पनि ठूलो पुँजी एकैपटक उपलब्ध हुन सक्ने अवस्था छैन ।
वैदेशिक लगानी भनेको पुँजीको प्रवाह मात्र होइन, यसले प्रविधि र ज्ञान हस्तान्तरणलाई पनि जोड दिन्छ । २०४९ सालमा ल्याइएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले पुँजीसँगै प्रविधि हस्तान्तरणलाई पनि जोड दिएको पाइन्छ । अहिले देश संघीय संरचनामा गइसकेको अवस्थामा विगतमा तर्जुमा गरिएका ऐन–कानुन र नीतिगत व्यवस्थाहरूमा क्रमैसँग सुधार एवं संशोधन गर्नुपर्ने आवश्यकता पनि छ, त्यसैको एक हिस्सास्वरूप विदेशी लगानी नीतिलाई पनि अद्यावधिक गर्नुपर्ने खाँचो देखिएको हो ।
विदेशी लगानी देशका कुन–कुन क्षेत्रमा आवश्यक छ भन्नेकुरामा अब बृहत् अध्ययन–अनुसन्धान र विश्लेषण गरी सोहीअनुरूप नयाँ ढाँचाबाट विदेशी लगानी ऐन जारी गरिनुपर्छ । हालैका दिनहरूमा विश्वव्यापी रूपमै विदेशी लगानीको संरचनामा समेत परिवर्तन आइरहेको छ । विगतका दशकहरूमा उच्च लगानी गर्ने स्रोत भनेर चिनिएका देशहरू अहिले परिवर्तन आएको छ । अंकट्याडद्वारा प्रकाशित विदेशी लगानी प्रवाहसम्बन्धी वार्षिक प्रतिवेदन हेर्ने हो भने नेपालको उत्तरी छिमेकी चीन पनि अहिले विश्वको प्रमुख लगानी गन्तव्य मात्र होइन, लगानीका लागि स्रोत मुलुक समेत बन्दै गएको छ । चीन सरकारले लिएको लगानी विस्तारको मूल नीतिअनुसार चीनका सरकारी कम्पनीदेखि निजी क्षेत्रका लगानीकर्ताहरूसमेत विश्वभर लगानीका अवसर खोज्दै विभिन्न विकसित देशहरूमा पुग्ने गरेको देखिएको छ । चिनियाँ लगानीकर्ताहरूको यो आकर्षण नेपालका लागि एक अवसर हुन सक्छ । किनभने चिनियाँ लगानीकर्ताहरूसँग यतिखेर पुँजी मात्र होइन, आधुनिक प्राविधिसमेत उपलब्ध रहेको अवस्था छ ।
चिनियाँ कम्पनीहरूले अहिलेसम्म नेपालमा गरेको लगानी ठूलो अनुपातमा नदेखिए पनि विगत केही वर्षयता भारतीय लगानीलाई भने उछिन्दै गएको छ । नेपालमा होङ्सजस्ता चिनियाँ लगानीकर्ताको संयुक्त पुँजी लगानीबाट सिमेन्ट उत्पादन आरम्भ नै भइसकेको छ । अन्य क्षेत्रमा समेत लगानीका लागि चिनियाँ लगानीकर्ताहरू तयार भएर बसेको जानकारी उद्यमीहरूले दिएका छन् । यसले आउँदा दिनहरूमा नेपालमा चिनियाँ लगानी अझै वृद्धि हुने अपेक्षा गर्न सकिन्छ, तर मुख्य ख्याल गर्नुपर्ने विषय के हो भने सानो अनुपातमा आएको वैदेशिक लगानीले न देशमा रोजगारी सिर्जना हुन सक्छ, न त यसले नेपालको समग्र आर्थिक उन्नतिमा नै ठोस योगदान दिन सक्छ । त्यसैले देशको आवश्यकताअनुसार विदेशी लगानी परिचालन गर्नका लागि हाम्रो आफ्नो प्राथमिकता र राष्ट्रिय आवश्यकताबारे बाह्य लगानीकर्ताहरूलाई स्पष्ट पार्न अब बहृत् अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्नुपर्ने बेला भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्